जवापल माग्दै द्वन्द्वपीडित

किन मारिए र बेपत्ता पारिए हाम्रा आफन्त?

आइतबार, १७ भदौ २०७५, ०७ : ४७ भीम चापागाईं

इलाम - पाँचथरको यङ्वरक गाउँपालिका–१, च्याङथापुका खडानन्द अधिकारीलाई २०५९ असोज १३ गते बाटोमा हिँड्दाहिँड्दै गोली लाग्यो। स्थानीय सुरेन्द्र तिम्सिनाको घर जाँदैगरेका उनलाई ३६ राउन्डसम्म गोली हानेर हत्या गरिएको विभत्स दृश्य त अधिकारी परिवारले आँखैअघि देख्यो। तर, किन हानिएको थियो खडानन्दलाई गोली भन्ने उत्तर भने अधिकारीको परिवारले अझै पाउन सकेको छैन। ‘मेरा पतिलाई गोली हान्नुको कारण मेलै राज्यलाई सोधेको १२ वर्ष बित्यो, अहिलेसम्म जवाफ पाइँन,’ उनकी पत्नी होमा भन्छिन्, ‘कमसेकम कारणसम्म थाहा पाउन सकेको भए अलि त चित्त बुझ्थ्यो कि?’

आफ्ना पति गुमाउनुको पीडा त छँदैछ तर पति हत्याको कारण नै अहिलेसम्म थाहा नपाउनुले चाहिँ होमा अझ पीडित देखिन्छिन् । ‘३६ राउन्डसम्म गोली हानिएको थियो रे मेरो श्रीमान्लाई,’ उनले कहालीलाग्दो विगत सुनाउँदै उल्टै प्रश्न गरिन्, ‘मैले मेरो पति मारिनुको कारण थाहा पाउँछु वा राहतका रूपमा केही पैसा दिएर अल्मल्याएकै भरमा हामीले त्यो भयानक घटना चटक्कै बिर्सिदिनुपर्ने हो?’

‘मेरा पतिलाई गोली हान्नुको कारण मेलै राज्यलाई सोधेको १२ वर्ष बित्यो, अहिलेसम्म जवाफ पाइँन। कमसेकम कारणसम्म थाहा पाउन सकेको भए अलि त चित्त बुझ्थ्यो कि?’

झापाका युवराज ढुंगेललाई वृद्धावस्थामा पनि मनमा त्यही प्रश्न खेलिरहेको छ, ‘मेरो छोराको दोष चाहिँ के थियो र अहिलेसम्म घर आउन पाएन । काठमाडौंमा पढ्दापढ्दैको छोरो बेपत्ता भएको १३ वर्ष बितिसक्यो । तर, ऊ कहाँ छ, कसले किन उसलाई कहाँ पु-यायो केही थाहा छैन,’ उनी भन्छन्, ‘जब दसैं–तिहारजस्ता चाडबाड आउँछन्, आँखामा आँसु भरिन्छ, गला अवरुद्ध हुन्छ,’ ढुंगेल पीडा सुनाउँछन्, आखिर किन मेरो छोरालाई कलेजबाटै एक समूहले लगेको हो, कहाँ लग्यो ? अहिलेसम्म हामीलाई किन केही थाहा दिइँदैन?’

छोराको खोजखबर सोध्दासोध्दा कुनै जवाफ नआएपछि वृद्ध ढुंगेल अचेल मनमुटु मिचेर भन्न थालेका छन्, ‘बरु छोरो जिउँदो छैन भने हामीलाई प्रमाण देऊ, काजकिरिया गर्छाैं, समाजको आँखामा कलंक त हुनुपर्दैन हामीले।’ ढुंगेलले चिन्ताले पटक–पटक जलिरहँदा छोरो पत्ता लाग्ने त परेको कुरा, किन छोरो बेपत्ता परियो भन्ने कारणसम्म पनि थाहा पाउन नसकेको गुनासो गरे । उनी भन्छन्, ‘हामी पटक–पटक करायौं, रोयौं तर अहिलेसम्म केही थाहा पाएनौं।’

