१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुग्लिन सडक : पानी पर्नासाथ बन्द

वर्षाका कारण बाटो बन्द हुँदा पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिकाको चरौदीमा रोकिएका सवारीसाधन। फाइल तस्बिरः सरिता/नागरिक

धादिङ - आकाश मडारिएर जब पानी पर्न थाल्छ तब राजमार्ग बन्द हुन थाल्छ। कारण पानी पर्नेबित्तिकै राजमार्गमा पहिरो झर्छ र यातायात अवरुद्ध हुन्छ। गन्तव्यमा हिँडेका सवारीसाधन कतिबेला कहाँ रोकिन्छन् र यात्रुको बिजोग हुन्छ कुनै ठेगान हुँदैन। राजमार्ग जोडेर विभिन्न शाखा सडक विस्तार गरिएका कारण वर्षा हुनासाथ लेदो माटो झर्नाले राजमार्ग दिनहुँजस्तो बन्द हुने गरेको छ। राजमार्ग भन्दा माथिपट्टि सञ्चालन गरिएका खानीहरूका कारण पनि ठूलो पानी पर्नेबित्तिकै लेदो माटो सडकमा खस्ने गरेको स्थानीय बासिन्दा बताउँछन्। यसले राजमार्गको सौन्दर्य बिगार्नुका साथै सवारी यात्रामा जोखिमसमेत बढाएको स्थानीय तिलक चेपाङले बताए। ‘बाटो बनाउने नाममा प्राविधिक जाँच बिना नै जथाभाबी डोजर चलाएका कारण पानी पर्नासाथ राजमार्गमा पहिरो र लेदो खस्ने गरेको हो,’ उनले भने।

बेनिघाट रोराङमा रहेका जवाङखोला र तिक्राङ खानीमा धेरैजसो लेदो जम्ने गरेको छ। हेटौंडा सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ निकाल्न राजमार्गभन्दा माथिपट्टि सञ्चालन गरिएको खानी जाने बाटोे भएकाले यस क्षेत्रमा बढी लेदो खस्ने गरेको उनले बताए । चेपाङले भने, ‘१५ मिनेट मात्रै पानी प-यो भने पनि जवाङखोला र तिक्राङ खानी क्षेत्रका सडकखण्डमा ढुंगामाटो सहितको लेदो झरेर राजमार्ग बन्द भइहाल्छ।’

वर्षायाममा मुग्लिन सडकखण्डअन्तर्गत गजुरीका जहरे र चालिसे, बैरेनीका महेश दोभान, बेनिघाटका जवाङ खोला, तिक्राङ खानी र मौवा खोलामा बढी समस्या हुने गरेका छन्। यी ठाउँहरूमा हरेक वर्ष वर्षाका बेला राजमार्ग बन्द हुने र भत्किने समस्या हुँदासमेत समाधानका लागि कतैबाट पहल भएको छैन।

वर्षायाममा मुग्लिन सडकखण्डअन्तर्गत गजुरीका जहरे र चालिसे, बैरेनीका महेश दोभान, बेनिघाटका जवाङ खोला, तिक्राङ खानी र मौवा खोलामा बढी समस्या हुने गरेका छन्। यी ठाउँहरूमा हरेक वर्ष वर्षाका बेला राजमार्ग बन्द हुने र भत्किने समस्या हुँदासमेत समाधानका लागि कतैबाट पहल भएको छैन। सडकको सुरक्षा र जिम्मेवारी लिएको सडक विभागले पनि यो समस्या समाधानका लागि दीर्घकालीन उपाय अपनाएको छैन। स्थानीय सरकारहरू पनि सडक विभागलाइ देखाएर पन्छिने गरेका छन्।

गल्छी गाउँपालिकाको बैरेनीमा पनि पटकपटक राजमार्गमा लेदो झर्ने गरेको छ। बैरेनीको महेश दोभान, जहरे र चालिसेभन्दा बालुवा खानी छ। वर्षाको पानीले बालुवा बगाएर राजमार्गमा थुप्रिँदा कसले हटाउने भन्न्ने हानाथाप हुनाले राजमार्ग खुलाउन ढिलाइ हुने गरेको एक स्थानीयले बताए। अव्यवस्थित रूपमा सञ्चालन गरिएका बालुवा खानीहरूमा नियन्त्रण गर्न र व्यवस्थित गराउन कसैले सकेका छैनन् । पानी पर्नासाथ प्रहरीलाई पनि तनाव हुने गरेको छ । पहिरो तथा लेदो झरेर बन्द हुने राजमार्ग कसरी खुलाउने र सवारी जाम कसरी खुलाउने भन्ने तनाव प्रहरीलाइ हुने गरेको हो। सडक विभागसँग समन्वय गरी डोजरको व्यवस्था गर्नु र सडक खुलाउनु आजकाल जोगीमारा प्रहरीको दिनचर्या नै बनेको छ। राजमार्गमा थुप्रिने लेदोका कारण थुप्रै सवारीसाधनहरू बिग्रिएका छन्। भागदौडमा कति यात्रु घाइते भएका छन् त्यसको कुनै हिसाब छैन । दिनहुँ हजारौं गाडी गुड्ने राजमार्ग एक घण्टा मात्र बन्द हुँदा पनि यात्रुको बिचल्ली हुने गर्छ। गजुरीस्थित सडक डिभिजनमा पनि पहिरो पन्छाउने थोरै मात्र उपकरण भएकाले धेरै ठाउँमा पहिरो खस्दा राजमार्ग चाँडो खुलाउन सकिँदैन । त्यसको प्रत्यक्ष असर यात्रुहरूलाई पर्ने गरेको छ। अझ बढी मार त एम्बुलेन्समा आउने बिरामीहरूलाई परिरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सिना बताउँछन्। ‘पानी पर्न थालेपछि कहाँ राजमार्ग बन्द हुने हो भनेर सतर्क हुनुपर्छ,’ उनले भने।

प्रकाशित: १८ भाद्र २०७५ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App