१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल लगातार दाेस्राे खेलमा पराजित, एसिया कपमा छनाेट सम्भावना कठिन

तस्विर : एसिसि

काठमाडाैं - एसिया कप छनोट अन्तर्गतको आफ्नो दाेस्राे खेलमा समेत नेपाल पराजित भएको छ। बिहिवारको खेलमा नेपाल युएइसँग ७८ रनले पराजित भएको हो। लगातार २ खेलमा पराजित भएपछि नेपालको एसिया कप खेल्न पाउने सम्भावना कठिन बनेको छ। पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल दोश्रो खेलमा युएइसँग खराब ब्याटिङ प्रदर्शनका कारण ७८ रनले पराजित हुन पुग्यो।

मलेसिया स्थित किनरारा ओभल मैदानमा जीतका लागि २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल ४८ दशमलव ५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ७६ रनमा खुम्चिन पुग्यो। पहिलो ओभरकै चौथो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालको त्यसपछि विकेट गुमाउने सिलसिला सुरु भएको थियो। १५ दशमलव ३ ओभरमै कप्तान, उपकप्तान र पछिल्लो समय उत्कृष्ट लयमा रहेका सागर पुनलाई गुमाएको नेपाल त्यसपछि संकटमा परेको थियो। सागरले यसअघि ओमान विरुद्ध खेलिएको खेलमा ८३ रन जोडेका थिए। संकटमा परेको नेपालको इनिङ सम्हाल्ने क्रममा दिपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले सर्वाधिक ५८ रनको साझेदारी गरेपनि ३० औं ओभरमा सुवास ५० रन बनाउँदै आउट भएपछि नेपालको विकेट जाने सिलसिला पुनः सुरु भएको थियो। 

नेपालका कप्तान पारस १६ तथा उपकप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरीले ४०, तथा सोमपाल कामीले अविजीत रहँदै २७ रन जोडे। युएइका लागि अहमद रजाले सर्वाधिक ४ विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा ९ विकेट गुमाइ २ सय ५४ रन जोडेको थियो। युएईका लागि चिराग सुरीले सर्वा्धिक ६५ रनको योगदान दिए। उनले ९१ बलमा ७ चौंका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै एडनान मुफ्तीले नटआउट ५७ रन बनाए। उनले ४६ बलमा ८ चौंका प्रहार गरे। यस्तै ओपनिङ ब्याट्सम्यान अस्फाक अहमदले ४५, रमीज सहजादले रन जोडे।

नेपालका लागि युवा लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै २ मेडन राख्दै २४ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। यस्तै बसन्त रेग्मी र सोमपाल कामीले समान २–२ विकेट लिए। 

नेपालले आफ्नो तेश्रो खेलमा शनिवार आयोजक मलेसियाको सामना गर्नेछ। 

प्रतियोगितामा नेपाल सहित हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स सहभागी रहेका छन्। प्रतियोगिताका शिर्ष २ टोलीले फाइनल खेल्नेछन भने फाइनल खेलको विजेता युएइमा हुने एसिया कपकालागि छनोट हुनेछ।  

 

प्रकाशित: १४ भाद्र २०७५ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App