अधिकारी र ढुंगेल मात्रै होइन, इलामकी सीतादेवी चापागाईंको जिज्ञासा पनि उही छ, ‘आफ्ना सुसराबुबा लेखनाथ चापागाईंलाई किन धारिलो हतियारले दुई टुक्रा बनाएर हत्या गरियो, यसको जवाफ कसले दिने? कहिले दिने ? ससुराबुबालाई मारिएपछि साविक नामसालिङ गाविसमा रहेको उनको परिवार त्यहाँबाट विस्थापित हुनुप-यो ।’ हामीलाई धेरैथोक चाहिएको होइन, बुबा मारिनुको कारण थाहा होस्। र, थाहा होस्, हामीले किन आफ्नो पुख्र्याैली थातथलो त्याग्न बाध्य हुनुपरेको हो ?’ सीताको यो प्रश्नको जवाफ पनि १२ वर्षसम्म आएको छैन।

देशभरका द्वन्द्वपीडितले शान्ति बहाली भएको डेढ दशक हुन लाग्दा पनि आफ्नो परिवारका सदस्य किन मारिएका र बेपत्ता पारिएका हुन् भन्ने थाहा हुन नसक्नुलाई दोस्रो पीडाका रूपमा लिएका छन्। राज्यले दिएको पीडाका रूपमा । घरमा बसिरहेको–सुतिरहेको बेला, खेत जोत्दै गर्दा, स्कुलमा पढ्दै–पढाउँदै गर्दा बाटोमा हिँड्दै गर्दा किन आफ्नो परिवारका सदस्य मारिए, किन अपहरण गरी अहिलेसम्म बेपत्ता पारिएको हो भन्ने थाहा हुन नसक्दा आफूहरू झन् पीडित भएको उनीहरूको गुनासो छ।

पाँचथर फालेलुङ गाउँपालिका–५ की चन्द्रमाया राई बारीमा काम गर्दैगरेका आफ्ना श्रीमान् थामबहादुरलाई किन गोली हानेर हत्या गरिएको हो भन्ने कसैले बताउन नसकेको गुनासो गर्छिन्। २०६१ साल वैशाखको मध्यदिन घरको करेसामा काम गरिरहेका थामबहादुर टाढाबाट एक्कासी आएको गोली लागेर ढले। सामान्य खेती–किसानीले गुजारा गरिरहेको उनको परिवारको आर्थिक अवस्था पनि दयनीय थियो।

‘घु-यानमा फापर टिप्दै गरेका बेला तिघ्रामा मेरा श्रीमान्लाई गोली हानेर ठाउँको ठाउँ खुत्रुक्कै बनाइदिए,’ पतिको हत्या सम्झेर ६१ वर्षीया चन्द्रमायाले गहभरि आँसु पार्दै सुनाइन्, ‘बुढेसकालमा मेरो पुर्पुरामा दुःखैदुःख लेखेको रैछ। बूढालाई किन मारियो भन्ने धेरैलाई सोधें तर कसैले फलानो कारणले तेसो बूढो मारियो भनेर भनेन ।’ पति मारिएकामा १० लाख रुपैयाँ दिँदा उनले हातमा आएको पैसा होइन, आँखामा वर्षेको आँसु थाम्न सकिनन्। ‘पैसा त दिए तर श्रीमान्को सास बेचेर आएको पैसाले पटक–पटक पोल्यो, पोलिरहेको छ,’ उनले पीडा पोखिन्।

