१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फाल्डोमा शुक्रबहादुर च्याम्पियन

काठमाडौं- शुक्रबहादुर राईले बिहीबार इभन पार ७२ स्कोर गर्दै फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन्। उनको कुल स्कोर १ अन्डर २ सय १५ थियो। १७ देखि २१ वर्षको उमेर समूहमा शुक्रबहादुरले सहजै उपाधि जित्दा बिहीबार अन्तिम दिन २ ओभर खेलेका युवराज भुजेल (२३२) उपविजेता भए।

यसैगरी १२ देखि १६ वर्षको उमेर समूहमा तेन्जिङ छिरिङ च्याम्पियन हुँदा भारतका आर्यन कुमार उपविजेता भए। महिलातर्फ भारतकी सिफात कौर अलागले उपाधि जित्दा प्रतिमा शेर्पा उपविजेता भइन्। सबै विधाका विजेता शुक्रबहादुर, तेन्जिङ र सिफाल अर्को वर्ष मार्चमा भियतनामको डानाङस्थित लागुना लाङ कोमा हुने ११ औं फाल्डो सिरिज एसियाको फाइनललाई छनोट भएका छन्।

विजेतालाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले बिहीबारै पुरस्कृत गरे। पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री श्रीपालीले नेपालमा गल्फको प्रचुर सम्भावना रहेको चर्चा गर्दै एकेडेमी स्थापनाका लागि नेपाल गल्फ संघलाई आह्वान गरे। …गल्फ नेपालमा देशकै लागि धेरै काम लाग्ने खेल हो। गल्फ खेल विकासका लागि एउटा गल्फ एकेडेमी स्थापना गर्न म संघलाई आह्वान गर्न चाहन्छु। त्यसका लागि म पूरा सहयोग गर्नेछु,' मन्त्री श्रीपालीले भने।

विजेतालाई गल्फ संघका अध्यक्ष मधुकर याकथुम्बाले बधाई दिँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका आफ्ना महासचिव टासी घलेलाई शुभकामना दिए। घलेले एकेडेमी स्थापनाका लागि संघले तत्काल पहल थाल्ने बताए।

प्रकाशित: ३१ भाद्र २०७३ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App