नेपाली नै हो हाम्रो सम्पर्क भाषा

शुक्रबार, ३१ भदौ २०७३, ०७ : ५२ डा. तारानाथ शर्मा

अङ्ग्रेजी भाषालाई आजसम्म हामी एक मात्र बहुसम्मत अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मान्दै आएका छौँ। हामी भारतका अत्यन्त निकट छिमेकी हुनाले तथा भारतमा अङ्ग्रेजीको महŒव भने अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मात्र नभई त्यहाँ भित्रका विभिन्न प्रान्तहरुका अनेकौँ भाषाभाषी बीचको सम्पर्क भाषाका रुपमा समेत हिन्दीका साथसाथै मानिदै आएको प्रत्यक्ष देख्तै आएका छौँ। अनेकौँ विश्वविद्यालयहरुद्वारा शोभित तथा अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक एवं पत्रपत्रिकाहरुद्वारा सेवित भारतलाई म शिक्षा र ज्ञानका फाँटमा सानैदेखि स्वाभाविक रुपले प्रशंसा गर्थें र ती साधनहरुले नै मेरो व्यक्तित्व विकासमा ठूलो योगदान गरेका हुन्। म अङ्ग्रेजी राम्ररी नबुझुञ्जेल हिन्दीका पुस्तक डाकबाट मगाएर समेत प्रशस्त पढ्थेँ, तर दार्जिलिङका उच्च विद्यालय र महाविद्यालयहरुमा चार वर्ष पढिसकेपछि अङ्ग्रेजीप्रति मेरो आकर्षण बढेर गयो र अङ्ग्रेजीका पुस्तकहरुसमेत म भेला पार्दै पढ्न थालेँ। पछि अङ्ग्रेजीमै एमए गरेपछि र अङ्ग्रेजीकै प्राध्यापक भएपछि त झन् त्यस भाषाप्रतिको रुचि बढ्ने नै भयो। जसरी मलाई मेरा आदरणीय शिक्षक चन्द्रभक्त कसजुको निर्देशनले सानैदेखि निरङ्कुश शासन प्रणालीप्रति घृणा र जनतन्त्रप्रति आकर्षण र रुचि बढायो, उसरी नै म १३ वर्षको उमेरमा छँदै अर्थात् २००४ सालतिरै विशाल भारतले विदेशी बेलाइती प्रभुत्वबाट मुक्ति पायो। भारतीय स्वतन्त्रता सङ्ग्रामका अग्रणी व्यक्तित्वहरु गान्धी र नेहरुका भाषणहरु म रेडियोमा सुन्थेँ र पत्रिकाहरुमा पढ्थेँ पनि। ती दुवै जनप्रिय भारतीय नेताका साथै त्यहाँपछि गएर राष्ट्रपति हुने राजेन्द्रप्रसाद तथा उपराष्ट्रपति हुने राधाकृष्ण मेननसमेत घोक्रो सुकुञ्जेल आफ्ना जनतालाई सुनाउँथे, ‘अब हामी पन्ध्र वर्षभित्रै पूरा व्यवस्था मिलाएर विदेशी साम्राज्यवादीहरुको अङ्ग्रेजीलाई हटाएर आफ्नै हिन्दीलाई राष्ट्रभाषाका रुपमा स्थापित गर्नेछौँ।’

तर त्यस्तो घोषणा गरेको आज ६९ वर्ष पुग्न लाग्दा पनि न त भारतले हिन्दीलाई राष्ट्रभरि सम्मानसाथ सम्पर्क भाषाका रुपमा स्थापित गर्न सक्यो न त अङ्ग्रेजीको दासत्वबाट आफूलाई मुक्त गर्न नै सक्यो। कहाँसम्म भने हरेक क्षेत्रका मै हुँ भन्ने भारतेलीहरु अचेल त झन् पूरै अङ्ग्रेजी भाषामा भाव प्रकट गर्नु र नभए पनि बग्रेल्ती अङ्ग्रेजी शब्दहरु मिसाई गिजोलिएको बोलीमा मक्ख पर्दै बोल्नुलाई नै स्तरीयता, सभ्यता र उच्चता मान्दै आएका छन्। हेर्नुहोस् न, अस्ति २/४ महिनाअघि उडिसा प्रान्तको विधानसभामा एक जना सदस्यले हिन्दीमा बोल्दै पूरै विरोध भयो र अङ्ग्रेजीमा बोले मात्र भाव प्रकट गर्ने अनुमति दिइने घोषणा त्यहाँ सुनाइयोः कि त उडिसा प्रान्तमा बोलिने स्थानीय भाषा प्रयोग गरियोस्, होइन भने हिन्दीमा त यहाँ बोल्न पाइँदै पाइँदैन! बरु भारतभरि मान्यता पाएको अङ्ग्रेजीमै आफ्ना विचारहरुलाई प्रकट गरियोस्।’