सशस्त्र द्वन्द्वमा भएका घटनाबारे अनुसन्धान गर्न सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरेको छ। आयोगहरूले काम गरिरहेको दाबी गरेपनि पीडितले चाहिँ विश्वास गर्न सकेका छैनन्। इलामका अर्का द्वन्द्वपीडित तोयानाथ आचार्य भन्छन्, ‘कहिले आयोगका पदाधिकारीबीच नै मेलमिलाप छैन भन्छन्, कहिले तिनै पदाधिकारी पैसा र कोनि के भएन भनेर झन् ठूलो पीडा सुनाइरहेका छन् । हामीले न्याय पाइएला भनेर विश्वास गर्नै मुस्किल छ।’ आचार्यले पनि द्वन्द्वकालमा आफ्ना बुवा सूर्यप्रसादलाई अपहरण गरेर हत्या गर्नुको कारण अहिलेसम्म थाहा पाउन नसकेको सुनाए। ‘बुबाको हत्यामा पैसा दिएर होइन, मृत्युको चित्तबुझ्दो कारण दिएर मात्रै हामीलाई न्याय हुन्छ,’ उनले भने।

दुवै आयोगले पीडितबाट उजुरी लिएर अहिले ती उजुरीमाथि छानिबिन गरिरहेका छन्। बेपत्ता छानबिन आयोगमा देशभरबाट ३ हजार ९३ उजुरी परेका छन्। आयोगले ३९ जिल्लामा एन्टिमोर्टम र परिपूरण फाराम भराइसकेको छ। सत्यनिरूपण आयोगमा ६२ हजार उजुरी परेकामा आयोगले ७ प्रदेशमा ७ मुकाम कार्यालय स्थापना गरेको छ। सरकारले २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्मको सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको छानबिन गर्न लोकेन्द्र मल्लिकको अध्यक्षतामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सूर्यकिरण गुरुङको अध्यक्षतामा सत्यनिरूपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ मा आयोग गठन गरेको थियो। आयोगको म्याद गतवर्षको माघसम्म रहेकामा १ वर्ष बढाइएको छ।

बेपत्ता आयोगले चाहिँ पीडितलाई भेटेर कुराकानीसमेत गरेको छ। सरकारले मृत्यु भएका र बेपत्ता पारिएका परिवारका व्यक्तिलाई पटक–पटक गरी १०–१० लाख रुपैयाँ दिएको छ। अन्यखाले पीडितले अहिलेसम्म राज्यको तर्फबाट न कुनै राहत पाएका छन्, न न्याय नै। देशको चौतर्फी क्षेत्रमा बढेको राजनीतिक अन्योलले उनीहरूलाई पनि न्याय नपाइने हो कि भन्ने चिन्ता बढेको छ। द्वन्द्वपीडितले आफ्नो परिवारका सदस्यको हत्या गरिनु वा बेपत्ता पारिनुको कारण चाहिँ जान्न चाहेका छन्।

द्वन्द्वपीडित साझा चौतारीका केन्द्रीय अध्यक्ष सुमन अधिकारी प्रत्येक पीडितको वास्तविक समस्यामा न्याय दिनुपर्ने बताउँछन्। 'अहिलेका दुवै आयोगले सोचेअनुसार काम गर्न नसकेकाले पीडितले न्याय पाउनेमा शंका गरेका छन्,’ उनले भने, ‘कम्तीमा पनि आफ्नो परिवारका सदस्य किन मारिए, किन बेपत्ता पारिए भन्ने आधारभूत जानकारी पीडितलाई दिइएन भने न्यायको कल्पनै गर्न सकिँदैन।’ उनले आयोगका पदाधिकारीमा पीडाको भाव नदेखिएको पनि बताए। 'हाम्रा पीडालाई हलुका रूपमा लिइएको छ, पीडितको आँसुसँग आँसु साट्न सक्नुपर्छ आयोग पदाधिकारीले,’ उनले भने,‘पीडितले गरिरहेका कामको ऐन–कानुनमा गम्भीर अपराधको दायरा फराकिलो बनाएर न्याय दिनतर्फ लाग्नुपर्छ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...