१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय उम्मेदवार भइसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण ८१ वर्षको उमेरमा शनिबार निधन भएको छ। भियतनाममा अमेरिकी सेनाका तर्फबाट युद्ध लडेका म्याक्केन सैनिक जीवनबाट अवकाश लिएसँगै राजनीतिमा आएका थिए। 

अमेरिकी राजनीतिमा आक्रामक स्वभाव भएका रिपब्लीकन पार्टीका वरिष्ठ नेता म्याक्केन कतिपय नीतिहरूमा पार्टी धारणाभन्दा भिन्न विचार राख्नेगर्थे। राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक म्याक्केन अमेरिकाको एरिजोना राज्यबाट छ पटक सिनेटमा चुनिएका थिए। राष्ट्रपतिमा रिपब्लीकनका तर्फबाट उम्मेदवार भएका म्याक्केन पूर्व राष्ट्रपति बाराक ओबामासँग पराजित भएका थिए। 

ओबामासँग चुनावमा पराजित भएपछि पनि म्याक्केनले राजनीतिबाट अवकाश लिएनन्। उनी पुनः सिनेटमा निर्वाचित भए। अमेरिकी राजनीति र राष्ट्रपतिका नीतिहरूमा खुला छलफल र कडा बहसमा उत्रन रुचाउने उनको पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विभिन्न विषयमा तीब्र मतान्तर रहेको थियो। 

सैनिक परिवारका म्याक्केनले संसदको सैनिक सेवा समितिको अध्यक्षको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी अमेरिकी सैनिकको व्यापक उपस्थिति विश्वमा रहनुपर्दछ भन्ने धारणा राख्दथे। 

सन् २०१७ मा उनले गरेको एउटा नाटकीय मतदान सदैब सम्झना गर्ने गरिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गर्न चाहेको जीवन बीमा सम्बन्धी चर्चित विधेयक “एफोर्डेबल केयर एक्ट” मा म्याक्केनले लामो छलफलपछि विपक्षमा मतदान गरेका थिए। त्यही एक मतका कारण ट्रम्पको प्रस्ताव बिफल हुनुका साथै ओबामाले ल्याएको ऐनले निरन्तरता पाएको थियो। 

म्याक्केनको निधनप्रति राष्ट्रपति ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत अन्य विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गर्दै अमेरिकाले एकजना इमान्दार र असल व्यक्ति गुमाएको प्रतिक्रिया दिएका छन्।  रासस

प्रकाशित: १० भाद्र २०७५ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App