१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रचण्डकाे रूपान्तरण संझाउने प्रयासमा सिक्लेस

पोखरा–१० वर्षे शसस्त्र युद्ध नेतृत्व गरेका तत्कालीन नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भूमिगत स्वरुपलाई अन्तिम बनाएको स्थल कास्कीको सिक्लेस। भूमिगत युद्धलाई विश्राम दिएर वार्ताको शान्तिपूर्ण टेवलमार्फत समस्याको समाधान खोज्न कास्कीको मादी गाउपालिका–१स्थित यही सिक्लेसबाट रुपान्तरण भए। सार्वजनिक जीवनमा प्रवेश गरे।

तत्कालीन माओवादी पार्टी अध्यक्ष दाहाललाई तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २०६२ जेठमा भेट्सिन सिक्लेस पुगेका थिए। त्यसयता विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ। उनीहरु पछि सिक्लेसबाट झरेर पोखरा आए। पोखराबाट तत्कालिन  गृहमन्त्री सिटौलाले हेलिकप्टरमा काठमाडौं लिएरका आएका थिए।

सिक्लेसको यहि ऐतिहासिकता र राजनीतिक महत्वलाई स्मरणीय बनाइराख्न मादी गाउँपालिकाले शान्ति स्तम्भसहितका पूर्वाधार बनाउन लागेको छ।  ‘सिक्लेस नेपालको शान्ति प्रक्रियाको प्रारम्भ बिन्दु हो,’ मादी गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले भने, ‘नेपालको अक्षांश देशान्तरअनुसार देशकै मध्यविन्दु पनि यहीँ ठाउँ पर्ने भएकाले शान्ति स्तम्भसहित हामीले यहाँ मध्यविन्दु स्तम्भ पनि निर्माण गर्ने तयारी गरेका छौँ।’ 

गुरुङका अनुसार गाउँपालिकाले सिक्लेसको भुलुचुदेखि हिमालफेदीको कोरी भन्ने ठाउँसम्म केवलकार सञ्चालन गर्ने योजना अघि सारेको छ । यसका लागि करिब २ अर्ब ५० करोड लाग्ने अनुमान छ। सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइँलाई लम्ब्याउनले लक्ष्यका साथ गाउँमाथि सिक्लेस पार्कको निर्माण कार्य थालनी गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष तीलमान गुरुङले जानकारी गराए।

लमजुङ हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४ का साथै वरिपरिको पहाडी भू–भागको एक साथ दृश्यावलोकन गर्न सकिनु निर्माणाधीन पार्कको विशिष्टता भएको उनको भनाइ छ । सिक्लेसमा पुग्ने पर्यटकका लागि खान–बस्न सहयोग पु¥याउने लक्ष्यका साथ १५ वटा घरमा घरवास (होमस्टे) सञ्चालन गरिएको छ भने १२ वटा होटेल छन् । यहाँ दैनिक ४०० जनासम्म पर्यटक राख्नसक्ने क्षमता रहेको छ।

लगभग ६५ हजार वर्गमिटर क्षेत्रफलमा बन्दै गरेको पार्क निर्माणमा करीब ४० लाख रुपैयाँ खर्च भइसकेको छ। पार्कभित्र शौचालयसहित बालबालिकाका लागि खेल्ने विभिन्न संरचना, दृश्यावलोकन स्तम्भसहितका पूर्वाधारहरुको पनि निर्माण कार्य भइरहेको छ । गाउँपालिकाले यस वर्षको बजेटमा शान्ति स्तम्भ निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइसकेको छ । 
कला, संस्कृति र प्रकृतिको बरदान जस्तै देखिने सिम्क्लेस स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको सिक्लेस युवा क्लबका पूर्व सचिव देवीजङ्ग गुरुङ बताउछन। गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने यो गाउँ समुद्री सतहबाट दुई हजार मिटर उचाइमा छ।

लमजुङ हिमालको काखस्थित यो गाउँ आसपास हरियो वन जङ्गलका कारण वन्यजन्तु एवं चराचरका कारण प्रकृतिप्रेमीहरु लोभिने गर्दछन्।स्थानीय समाजसेवी एवं मादी गाउँपालिका–१ का अध्यक्ष सुरजकुमार गुरुङका अनुसार यो गाउँमा हाल लगभग ४०० घरधुरी छन्।

अत्यन्त सफा र सुन्दर नमूना बस्तीले पर्यटकको मन प्रफूल्ल हुने गर्दछ । गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि समेत स्वदेशी एवं विदेशी अनुसन्धानकर्ता सिक्लेस पुग्ने गरेका छन्।रासस

प्रकाशित: १६ भाद्र २०७५ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App