१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रतिपक्ष भएर पनि अलोकप्रिय !

एक विख्यात ऋषि हुनुहुन्थ्यो, जसलाई शरीरभर कमिला र धमिराले गुड लगाउँदा समेत पत्तै थिएन । तर अचानक आफ्नो सामुन्ने सौन्दर्यकी खानी मेनका प्रस्तुत भइन् तब जीवनभरको तपस्याको अचुक निरन्तरता गुमाउँदै बाँकी जीवनभर तपस्या गर्दा पनि फिर्ता पाउनै नसक्ने क्षणमा ऋषि पुग्नुभयो।

नेपालको राजनीतिमा देखापरेका एकाध नेतालाई छाडेर बाँकीमा सत्ता, शक्ति र दौलतले डेरा जमाउँदा राजनीतिक नेतृत्वप्रति नै वितृष्णा पैदा हुँदै गएको छ । सुविधा सम्पन्न ठाउँमा करोडौँ पर्ने घर र महँगा सवारी साधन त सामान्य नै बन्न पुग्यो । राणा, पञ्चायत, राजा, प्रजातन्त्र वा गणतन्त्र जस्ता सबै व्यवस्थामा निश्चित व्यक्ति नै हाबी भए । जसले प्रत्यक्ष÷परोक्ष रूपमा मुलुकको अर्थतन्त्रमाथि धावा बोलिरहेका छन्। 

इमानदारीका सन्दर्भमा छिमेकी मुलुक भारतको एउटा सानो उदाहरण प्रस्तुत गरौँ । अचानक एक दिन प्रतिपक्षी दलका नेता विश्वनाथप्रताप सिंहलाई हुलाकमार्फत ९० हजार नौ सयको युनिट ट्रस्ट अफ इन्डिया (जो सरकारी निकाय) को चेक प्राप्त भयो । तत्कालै उहाँले सोच्नुभयो– यहाँ जालझेल छ । दौलतको मोहमा उहाँ फस्न पनि सक्नुहुन्थो । तर, उहाँले पत्नी सीतादेवीलाई अह्राउँदै भन्नुभयो– तत्कालै सबै स्थानीय प्रहरी चौकीमा सूचना दिइहाल । उता सचेत नेता विश्वनाथ आफू भने पे्रसलाई जानकारी दिन वक्तव्य ड्राफ्टतिर लाग्नुभयो । उहाँलाई लाग्यो, आफ्नो इज्जतमाथि कतै न कतैबाट हमला हुँदैछ । उहाँले चेक जारी गरेको कार्यालयलाई समेत निवेदन पठाउनु भयो।

भोलिपल्ट देशैभर एकसाथ समाचार प्रकाशित भयो– नेता सिंहले ९० हजार नौ सयको चेक प्राप्त गर्नुभयो भनेर । त्यस ताका संसद्मा भिपी सिंह एम पी नाम गरेका (विश्वजित, पृथ्वीजीत र वीरभद्र प्रतापसिह) तीन सांसद थिए । तर, विश्वनाथप्रताप सिंहका लागि उक्त चाल चलिएको थियो, सत्ताले प्रतिपक्षलाई डगमगाउन नेपालमै पनि बर्नभिटाका उदाहरणहरू बेलाबखत चर्चामा आउने गर्छन् । सचेत विश्वनाथ सिंहका सामु कसैको केही लागेन, अन्त्यमा युनिट ट्रस्ट अफ इन्डियाले नेता सिंहलाई पत्र लेख्दै भन्यो– मेरा शाखा कार्यालयबाट चेकबुकका केही पाना चोरिएकाले छानबिन हुँदै छ। 

प्रश्न उठ्छ– किन जन्मँदैनन् नेपालमा विश्वनाथप्रताप सिंहहरू, किन राजनीतिलाई अर्थोपार्जनको सजिलो माध्यम बनाइन्छ, किन आफू जीवितै हुँदा सहिदका नाममा प्राप्त कोटामा आफ्नै छोराछोरी पठाइन्छ, किन हाम्रो नेतृत्व धन र दौलतका सामु जीवनभरको त्यागलाई चटक्क भुल्दैछ ? कति सम्पत्ति भए पुग्ला हाम्रो राजनीतिक नेतृत्वलाई, दौलत नै जम्मा पार्ने उत्कट चाहना थियो त खेतान वा चौधरीले झैँ किन उद्योगमा लगानी गरिएन ? जब कुनै पनि संस्था (कांग्रेस होस् वा कम्युनिस्ट) मा अवसरवादिता एवं स्वार्थले प्रश्रय पाउँछ, त्यति नै बेला सम्झनुपर्छ, त्यो संस्था लोपोन्मुख हुँदै छ । अवसरवादिता र स्वार्थ प्रारम्भ हुनासाथ स्वभावैले लोकप्रियताको अन्त्य हुन्छ नै । नेता नै भ्रष्ट भएको दल वा कुनै पनि संस्थामा निष्ठाको कल्पना गर्नु नै बेकार छ । निष्ठा खरिद वा बिक्रीको वस्तु होइन । तसर्थ निष्ठाको राजनीतिको सुरुवात कार्यकर्तावाट कि पहिला स्वयं नेताबाट ? यी र यस्ता प्रश्नहरूको जवाफ राजनीतिक नेतृत्वसामु सबै राजनीतिक दलका कार्यकर्ताले खोज्ने बेला आएको छ । आज श्रमको पसिनाभन्दा बेइमानीको अत्तर रुचाइँदैछ । यो भन्दा आश्चर्य अरू के होला ? 

