१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पप्पु कन्स्ट्रक्सनको बदमासी

रौतहट – गत शनिबार रौतहटको गौर ४ टिकुलियामा भएको डुंगा दुर्घटनाको मुख्य जिम्मेवार पप्पु कन्स्ट्रक्सन रहेको ठहर सर्वसाधारणको छ । ठेक्का लिएर तोकिएको अवधि सकिएको दुई वर्ष बित्दा पनि पुल नबनाएका कारण सर्वसाधारणले ज्यानै गुमाउनुपरेको अवस्था छ । कन्स्ट्रक्सनले टिकुलियामा मात्र होइन, अन्यत्र पनि गम्भीर बदमासी गरेको पाइएको छ।

हुलाकी सडकअन्तर्गत दुर्गा भगवती गाउँपालिका भएर रौतहट र सर्लाहीलाई जोड्ने बागमती नदीमा पप्पु कन्स्ट्रक्सनले पिलर ठड्याएर छाडेको पाँच वर्ष भइसके पनि निर्माण अघि बढाएको छैन । उक्त काम २०६७ जेठ ३१ मा निर्माण सम्झौता भएर २०७० जेठ ३० सम्ममा सकिनुपथ्र्यो । उक्त पुल तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका थिए । पप्पुले पुल अलपत्र छाडी उपकरण सबै लिएर भागेको बडहर्वाका बासिन्दा वैद्यनाथ सहनीले बताए।

पप्पुले रौतहटको कटहरियामा निर्माण गरेको पुलको पिलर गत वर्ष भत्किएको थियो । त्यही कारण उक्त पुल सरकारलाई अझै हस्तान्तरण भएको छैन । पप्पुले मुलुकका धेरै स्थानमा पुल बनाउने कार्यमा हात हाले पनि अधिकांशको निर्माण कार्य पूरा नगरेको, पूरा गरे पनि कमसल काम गर्दै आएको मत्सरीका श्यामचन्द्र झाले बताए । उनले भने, ‘जति बदमासी गरे पनि राज्यबाट कारबाही नहुँदा पप्पुका सञ्चालक हरिनारायण रौनियारको मनोबल बढेको छ।’

पप्पुले नै जिम्मा लिएको गढीमाई नगरपालिका ७ सिङारमनमा निर्माणाधीन पुलको काम पनि तोकिएको समयमा सकिनेमा स्थानीय सशंकित छन् । ‘समयमा काम सकिनेमा शंका देखिएपछि हामीले निरन्तर दबाब दिइरहेका छौं’, नगरप्रमुख श्याप्रसाद यादवले बताए । गढीमाई नगरपालिकाकै समनपुरमा निर्माण भइरहेको बागमतीको अर्को ठूलो पुलको काम पनि समयमा सकिएन । पहिलोपटक दिइएको म्याद गत चैतमा सकिएको छ । त्यसपछि म्याद थपेर २०७५ फागुनसम्म पुर्याएको निर्माण कम्पनीले जनाएको छ । २०७६ जेठसम्ममा काम पूरा गर्ने लक्ष्य लिएर काम भइरहेको पप्पुको भनाइ छ।

पप्पुका सञ्चालक रौनियार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेपछि कन्स्ट्रक्सनको लापरबाही झनै बढेको र कसैले पनि विरोध गर्न नसकेको स्थानीयको गुनासो छ।

को हुन् पप्पुका सञ्चालक रौनियार ?
पप्पु कन्स्ट्रक्सनका संस्थापक हरिनारायण प्रसाद रौनियार मधेसी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । सतारुढ दल संघीय समाजवादी फोरमका सांसद उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनी फोरमको केन्द्रीय सदस्यसमेत हुन्।

रौनियार २०४० सालमा ‘पप्पु कन्स्ट्रक्सन’ भन्ने निर्माण फर्म दर्ता गराएर निर्माण व्यवसायमा संलग्न भए । पहिले सानो आकारमा रहेको उनको कम्पनी यति बेला देशकै ठूला निर्माण कम्पनीमा पर्छ । आयोजना समयमा नसक्ने र काम पनि गुणस्तरहीन गर्ने भनेर पप्पु बदनाम छ । यही कारण एकपटक उक्त कम्पनी सडक विभागको कालो सूचीमा समेत परिसकेको छ।

रौनियार २०७३ चैत ६ गते संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् । पप्पु कन्स्ट्रक्सनका माध्यमले कमाएको धनको बलमा उनी पार्टी प्रवेशको ८ महिनामै सांसदको उम्मेदवार बनेर चुनाव पनि जितेको स्थानीय बताउँछन् । फोरम प्रवेअघि उनी कांग्रेस निकटका ठेकेदार भनी चिनिन्थे । कांग्रेस नेताहरुको साथसंगतले ठेक्कापट्टामा सफलता पाएका रौनियारले राजनीतिक सफलताका लागि संघीय समाजवादी फोरमलाई रोजे।

चुनावताका पप्पु कन्स्ट्रक्सनको प्रबन्धनिर्देशक पदबाट अलग भएका रौनियारले हाल छोरा सुमित रौनियारलाई प्रबन्ध निर्देशक बनाएका छन् । ‘पप्पु’ सुमितकै पारिवारिक नाम हो।

प्रकाशित: १३ भाद्र २०७५ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App