विद्यार्थीलाई कसरी पढाउने?

शनिबार, १६ भदौ २०७५, ०८ : १४ मिलन पाण्डे  | @Milanleads

शिक्षकले विद्यार्थीलाई पढाउने होइन, विद्यार्थीलाई ‘सिक्न’ मद्दत गर्ने हो । सिकाइ सधैँ ‘ट्राइल एन्ड इरर’ प्रक्रिया हो। हामी यो कुरा भुलेर विद्यार्थीलाई केही आउँदैन, शिक्षकले नै सबै सिकाउने हो भन्ने भ्रमबाट शिक्षा प्रणालीलाई लाँदै छौँ । झन् तर्साएर, डर देखाएर जर्बजस्ती पढ्न बाध्य बनाउदै छौं । तसर्थ, अबको शिक्षा प्रणाली सुधारको बहस के पढाउने मात्र होइन, कसरी पढाउने भन्नेमा केन्द्रित हुन जरुरी छ।

हाम्रो शिक्षा प्रणालीले एउटा ठुलो गल्ती गर्दै छ । हामी विद्यार्थीलाई गल्ती गर्न रोक्दै छौँ । अरे बाबा ! विद्यार्थीले कक्षा कोठामा वा सिक्दा गल्ती गर्दैन भने कसरी सिक्छ त ? कक्षा कोठा भनेको त फुटबलको प्राक्टिस म्याच जस्तै हो । कडा मेहनत, गल्ती, गल्ती सुधार्न सिक्नु, गल्ती सुधार्नु, सामूहिक भाव, अनि फाइनल खेलको तयारी । यहाँ त हामी प्रत्येक कक्षालाई फाइनल बनाउन खोज्दै छौं । अनि, विद्यार्थीलाई सिक्नबाट रोक्दै छौं।

हाम्रो शिक्षा प्रणालीमा ३ वटा आधारभूत व्यावहारिकतामा सुधार आवश्यक छ।

१) पढाउन बन्द गरौँ
हामी किन हाम्रो सबैभन्दा ऊर्जावान समय रटान मार्दै बर्बाद गर्दै छौँ ? पढ्नु भनेको घोक्नु हो भन्ने बुझाई स्थापित भैसकेको छ । कण्ठ हुनुप¥यो, बुझ्न आवश्यक छैन । हाम्रो रट्ने बानी परिसकेकाले आफुले सोच्न अनि रचनात्मक हुनै विर्सिसकेका छौं । हाम्रो शिक्षा प्रणालीले हामीलाई झन् भुत्ते बनाउँदै छ । हामीले वर्षौँ पढेका छौँ, तर एउटा टायर परिवर्तन गर्न सक्दैनौँ, फ्युज चेक गर्न सक्दैनौँ, बैकको व्याज कति भयो निकाल्न सक्दैनौँ भने हामीले जिन्दगीमा पढेको २० औं वर्ष के काम लाग्यो र?

केही समय यता हाम्रो शिक्षामा केही परिवर्तन आएको छ। किताबहरू इ–बुकमा परिणत भएका छन्। व्हाइट बोर्ड युटुब च्यानलमा परिणत भएको छ । अनलाइन कोर्सहरु सुरु भएका छन् । मेरो डर, हामीले माध्यम नयाँ खोज्दै छौँ तर विधि अनि तरिकामा परिवर्तन ल्याउने बहस चलाउन सकेका छैनौँ । समस्या विधिमै छ।

५ वर्षको बच्चाले आफैं बोल्न सिक्छ, तर जब ऊ स्कूल जान्छ र शिक्षित शिक्षकबाट पढ्न थाल्छ । उसको भाषा झन् कम्जोर बन्दै जान्छ, किन ? किनकि उसले सिक्न छाड्छ, पढ्न (रट्न) सुरु गर्छ । हालको शिक्षाले प्राकृतिक सिक्ने क्षमतालाई नै कम गरिदिएको छ । एउटा बच्चा हिँड्नु अघि सयौँ चोटि लड्छ, फेरि उठ्छ, फेरि लड्छ । सिकाइको यो अनुपम नमुना हो । बच्चालाई कसैले यसरी हिँड भनेर सिकाउन त सिकाउँदैन नि । सिकाइ प्रक्रिया हो।

शिक्षा प्रणालीको सुधारको पहिलो सर्त नै विद्यार्थीलाई पढाउन बन्द गरिनुपर्छ । सिक्ने वातावरण तयार गरिनुपर्छ । शिक्षकको भूमिका विद्यार्थीका निम्ति त्यो वातावरण बनाइदिनु हो । सुझाव दिनु हो । समाधानतिर उन्मुख हुन प्रेरित गर्नु हो । चम्चामै राखेर पिलाउनु होइन । जब विद्यार्थीलाई कुनै परिस्थितिमा राखिन्छ, काम गर्न दिइन्छ, गल्ती गर्न दिइन्छ, सुझाव दिइन्छ, फेरि सुधार्न दिइन्छ तब न सिकिन्छ । यहाँ त विद्यार्थीहरुले सुनोस् नसुनोस, जबर्जस्ती पाठ सकाउन अनि ‘स्लाइडहरु’ सकाउनुलाई पढाइ भनिँदै छ । के यसरी पढाएर विद्यार्थीहरुले रचनात्मक हुन सक्छन् ? यसरी पढेको कुरालाई जीवन उपयोगी बनाउन सक्छन्?

२) ‘कथा’ले कनेक्ट गरौँ
आजको शिक्षाको सबैभन्दा खराब पक्ष, अहिले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई संलग्न नै गराउन सकेको छैन । हाम्रा कक्षाहरू अल्छीलाग्दो बन्दै छन् । जेलजस्तै सजाय काट्ने स्थान बन्दै छन् । तसर्थ, विद्यार्थीलाई विषयमा संलग्न गराउन जरुरी छ । जसका निम्ति विषयलाई कथासंग जोड्ने विधि उपयुक्त हुन्छ । कथाले कक्षालाई रमाइलो बनाउँछ । चासो जगाउँछ । विषयलाई जीवनसँग जोड्न सक्यो भने विद्यार्थीको विषयमा रुचि बढ्छ।

‘पाइथागोरस साध्य’ हामीले रटेर पढ्यौँ तर यो साध्य, हामीलाई यात्रामा कुन बाटो छोटो पर्छ भन्ने देखि, घरको बाहिर प्रयोग हुने भ-याङको लम्बाई कति चाहिन्छ भन्ने सम्मको लागि उपयोगी हुन्छ भन्ने कुरा बुझाउन सकेका छैनौँ । जिन्दगीको पहिलो अक्षर ‘कपुरी क’ को अर्थ पनि कपुर (बास्ना आउने बिरुवा) जस्तै भन्ने रहेछ भन्ने मैले धेरै पछि मात्र बुझेको हुँ।

धेरै विद्यार्थीको लागि ‘क्यालकुलस’ निकै गाह्रो विषय हो । मलाई पनि यो विषय गाह्रो लाग्थ्यो किनकि, मलाई ‘क्यालकुलस’ पढाउने गुरुले यो विषय मेरो जीवनमा कहाँ उपयोगी हुन्छ भनेर भन्नुभएन । आउनुभयो, सूत्र लेखाउनुभयो, प्रश्न नं. १, १७, २१, २७ गरिदिनुभयो । बाँकी मैले साथीहरू अनि गाइडबाट सारेर पढेँ । के काम मेरो पढाइको ? जब परीक्षा सकियो मेरो घोकाइ पनि सकियो । यसरी पढेको पाठले मलाई जिन्दगीमा सहयोग गर्न सक्दैन । यदि मलाई मेरो गुरुले ‘क्यालकुलस’ ले मेरो जिन्दगीमा किन उपयोगी छ भन्ने बताउनुभएको भए मलाई सिक्न रुचि बढी लाग्थ्यो कि ? वा, मलाई ‘क्यालकुलस’ लिबनिज र आइज्याक न्युटन मध्ये कसले पत्ता लगाएको भनेर गणित इतिहासमा रहेको विवादको कथाबारे सरले भन्नुभएको भए पो मेरो ध्यान जान्थ्यो कि?

शिक्षकमा हुन पर्ने तेस्रो गुण भनेको सरल तरिकाले बुझाउन सक्ने क्षमता हो । यदि शिक्षकले कुनै पनि विषयलाई सरल ढङ्गबाट बुझाउन सक्दैन भने, त्यसको एउटै मात्र कारण हो शिक्षक आफैँले बुझेको हुँदैन ।

शिक्षा जीवनसँग जोडिनुपर्छ । शिक्षा रमाइलो हुन जरुरी छ । पढाइ बोझ भयो भने, यो फलदायी हुन सक्दैन । तसर्थ, हामीले विद्यार्थीलाई कक्षामा संलग्न गराउन जरुरी छ । संलग्नताले विषयमा ध्यान केन्द्रित गराउँछ । तसर्थ, मेरो भोगाइ अनि गराइले भन्छ, कथा नै एउटा यस्तो साधन हो जसले विद्यार्थीलाई विषयसँग जोड्न सक्छ । प्रत्येक विषयको कथा हुन्छ । प्रत्येक समीकरणको कथा हुन्छ । खाली शिक्षकले खोज्न सक्नुप¥यो ।  जोड्न सक्नुप-यो । तसर्थ, विद्यार्थीलाई विषयसँग जोडेर दिने उदाहरण, कथा, जोक, खेल, घटनाले विद्यार्थीलाई विषयसँग बाँध्न सक्छ अनि विद्यार्थीलाई पढाइमा रुचि बढाउँछ।

३) विद्यार्थी–शिक्षक सम्बन्ध
सफल शिक्षकले २ वटा कुरालाई प्रेम गर्न सक्नुपर्छ । पहिलो, आफूले पढाउने विषयलाई अनि दोस्रो विद्यार्थीलाई । शिक्षकले कक्षाका प्रत्येक विद्यार्थीलाई सहभागी गराउन जरुरी छ । प्रत्येक विद्यार्थीलाई ‘तिमी महत्वपूर्ण छौ’ भनेर महसुस गराउन जरुरी छ । शिक्षकले म तिम्रो ख्याल राख्छु भन्ने भाव सञ्चार गर्न जरुरी छ । विद्यार्थीलाई उत्प्रेरित गर्ने, तिमी सक्छौ भनेर हौस्याउने, उनीहरूसँग उनीहरूको सोखबारे जानकारी लिने, उनीहरूको नाम सम्झने, उनीहरूको विचार, सोच बुझ्ने, सपना सुन्ने, जन्मदिन मनाउने यी सब कुराले शिक्षक अनि विद्यार्थीबीच सम्बन्ध स्थापित गर्न सक्छ । शिक्षकले कक्षाको अन्तिम बेन्चमा बसेका विद्यार्थीलाई अगाडीबाट गएर ‘पढाएको बुझ्दै छौं ? नबुझे सोध है’ भनेर सोध्नाले मात्र पनि त्यो विद्यार्थीको त्यो विषयमा रुची बढ्छ । तर शिक्षक अगाडिको  कुर्सीबाट हल्लिदैनन् । यी साना कुरा होइनन्, यी कुराले असफल कहलिएको विद्यार्थीलाई विषयमा रुचि बढाउन मद्दत गर्छ।

शिक्षकमा तीन ओटा गुण हुन जरुरी छ । पहिलो, शिक्षक कक्षामा स्वाभाविक (नेचुरल) हुन जरुरी छ । जब शिक्षक बनावटी देखिन्छन् तब विद्यार्थीसंग ‘कनेक्सन’ बनाउन सक्दैनन्।

दोस्रो कुरा, सफल शिक्षकले कहिले पनि केन्द्रमा आफूलाई राख्दैनन् । सधैँ केन्द्रमा विद्यार्थीलाई राख्ने गर्छन् । उनीहरूले शिक्षाको पहिलो केन्द्र विद्यार्थी भन्ने बुझेका हुन्छन् । पढाउने भनेको पेन ड्राइभबाट डाउनलोड गरे जस्तो होइन–शिक्षकले भन्यो अनि विद्यार्थीले बुझ्ने । एउटा कटु सत्य के हो भने, विद्यार्थीले शिक्षक विना पनि सिक्न सक्छ तर शिक्षक विद्यार्थी विना अधुरो हुन्छ । ८ महिनाको बच्चालाई हामीले हिँड्न सिकाएको होइन । एक वर्षको बच्चालाई बोल्न शिक्षक चाहिएको होइन । न त कुनै बच्चालाई संवाद गर्न शिक्षकले सिकाएको हो । सिकाइ प्राकृतिक हो, शिक्षक सहयोगी हो।