राजनीतिमा नैतिकताको प्रश्न बलवान् हुन्छ । भारतीय नेता अटल विहारी बाजपेयीको हालै निधन भयो । भनिन्छ– सन १९४२ मा भारतीय स्वतन्त्रता संग्राममा युवा अवस्थाका बाजपेयी जेल पर्नुभयो, उहाँले जेलबाट छुटकारा पाउनका निम्ति सरकारकै पक्षमा काम गर्न थाल्नुभयो, सँगै उहाँले केही व्यक्तिलाई पक्राउ गर्न समेत मद्दत गर्नुभयो भन्ने आरोप उहाँमाथि लाग्यो । जसको प्रमाणित दस्तावेज बाहिर आउँदा बाजपेयीको खण्डन आएन । नैतिकताको विषय यही जोडिन्छ । अर्का वामपन्थी नेता थिए– श्रीपाद अमृत डांगे । वामपन्थी नेता डांगेले पनि स्वतन्त्रता संग्रामको समय जेलभित्र बाटै जेलरलाई पत्र लेख्नुभयो।

जुन पत्रको प्रतिलिपि लन्डनको एक संग्रहालयमा भेटियो र प्रकाशितसमेत भयो । राजनीतिमा इमानदारी देखाउन नसक्दा भारतको कम्युनिस्ट आन्दोलनको जन्मदाता डांगेलाई अन्ततः आफ्नै श्रीमती रोजा देशपाण्डेले समेत छोडिदिइन् । कालान्तरमा डांगेले अल इन्डिया कम्युनिस्ट पार्टी नामक दल त खोले, अध्यक्षमा छोरीलाई चयन पनि गरे तर चुनाव लड्दा लज्जाजनक पराजयपछि डांगेको कम्युनिस्ट पार्टी पनि नेपालको प्रजापरिषद् बन्न पुग्यो । राजनीतिमा नैतिक बल प्रधान नबनाउँदाको परिणति हो यो। 

समकालीन नेपाली राजनीतिका निश्चित पात्रलाई छाडेर बाँकी रहेका पात्रको प्रवृत्ति पटक्कै चर्चा गर्न लायक छैन । नेतृत्वले केवल हिजोको त्याग र योगदानलाई माध्यम बनाएर मेरो मूल्यांकन भएन भन्न मात्र सिकाउँदै छ । लोकतन्त्रको सबैभन्दा ठूलो कठिनाइ भनेकै नेतामा आत्मनियन्त्रण हो। 

नेताले नैतिकतालाई साथै लिएर यात्रा गर्नुपर्छ । नेताको आचरणकै कारण गणतन्त्र र अहिले खासगरी संघीयताको कार्यान्वयनमाथि संशय पैदा भएको छ । यति नै बेला लोकतन्त्रका आधारभूत मान्यता मानिएको प्रेस स्वतन्त्रतालाई गोपनीयताको हकका नाममा संकुचित गराइँदै छ । गणतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका हजारौँ युवा रोजगारीका लागि खाडी मुलुकमा पलायन हुन बाध्य छन् भने आजको राजनीतिक नेतृत्वमा उनीहरूलाई नेपालमै रोजगारी सृजना गरेर रोक्ने कुनै भिजन देखिँदैन।

मूलतः आजको राजनीतिक नेतृत्वको आह्वानलाई जनताले पत्याइहाल्ने अवस्था नहुनुको मूल कारण भनेको सत्तारूढ वा प्रतिपक्षी दलका उपल्लो तहका नेतामा नैतिक बल नहुनु नै हो । यस्तो स्थितिले राजनीतिक नेतृत्वप्रतिको अनास्था मात्र नभई वर्तमान राजनीतिक पद्धतिमाथि नै वितृष्णा पैदा गर्छ । आजका मितिमा मौजुदा राजनीतिक नेतृत्वको आचरणमा शुद्धता नदेखिएसम्म न त समृद्धिको सपना साकार पार्ने सरकारको आह्वानलाई पत्याउने स्थिति छ, न त सर्वसत्तावादको खिलापमा उत्रन प्रतिपक्षले गरेको आह्वान नै जनताले पत्याइहाल्ने अवस्था छ। 
(आचार्य नेपाली कांग्रेसका नेता हुन्) 

 

प्रकाशित: १३ भाद्र २०७५ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App