यो विचित्रता सुनेपछि मैले झसङ्ग हुँदै मेरो ७/८ वर्षको कलिलो उमेरलाई सम्झेा। मेरी पूजनीया हजूरआमाले मलार्य मेरो जन्मस्थल इलामको बरबोटेबाट केही मास्तिर पर्ने घलेटार नाघेपछि पुगिन

 डाँडैमा स्थित धारापानीमा एक बिहान लानु भएको थियो। त्यहाँको एउटा घरमा पुराण लागेको रहेछ। हजुरआमाले भेटी र फूलपाती चढाएपछि हामी जब श्रोताहरुसँग बसेर पण्डितको व्याख्या सुन्न थाल्यौँ, मलाई अचम्म लाग्ने कुरो उनले भनेः ‘हाम्रो उत्तरको महाचीन आज निदाएको सिंहजस्तै छ, तर भोलि त्यो बिउँझेपछि त्यसले संसारभरि आफ्नो दक्षताको प्रत्यक्ष प्रभाव देखाउने छ र विश्वलाई धेरै क्षेत्रमा नेतृत्व गर्नेछ।’

म ठिटो छक्क परेँ। मेरा पिता र गाउँका अरु प्रबुद्ध र पाका व्यक्तिहरु संसारको नेतृत्व बेलाइतले गर्दैगरेको र त्यसलाई उसकै अङ्ग्रेजी भाषा बोल्ने र उसैका सन्ततीहरुले बास गरेको अमेरिकाले टेवा दिएका कुराहरु गर्नुहुन्थ्यो। दोस्ेो विश्वयुद्ध चल्दै थियो। जोरी खोज्ने जापानजस्तालाई समेत हराएर भारतलाई थिचेर राख्ने बेलायत पो अघि बढ्दैछ भनी उहाँहरु चर्चा गर्नुहुन्थ्यो। उहाँहरु कसैबाट पनि चीनको उल्लेख हुँदैनथ्यो। त्यसैले ती पण्डित किन चीनको प्रशंसा गर्दैथिए, मेरो बालमस्तिष्कले त्यतिबेला के बु‰न सक्थ्यो? आजको विकासको रुप भने ठीक ती पण्डितले भविष्यवाणी गरेजस्तै भएको छ। पुराणहरुमा त त्यसको अर्थात् चीन गर्जेर उठ्ने उल्लेख पक्कै पनि थिएन। त्यसबाट के बुझिन्छ भने ती पण्डित आधुनिक पुस्तकहरु पनि पढ्थे र चीन अवश्य पनि अघि बढ्ने भविष्यका लक्षणहरु उनले थाहा पाइसकेका थिए।

हुन पनि भारत स्वतन्त्र भएको दुवै वर्षपछि चीन पनि जुर्मुराउँदै एकताको भावनाले सजग र सबल हुँदै जग्मगायो। मैले अमेरिकामा उच्च अध्ययन गर्न जाँदा यो त्यस राष्ट्रको प्रगति अविरल बढ्दै गएको सस्याना उदाहरणहरुबाट समेत थाहा पाएँ। यसबाट निरङ्कुशताको अन्त्य भयो र राष्ट्रिय चेतना जाग्यो भने विकासलाई जनता स्नेहपूर्वक डोरिँदारहेछन् भन्ने मलाई ज्ञान हुँदै गयो। हुन पनि केही वर्षपछि त म सामान्य कमिज किन्न जाँदा पनि अमेरिकामा चीनकै वर्चश्व देख्थेँ। आर्थिक, औद्योगिक र सांस्कृतिक चेतना जनतामा जगाउन र त्यसअनुरुप राष्ट्रलाई अघि बढाउन इमान्दारीपूर्वक लागेमा जसले पनि पक्कै सक्दोरहेछ भन्ने ज्वलन्त उदाहरण आजको चीन नै हो।

