१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विवाह गरी अन्यत्र गएको भन्दै जबरजस्ती अवकाश

विद्यालयले अवकास पत्र थमाएकी रिमा खत्री ।   तस्बिरः नागरिक

सिन्धुली – सिन्धुलीको कालिका प्राथमिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रमा कार्यरत रिमा खत्रीलाई विवाह गरी अन्यत्र गएको आरोपमा विद्यालयले जबरजस्ती अवकास दिएको छ। खत्रीलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले विवाह भई अन्यन्त्र गाउँमा गएको भन्दै अवकास थमाएको पीडितले बताएकी छिन्। 

२०७४ साल जेठ २ गते विवाह भइ फिक्कल गाउँपालिकास्थित खोलागाउँबाट गोलञ्जोर गाउँपालिकाको डुडभन्ज्याङमा विवाह भएपछि श्री खत्रीलाई विवाह भइ अन्यत्र गएको आरोपमा ०७४ सालकै कार्तिकमा विद्यालयले अवकास पत्र थमाएको थियो।  

पत्र थमाएपनि पीडित खत्रीले जिल्ला शिक्षा कार्यलयमा हारगुहार गरेपछि हालसम्म सोही विद्यालयमा कार्यरत थिइन्। तर हाल विद्यालयमा सो पद रिक्त रहेको भन्दै विज्ञापन निकालेपछि खत्री न्याय खोज्दै अदालतमा पुगेकी छिन्। अवकास पत्र हातमा दिने वित्तिकै मैले जिल्ला शिक्षा कार्यलयमा जानकारी गराए, त्यसपछि जिल्ला शिक्षा अधिकारीको आदेशमा हालसम्म सोही विद्यालयमा कार्यरत थिए तर विद्यालयले एक्कासी अर्को विज्ञापन गरी मलाई बर्खास्त गरेको जनाएपछि म न्याय खोज्दै आएकी हुँ, उनले नागरिकसँग भनिन्। मैले विवाह गरेको कारण विद्यालयलाई कुनै असर पुर्याएको छैन, खत्रीले भनिन्, ‘विवाह भएको दुई दिन देखी नै म स्कुलमा पठाउन पुगेकी छु।’ वडा अध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षले आफ्नो मान्छे नियुक्ती गर्नका लागि आफुमाथि प्रपञ्च रचेको उनको आरोप छ। 

विद्यालयले दिइएको अवकाश पत्रमा खत्रीलाई विवाह भइ अर्कै ठाउँमा गएको र अध्ययन अध्यापनमा अप्ठ्यारो भएकाले सोही गाउँको स्थानीय विवाहित महिलालाई नियुक्ति गराई पठनपाठन कार्य सुचारु गर्नुपर्ने भएकाले अवकाश दिइएको जनाइएको छ। मैले पठन पाठनमा कुनै अवरोध पुर्याएको छैन, उनले दुखेसो पोख्दै भनिन्, ‘जिल्ला शिक्षा कार्यालयमै मेरो विषयमा विद्यालयले गरेको निर्णय सुनाएपछि विद्यालयले समेत अनुगमन गरेको थियो, मेरो कुनै कसुर छैन।’ उनले विद्यालयले हाजिर नगराएपछि जिल्ला शिक्षा अधिकारीकै निर्देशनमा अर्को हाजिरी रजिष्टर लगेर हाजिर गर्दै काम गरेको बताइन्। मलाई विवाह भएर गएको मान्छेले फेरी यही स्कुलमा आएर पढाउँदा बेइज्जत हुँदैन भन्दै व्यवस्थापन समितिले पटक पटक थर्काए उनले थपिन्, ‘मैले विवाह गरेर जानु नै गल्ति देखाइयो।’ 

पछिल्लो समय जनप्रतिनिधिले शिक्षामा मनोमानी गर्दै आएको शिक्षकहरू बताउछन्। स्थानीय तहलाई नयाँ शिक्षक भर्ना गर्ने, अवकाश दिने सरुवा गर्ने तथा फिर्ता पठाउने अधिकार नभएपनि सिन्धुलीका स्थानीय तहले शिक्षामा मनोमानी गर्दै आएको शिक्षकहरूको गुनासो छ। संघिय शिक्षा ऐन जारी नभई अवकाश दिने तथा फिर्ता पठाउन स्थानीय तहले मिल्दैन, नेपाल शिक्षक संघका जिल्ला सचिव कृष्ण ढुङगेलले भने,‘कानुनी पाटो एकातर्फ हुन्छ, व्यवहारीक पाटोलाई पनि हेर्न सक्नुपर्छ।’ उनले रिमा खत्री जस्तो गरिब चेलीले खाएको नोकरी विवाह गरेर गएकै कारण अवकाश दिनुपर्ने कारण थिएन् यो एक गैर जिम्मेवारी काम हो।

यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कटुवाललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। पछिल्लो समय स्थानीय तहले गरेका केही गतिविधि शिक्षा क्षेत्रमा मान्य हुने र पच्ने छैनन्, उनले थपे अधिकार दुरुपयोग नहोस्। यहाँको गोलञ्जोर गाउँपालिकाले पनि स्रोत व्यक्ति यज्ञ राई र सरद अर्याललाई यही भदौ ५ गतेको निर्णयले स्रोत व्यक्तिको जिम्मेवारीबाट फिर्ता गरी आफ्नै दरबन्दीमा गइ हाजिर हुन निर्देशन दिएको छ। 

यता रिमा खत्रीलाई नोकरीबाट नहटाउन जिल्ला अदालत सिन्धुलीले अन्तरिम आदेश दिएको छ। विवाह गरी अन्यत्र गएको भन्दै विद्यालय व्यवस्थापन समितिले अवकास पत्र थमाइ अर्कै व्यक्ति भर्ना गर्न विज्ञापन गरेपछि न्याय खोज्दै जिल्ला अदालतमा उजुरी गरेकी खत्रीको पक्षमा सुनुवाई गर्दै जिल्ला न्यायधिस किरणप्रसाद सिवाकोटीको इजलासले खत्रीले काम गरिरहेको बालविकास केन्द्रको सहयोगी कार्यकर्ताको पदमा नयाँ विज्ञापन गर्ने, भर्ना गर्ने कार्य नगर्नु नगराउनु भनी विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वडा अध्यक्ष गाँउपालिकालाई अन्तरिम आदेश दिएको शिक्षक संघका सचिव ढुङगेलले बताए। 

प्रकाशित: १५ भाद्र २०७५ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App