१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चित्रमा वीरका कथा

काठमाडौं - संघीय नेपालको अवधारणामा नेपाल अघि बढ्दै गर्दा इतिहासमा सिंगो नेपाल बनाउन योगदान गर्ने वीरहरूको सम्झना चित्रकला प्रदर्शनी सुरु भएको छ।  शुक्रबारदेखि ‘टिष्टा–काँगडा नेपाल एकिकरण, वीर योद्धाहरूको सम्झना र सम्मान’ विषयक चित्रकला प्रदर्शनी नेपाल कला परिषदमा सुरु भएको छ।  नेपाल मण्डल पर्यटन नगरीले ‘पर्यटन महोत्सव २०७४/०७५’को अवसरमा आयोजना गरेको प्रदर्शनीमा नेपालको जग बसाउने वीरहरूका कथा क्यानभाषमा प्रस्तुत गरिएको हो। प्रदर्शनीमा पुराना कलाकारदेखि नयाँ पुस्ताका कलाकारका कला छन्। पुराना कलाकार शंकरराज सिंह सुवालले उतिबेलाको नेपाल एकीकरणको परिकल्पना गर्दै पृथ्वीनारायण शाहसँगका नेपाली वीर योद्धाको संगतलाई चित्रमा रुमानी तरिकाले उतारेका छन् । उनको चित्रमा प्रकृति  र वीरगाथा  सरोबरी अटाएका छन्।

कलाकारका चित्रमा वृहत नेपालको कल्पनालाई तुहाउन प्रयासरत ब्रिटिस सैनिकलाई युद्धबाट हटाउन नेपाली वीरले नालापानी, काँगडा, सिन्धुलीगढी, जीतगढी, कुमाउगढी लगायतका किल्लाबाट पानी नखाइ लडेको दृश्य देख्न सकिन्छ ।

अर्का पुराना कलाकार केके कर्माचार्यले पहाडी भेगमा नेपाल एकीकरणको यात्राको कथा कोरेका छन्। काठमाडौं विजय अघि र पछिको यात्रालाई उनले चित्रमा अभिव्यक्त गर्ने प्रयास गरेका छन्। वयोवृद्ध कलाकार गेहेन्द्रमान अमात्यले हजारौं सहिदको आहूतिले नेपाल बनेको संकेत चित्रमा गरेका छन्। अमात्यका चित्रमा खप्पर नै खप्परको पहाडको पछाडि बुद्धको शान्ति खोज्ने छनक पाइन्थ्यो। अमूर्तकलाबाट रमेश खनालले नेपालको विगत र वर्तमानको अँध्यारो उज्यालो खुट्याउने कोशिस गरेका छन्। नेपाल एकिकरण गर्दाताका लडेका गोर्खाली वीरहरू अमरसिंह थापा, बलभद्र कुवँर, भक्ति थापालाई आलोक गुरुङ, पकबहादुर थापा, शान्ता हिताङ, इशान परियार, शुकबहादुर धिमाल, उद्धवराज रिमाललगायतले चित्रबाटै सम्झिए।  

कलाकारका चित्रमा वृहत नेपालको कल्पनालाई तुहाउन प्रयासरत ब्रिटिस सैनिकलाई युद्धबाट हटाउन नेपाली वीरले नालापानी, काँगडा, सिन्धुलीगढी, जीतगढी, कुमाउगढी लगायतका किल्लाबाट पानी नखाइ लडेको दृश्य देख्न सकिन्छ। प्रद्युम्न श्रेष्ठ, मीन थापा, रोशन कपाली, रुद्रबहादुरसहितका कलाकारले पनि युद्धको दृश्यलाई क्यानभासमा उतारेका छन्।

आधुनिक कलामार्फत सुदर्शन राणा, राजमान महर्जन, ज्योतिप्रकाश विक, केशवराज खनाल, लालकाजी लामा, डिराम पाल्पाली, सुनिता राणा, दामोदर बराल, नरेन्द्र भट्टराई, नरबहादुर विक, नरेश शाहीलगायतले आधुनिक नेपालको परिकल्पनामा रंग कुचीमार्फत चित्र कोरेका छन्। नेपाली भूमि, प्रकृति, नयाँ नेपालको सांकेतिक चित्र, युद्धका विविध विभिषिकाले चित्रहरु जीवन्त बनेको दर्शक टिप्पणी थियो।

कला प्रदर्शनीको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । नेपालको सार्वभौम स्वतन्त्रता इतिहासदेखि वर्तमानसम्म अक्षुण राख्न इतिहासका प्रतिकहरूको कदर गर्नैपर्ने उल्लेख उनले गरे ‘इतिहासप्रति गर्व गर्ने र सम्मान गर्ने खालको प्रयास भएको छ । चित्रकला अति संवेदनशील विषय भएकाले २१ सय वर्ष लामो राजतन्त्रात्मक कालखण्डदेखि गणतन्त्र नेपालको यात्रा सम्झन पनि इतिहास सम्झनै पर्छ,’उनले भने।

संस्कृतिविद सत्यमोहन जोशीले गणतन्त्र नेपाल झल्काउने पछिल्लो चरणको कलात्मक चित्र आउनुपर्नेमा जोड दिए । ‘अब राजा, शासकका हैन, देश बनाउने जनताका चित्र पनि आउनुपर्छ ,’ जोशीले भने, ‘जनभावनाको कदर कलाकारले कलामा पनि गर्नुपर्छ ।’ कार्यक्रममा पत्रकार भैरव रिसाल, शान्ता श्रेष्ठलगायतले उपत्यकाको संस्कृतिलाई समेटर कलात्मक पर्यटकीय नगरीको निर्माण गर्ने बेला आइसकेको उल्लेख गरे।

कलाकारितामा पनि बिर्सिएको टिष्टा र काँगडाबाट सिंगो नेपाल बनेको नयाँ पुस्तालाई जानकारी दिन कला प्रदर्शनीले सहयोग गर्ने आयोजक बेखाराम श्रेष्ठ बलामीले बताए। कलाकारले गत वर्षको चैत २४ गते चन्द्रागिरीमा भएको कार्यशालामा यि चित्र बनाएका थिए।

आयोजक नेपाल मण्डल पर्यटन नगरी दक्षिण पश्चिम भेगका संयोजक विनोद महर्जनले इतिहासको सम्झना गर्दै उपत्यकाको पहाडलाई पर्यटकीय नगर बनाउने अभियान स्वरुप चित्रकला प्रदर्शनी गरिएको बताए । कार्यक्रममा भैरव रिसाल, जेबी टुहुरे, शान्ता श्रेष्ठ, जीवन शर्मा, नवल खड्का, रामकृष्ण दुवाल, बिबि अनुरागी, शंकरराज सिंह सुवाल, मिरा राई, चुन्दा बज्राचार्यलगायतलाई सम्मान गरिएको थियो। कला प्रदर्शनी एकहप्ता चल्ने जनाइएको छ।

प्रकाशित: १७ भाद्र २०७५ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App