६ वर्षैअगाडि अर्थात् २०६७ पुस महिनातिर चीनको छापाखाना तथा प्रकाशनसम्बन्धी विभागका अधिकारीहरुबाट एउटा रमाइलो सूचना प्रकाशित भएको थियो, जसअनुसार अनियन्त्रित रुपले अङ्ग्रेजी शब्दहरु तथा ती शब्दका छोट्याइएका रुपहरु चिनियाँ भाषाका लेखहरुमा तथा समाचार प्रसारणहरुमा जताततै प्रयोग गरेर विशुद्ध र सुन्दर राष्ट्रिय चिनियाँ भाषा तथा सांस्कृतिक वातावरणलाई खल्बल्याउन थालेको देखिएकाले र त्यस्तो अस्वस्थ र अन्धो विदेशी अनुकरणले सामाजिक स्थितिमा नकारात्मक प्रभाव पार्न लागेकाले त्यस्ता प्रयोगलाई लगत्तै बन्द गर्ने आदेश त्यस विभागले दियो। चिनियाँ भाषाको स्वच्छता, सम्भयताको शुद्धता र स्वस्थ जनवातावरणको विरुद्धमा अनर्थकारी प्रभाव पारीसांस्कृतिक अस्तित्वमा नै आघात पुर्‍याउने हुँदा त्यस्ता विदेशी भाषिक स्वरुपलाई ठाडै चिनियाँ लेखाइमा प्रयोग गर्न नपाइने आदेश देख्दा मेरो घैँटामा घाम लागेके थियो। चिनियाँ अधिकारीले त्यस्ता अङ्ग्रेजी मात्र होइन अरु कुनै विदेशी भाषाका शब्दहरु र अभिव्यक्तिका शैलीहरु चिनियाँ भाषाका कृतिमा असाध्यै नौला र उद्धरण नगरी हँुदै नहुने ठानिएमा तिनको प्रयोग चिनियाँ अक्षरमै गर्ने र तिनको शुद्ध चिनियाँ अर्थ मात्र नदिएर उच्चारणसमेत कोष्ठकमा चिनियाँमै दिएमा मात्र छाप्न पाइने, नत्र त्यस शासकीय विभागले तोकेको सजाय भोग्नुपर्ने अनि त्यसमा कुनै उजुरी गर्नै नपाइने भन्ने लिखित नियम पनि प्रकाशित गरेको थियो।

एकातिर महाचीनले पाश्चात्य भाषाको आक्रमणकारी हस्तक्षेपलाई त्यसरी रोकेर सांस्कृतिक रुपले आफ्नै भाषाका अभिव्यक्तिहरुलाई विशुद्ध र स्तरीय पार्दै लागेको देखिन्छ, अर्कोतिर विशाल भारत बरालिनसम्म बरालिएको र आफ्नो परम्परा निरन्तर गुमाउँदै अङ्ग्रेजीकै पाउमा लमतन्न पसारिएर हिरिकहिरिक भइरहेको छ। यसै लेखमा उल्लेख गरिएको उडिसाको प्रान्तीय विधानसभामा एक जनाले हिन्दीमा बोल्दा ठाडै दुष्ट विरोध भयो। अब हेर्नुहोस् न! कहाँ गयो गान्धी र नेहरुको वाचा? कहाँ पुग्यो प्रथम राष्ट्रपति राजेन्द्रप्रसाद र उपराष्ट्रपति मेननका हिन्दीलाई पन्ध्रै वर्षभित्र नयाँ लोकतन्त्र भारतको सम्पर्क भाषा बनाउन गरिएको राष्ट्रिय अठोट?

हो, उत्तर भारतमा बोलिने पञ्जाबी, राजस्थानीय, मैथिली, भोजपुरी, महाराष्ट्री, गुजराती, बङ्गाली, आसामी, उडिसालीजस्ता भाषाहरु संस्कृतबाटै विकसित र भाषा विज्ञानमा ‘भारोपेली परिवार’का भनी चिनाइएका हुनाले ती बोल्ने जनतालाई हिन्दी बोल्न गाह्रो नपर्नुपर्ने हो। बरु दक्षिण भारतमा बोलिने द्रविड परिवारका तेलुगु, तमिल, कन्नड र मलयालमजस्ता भाषा बोल्नेहरुलाई हिन्दी भाषा झट्टै आत्मसात् गर्न निकै कठिन हुने कुरो मान्नुपर्छ। त्यसो भए तापनि शिक्षा, पारस्परिक निकट सम्पर्क र राष्ट्रिय एकताका दृष्टिकोणले भने हिन्दी नै बहुसङ्ख्क भारतेलीहरुको अभिव्यक्तिको उचित माध्यम हो। त्यसै भएकाले विदेशी शासकहरुले अढाइ सय वर्षदेखि जबर्जस्ती लादेको अङ्ग्रेजी भाषाका रुपमा जनताले सहर्ष अङ्गीकार गर्नु उपयुक्त हो तर हेर्नुहोसु न, भारतमा भने अङ्ग्रेजीमा बोल्यो वा लेख्यो भने मात्र पठित, ज्ञानी, शिष्ट र सभ्य मानिने बेलाइती दासत्वले ठूलो जरो गाडेको छ। चाहे नेता हुन् वा अभिनेता हुन्, चाहे प्राध्यापक हुन् वा लेखक हुन्, धार्मिक गुरुहरु हुन्, सबै हिन्दीमा बोल्ने र लेख्ने कुरालाई हीन ठान्दछन् र अङ्ग्रेजीमै अभिव्यक्ति दिन पाउँदा फुलेल हुन्छन्।

यसरी विराट् दक्षिणी छिमेकीका यस्ता छिचरा र दयनीय धारणाहरुले हामीलाई टर्रो अनुभव हुनु र विशाल उत्तरी छिमेकीका राष्ट्रिय, स्नेहपूर्ण र अनुकरणीय चलनहरुले हामीलाई उत्साहित पार्नु हाम्रो आजको नियति भएको छ।

सरस्वतीनगर, चाबहिल







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad