१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिमस्टेक शिखर सम्मेलन सुरु, यस्ता छन् एजेण्डा (भिडियो)

बिमस्टेक शिखर सम्मेलन सुरु भएको छ। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ।

सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिइरहेका छन्। शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्ने छन्।

आजको औपचारिक कार्यक्रम साँझ ६ बजे सकिएसँगै प्रधानमन्त्री ओलीले होटल ह्यातमा आयोजना गरेको रात्रीभोजमा अतिथीहरु सहभागि हुने छन्। शुक्रबार बिहान ११ बजे बिमस्टेकको दोस्रो सेसन सुरु हुने छ।

महत्वपूर्ण विषयमा हस्ताक्षर गर्दै काठमाडौँ घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ। सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ।  यस अघि सदस्य राष्‍ट्रका प्रमुखहरुको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा दिवाभोजको आयोजना गरेकी थिइन्।

चौथो शिखर सम्मेलनमा खासगरी सदस्य राष्ट्रबीच सम्पर्कसञ्जाल विस्तार गर्नेमा छलफल हुने छ। यसमा पनि ऊर्जा आदान प्रदानका लागि सदस्य राष्ट्रहरुबीच प्रसारण लाइन स्थापना (पावर ग्रीड कनेक्सन) सम्बन्धी संझौता गर्ने अपेक्षा गरिएको छ। मंगलबार भएको पदाधिकारी बैठक र बुधबार भएको मन्त्रीस्तरीय बैठकले पनि यो विषयमा आवश्यक तयारी गरिसकेको छ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकको हालसम्म बडापत्र छैन। बडापत्र बनाउने विषय पनि यो सम्मेलनमा छलफल हुनेछ।

सात सदस्य राष्ट्र रहेको यो संगठनले १४ वटा विभिन्न क्षेत्रहरु निर्धारण गरेको छ। मंगलबार सम्पन्न सचिबस्तरीय बैठकले यी क्षेत्रमध्ये केहीलाई एकीकृत गर्ने, केहीलाई हटाउने र केहीलाई थप प्राथमिकीकरण गर्नुपर्ने औल्याएको थियो। शिखर सम्मेलनमा यो विषयले पनि प्रवेश पाउनेछ।   

भिडियो सौजन्य : नेपाल टेलिभिजन

 

 

 

 

प्रकाशित: १४ भाद्र २०७५ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App