शिक्षकमा हुन पर्ने तेस्रो गुण भनेको सरल तरिकाले बुझाउन सक्ने क्षमता हो । यदि शिक्षकले कुनै पनि विषयलाई सरल ढङ्गबाट बुझाउन सक्दैन भने, त्यसको एउटै मात्र कारण हो शिक्षक आफैँले बुझेको हुँदैन । चर्चित भौतिक शास्त्री रिचार्ड फेनम्यानलाई एकदिन एकजना विद्यार्थीले भौतिक शास्त्रकै एउटा विषय सोधेछन्, उनले उत्तर दिँदा पनि विद्यार्थीले नबुझेपछि उनले यसलाई साधारण बनाउन मलाई २–३ दिन दिनुहोस् भनेछन् । उनले २–३ पछि उक्त विद्यार्थीलाई भनेछन्, मलाई लाग्छ मैले यसको ‘कन्सेप्ट’ राम्ररी बुझेको रहेनछु किनकि मैले यसलाई सजिलो भाषामा बुझाउन सकिनँ । रिचार्डले भौतिक शास्त्रको बारेमा बुझेको छैन भनेर स्विकारेका छन् । हामी के गर्दै छौँ ? हामी सबै बुझे झैँ विधार्थीलाई झुक्याउँदैछौँ । कुनै पनि शिक्षकले कुनै पनि विषय ५ कक्षाको विद्यार्थीलाई बुझाउन सक्दैन भने एउटै कारण हो कि शिक्षक आफैँले बुझेको हुँदैन।

नयाँ शिक्षाको कल्पना
घरमा बुवा–आमाको कुरा ५ मिनेट सुन्न नसक्ने हामीहरुले दिनको ८ घण्टाको ‘लेक्चर’ सुन्दा कति पाक्छौँ होला ? त्यसैले, एउटा शिक्षक आएर पढाउने अनि विद्यार्थीले चुपचाप सुन्नुपर्ने विधिलाई अब बन्द गर्न जरुरी छ । अब विद्यार्थी आफैँले सिक्न सक्ने माहौल बनाउन जरुरी छ । अहिले धेरै विकसित देशमा सुरु हुँदै गरेको यो विधि हाम्रो लागि पनि उपयोगी हुन सक्छ । शिक्षकले कक्षालाई ४ देखि ८ विद्यार्थीको एउटा ग्रुप बनाएर कक्षालाई भाग लगाउने । अनि, प्रत्येक ग्रुपलाई त्यस दिनको पाठ अध्ययन गर्न दिने । प्रत्येक ग्रुपले उक्त विषयमा अध्ययन गर्ने, छलफल गर्ने । ग्रुपले शिक्षकलाई नबुझेको कुरा सोध्नेछन् अनि आफ्नो बुझाइ कक्षामा प्रस्तुत गर्नेछन् । अनि उनीहरूको प्रस्तुतिमा अरू विद्यार्थीले प्रश्न गर्ने अनि छलफल गर्नेछन् । यसरी विद्यार्थीलाई सिक्न, आफूले बुझेको कुरा प्रस्तुत गर्न सिकाउन सक्यौँ भने उनीहरूको विश्लेषणात्मक क्षमता पनि बढ्नेछ । यसमा शिक्षकले सहयोगीको भूमिका खेलेर माहोल बनाउने काम गर्न जरुरी छ । विद्यार्थीलाई नै विषयमा डुब्न नदिने हो भने नयाँ आइडिया कसरी आउन सक्छ?

अन्त्यमा, केही समय यता हाम्रो शिक्षामा केही परिवर्तन आएको छ । किताबहरू इ–बुकमा परिणत भएका छन् । व्हाइट बोर्ड युटुब च्यानलमा परिणत भएको छ । अनलाइन कोर्सहरु सुरु भएका छन् । मेरो डर, हामीले माध्यम नयाँ खोज्दै छौँ तर विधि अनि तरिकामा परिवर्तन ल्याउने बहस चलाउन सकेका छैनौँ । समस्या विधिमै छ । सुधार विधिमै हुन जरुरी छ। शिक्षा अर्थपूर्ण, उदेश्यमूलक अनि उपयोगी हुन जरुरी छ।

(विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य पाण्डे अध्यापनमा संलग्न छन्)







यसमा तपाईको मत