१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाब्वेका राष्ट्रपतिद्वारा सपथ

राजधानी हरारेमा आयोजना भएको सपथ कार्यक्रममा राष्ट्रपति पदको सपथ लिँदै जिम्बाब्वेका नव निर्वाचित राष्ट्रपति एमर्सन म्नागाग्वा। तस्बिर : एजेन्सी

हरारे  (बिबिसी) – जिम्बाब्वेका नव निर्वाचित राष्ट्रपति एमर्सन म्नागाग्वाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्।

अमेरिकी निर्वाचन पर्यवेक्षकले राष्ट्रपतीय निर्वाचनले देशको प्रजातान्त्रिक मान्यतालाई नै प्रश्न चिह्न उठाएको भनिरहेकै बेला आइतबार आयोजित सपथ कार्यक्रममा उनले जिम्बाब्वेलाई एकताबद्ध हुन आग्रह गरेका छन्।

विपक्षी नेता एवं राष्ट्रपतीय पदका उम्मेदवार नेल्सन चामिसाले निर्वाचनको मत परिणामलाई अस्वीकार गरिरहेकै बेला देशको संवैधानिक अदालतले शुक्रबार म्नागाग्वाको जितलाई पुष्टि गरेको थियो।

राजधानी हरारेस्थित राष्ट्रिय रंगशालामा आयोजित आइतबारको सपथ ग्रहण कार्यक्रममा हजारौं जिम्बाब्वेली नागरिक र दक्षिण अफ्रिकी नेता सिरिल रामाफोसा र रुवान्डाका नेता पल कागामेसहितका विदेशी नेता भेला भएका थिए।

‘हाम्रो मातृभूमिको विकास गर्नका लागिसबैले संयुक्त रूपमा प्रतिबद्धता व्यक्त गर्न म सबैसमक्ष आग्रह गर्दछु । फुटेरभन्दा एकताबद्ध भएर हामीले धेरै पाउन सक्छौं,’ सपथ ग्रहण समारोहमा नवनिर्वाचित राष्ट्रपति म्नागाग्वाले बताए।

देशको आर्थिक अवस्था सुधार्ने र विदेशी ऋण अन्त्य गर्ने निर्वाचन अभियानका बेला गरेको प्रतिबद्धतालाई दोहो¥याउँदै म्नागाग्वाले निर्वाचनपछि भड्किएको हिंसामा ६ सर्वसाधारणको ज्यान गएको विषयमा स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्ने बताए।

‘देश विकास र अर्थतन्त्र सुधारका लागि हामी सबै एक हुने बेला आएको छ,’ सपथ ग्रहणपछि राष्ट्रपति म्नागाग्वाले गरेको सम्बोधन उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

विपक्षी नेता चामिसाको विपक्षमा शुक्रबार फैसला गरेका देशका प्रधानन्यायाधीश लुक मालाबासहित अन्य आठ न्यायाधीशसमक्ष उनले आइतबार पद तथा गोपनियताको सपथ लिएको रोयटर्सले जनाएको छ।

जिम्बाब्वेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडीसी)ले म्नागाग्वा विजयी भएको परिणाम अस्वीकार गरेको थियो । विपक्षी गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भन्दै अदालतलमा मुद्दा दायर गरेको थियो । विपक्षीले दायर गरेको मुद्दाको विपक्षमा अदालतले शुक्रबार फैसला सुनाएपछि आइतबार म्नागाग्वाले आइतबार सपथ ग्रहण गरेका हुन्।

जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा निष्पक्ष रूपमा भएको र कुनै धाँधली नभएको जिम्बाब्वेको निर्वाचन आयोगले दाबी गर्दै आइरहेको छ । निर्वाचन सम्पन्न भएपछि र मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापी रूपमा हिंसा पनि मच्चिएको थियो । गएको नोभेम्बरमा ९४ वर्षीय पूर्वराष्ट्रपति रोबर्ट मुगावे सत्ताच्युत भएपछि जिम्बाब्वेमा पहिलोपटक संसद् र राष्ट्रपतिको निर्वाचन भएको हो । राष्ट्रपतिबाट मुगावे हटेदेखि तत्कालीन उपराष्ट्रपति म्नागाग्वा जिम्बाब्वेका राष्ट्रपति बनेका थिए ।    

जुलाई महिनामा सम्पन्न भएको निर्वाचनको मत परिणामअनुसार म्नागाग्वाले २४ लाख ६० हजार चार सय ६३ मत प्राप्त गरेका छन् । यो मत परिणाम जिम्बाब्वेको निर्वाचनमा खसेको कूल मतको ५०.८ प्रतिशत रहेको बताइएको छ।

त्यसैगरी विपक्षी नेता नेल्सन चामिसाले २१ लाख ४७ हजार चार सय ३६ अर्थात् ४४.३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगद्वारा सार्वजनिक परिणाममा जनाइएको छ । निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीले राजधानी हरारेमा गरेको प्रदर्शन दबाउन प्रहरी र सेनाले चलाएको गोली लागेर ६ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ११ भाद्र २०७५ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App