१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढिले आधा दर्जन पुल बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य

नलगाड नगरपालिका ५ कालीमाटीको खोलामा हालिएको काठको लाप्कोमा जोखिपूर्ण यात्रा  गर्दे स्थानीय ।    तस्बिरः जनक/नागरिक

जाजरकोट – गत  साउन २९ गते परेको अविरल वर्षातका कारण जिल्लाको नलगाड नगरपालिकाका आधा दर्जन अस्थायी तथा पक्की पुलहरू बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य भएका छन्। एक दर्जन बढी गाउँ हुँदै बग्ने झुमरा खोलाको बाढीले उक्त खोलामा रहेका पुलहरू बगेपछि स्थानीय अस्थायी काठको लाप्कोमा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन्।

जिल्लाको पूर्वी भेगमा रहेको नलगाड नगरपालिकाका ५ वटा वडाका दर्जन बढी गाउँ मात्र नभई डोल्पा र जुम्लाबाट जाजरकोट हुँदै सुर्खेत नेपालगन्जको यात्रा गर्ने सर्वसाधारणले खोलामा राखिएका काठका लाप्कोहरूमा ज्यानको बाजी लगाएर यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन्। चारै तिरबाट खोलाले घेरिएको नलगाडका स्थानीयलाई एक गाउँबाट अर्काे गाउँमा जाँदा ज्यानकै बाजी लगाउनुपर्ने अवस्था आइपरेको नलगाड नगरपालिका ४ लहका स्थानीय हासीलाल पन्तले बताए।  उनले पुल बगाएका खोलामा बहाव बढी भएका कारण हालेका काठका लाप्कोहरू पनि बग्ने गरेको बताए।

उर्लदो खोलाहरूमा हालिएका काठको लाप्कोमा चढेर स्कुले बालबालिका विद्यालय जाने गरेको र वृद्धवृद्धा र  अपांगहरू  पनि सोहि लाप्कोको सहायताले गाउँमा आवातजावत गर्ने गरेको पन्तले बताए।  पुल नहुँदा  विभिन्न  आधा दर्जन विद्यालयका ४ सय बढी विद्यार्थी जोखिम मोलेर स्कुल जाने गरेको उनको भनाइ छ। बजार, स्कुल, सरकारी कार्यालय, मन्दिर र अन्य अति आवश्यक ठाउँमा जानका लागि खोला तर्नैपर्ने बाध्यता भएका कारण नलगाडका स्थानीयलाई पुल नहुँदा सास्ती  भएको छ।

वर्षातका कारण झुमरा खोला र अन्य खोलामा बाढी आउदा तीन वटा ट्रस व्रिज र चार वटा काठेपुल बगेका कारण नलगाडका एक दर्जन बढी  गाउँका २० हजार बढी स्थानीयलाई आवातजावतमा समस्या परेको छ। सबैभन्दा बढी स्थानीयबासी, व्यापारी, कर्मचारी, मजदुर र बाहिर जिल्लाका यात्रुहरूले प्रयोग गर्ने नलगाड नगरपालिका ५ कालीमाटीस्थित खोलाको बहाव झन झन बढ्न थालेको र त्यहाँ राखिएका काठका लाप्कोहरूपनि बग्ने खतरा देखिएको स्थानीय बताउछन। 

उता नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले अहिले अस्थायी रुपमा केही खोलामा काठको लाप्को हालेर काम चलाइएको र झोलुङगे पुल तथा अन्य पक्की पुल निर्माणका लागि नगरपालिकामा वजेट नभएका कारण केन्द्र सरकारसँग आवश्यक वजेट माग गरिएको बताए। उनले  खराब भुगोल भएका कारण एउटा पुल  बनाउन ३५ लाखसम्म लाग्ने भएकोले  प्रदेश सरकार र केन्द्र सरकारले सक्रियता नदेखाएसम्म नलगाडका जनताले सुरक्षित रुपमा यात्रा गर्न नपाउने बताए। 

स्थानीय सरकार भनेपनि वजेट केन्द्र र प्रदेशमै खिचिने गरेका कारण स्थानीय पूर्वाधार निर्माणमा आफूहरूको क्षमता नभएको मेयर रावलले बताए। उनले नलगाडमा भत्किएका पुल र पीडित जनताको लागि विभिन्न निकायसँग सहयोग मागिरहेको बताए। झुमरा खोलामा आएको बाढीले स्थानीयका धान खेत,घर,घटट, घुम्ती र अन्य पशु चौपाया बगाउदा करोडौंको क्षति भएको रावलले बताए। 

प्रकाशित: ९ भाद्र २०७५ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App