१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अाजदेखि गाैरा पर्व सुरु

फाइल तस्विर

काठमाडाैं - प्रदेश नं ७ का जिल्लाहरुमा शुक्रबारदेखि गौरा पर्व शुरु भएकोे छ। भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने पर्वको पहिलो दिन महिलाले बिहानै स्नान गरी तामाका भाडामा पुजा आराधना गर्दै पाँच प्रकारका गेडागुडी मिसाई बनाएको बिरुडा भिजाउने चलन रहेको छ। पाँच अन्नमा गहुँ, मास, गहत, गोरस र कलौ पर्ने गर्दछन्।

पञ्चमीका दिन महिलाले माङ्गलिक गीत फाग गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनुका साथै पञ्च वनस्पति धान, साँउ, तिल, बेल र पातीको पुत्ला बनाएर पँधेरामा राखी पुजा गर्ने र बिरुडा लिएर मङ्गल गीत फाग सँगै घरमा ल्याई राख्ने गर्छन। विवाहित महिलाले गौरा पर्वमा ब्रत बसी कण्ठसुत्र धारणा गर्नुपर्ने र पुरुष सरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन रहेको छ।

महिलाले दोस्रो दिन शुभमुहूर्तको अवसर पारि पानीका मुहान र पँधेरामा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर डालोमा स्थापना गरि पूजा–अर्चना गर्दै विवाहित महिलाले दुबधागो चढाउने गर्छन्। सप्तमीका दिन महिलाले दिनभर व्रत वसि आफ्नो परिवारको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पुजा गर्ने गर्दछन्। सात गाँठो पारिएको दुर्वा सहितको कण्ठसूत्र दुवधागो पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ। 

गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाअर्चना गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ। अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमा सँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीत गाउँदै पुजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन। यसै अवसरमा देउडा खेल खेलेर रमाइलो गरिन्छ भने गौराको प्रसादका रूपमा बिरुडा ग्रहण गर्ने गरिन्छ।

गौरा पर्वमा पश्चिमी क्षेत्रको मुख्य परिकारका रुपमा रहेका परिकार माणा, सेल, पुरी, बटुक, खीर, मालपुवा, निसोसे जस्ता शाकाहारी खानाका परिकार बनाउनुका साथै नयाँ कपडा लगाउने गरिन्छ। गौरा पर्वको आगमनले यतिखेर सुदुरपश्चिममा चहलपहल बढाएको छ। गौरा विसर्जन नगरिएसम्म देउडा खेलि रमाइलो गरिन्छ। काम तथा पढाइको सिलसिलामा घर भन्दा वाहिर रहेको प्रदेश नं ७ का स्थानीयहरु समेत गौरा पर्वका अवसरमा घर फर्कने गर्दछन्। यस्तै घरभन्दा टाढा रहेकले समेत आफु बसोबास गरेकै स्थानमा गौरा पर्व मनाउने गर्दछन्। काठमाडौंको टुडिखेलमा समेत गौरा पर्वका दिन विशेष कार्यक्रमको आयोजना गरिदै आएको छ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिव प्राप्ति भएको विश्वासमा गौरा र महेश्वरको विवाहको सम्झाना गर्दै यो पर्व मनाउने परम्परा चल्दै आएको हो। 

प्रकाशित: १५ भाद्र २०७५ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App