१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

एक सच्चा मार्क्सवादी

‘समिर आमिन मरेछन’, उज्वल प्रसाइँले सुनाउनु भयो। ‘कहिले ?’, सोधें मैले। उहाँले थप्नुभो, ‘सायद हिजो दिउँसो। समाचार भने आज मात्र बाहिरिएको छ।’ 

कार्यक्रम सकिएर डेरा फर्केपछि खबरहरु हेरेँ, उनी १२ अगस्त (२७ साउन) मा दिवंगत भएछन्। सेतै फुलेका, सिमलको भूवाझैँ हलुका, मुलायम लाग्ने केश राशी मुनि गहुँगोरो वर्णको हँसमुख अनुहार भएका अमिनलाई मैले पहिलोपटक भारतको मुम्बईमा सम्पन्न ‘वल्र्ड शोसल फोरम’को कार्यक्रममा नजिकैबाट देख्ने र सुन्ने मौका पाएको थिएँ। कार्यक्रम सकेर उनी दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालय आएका थिए। जेएनयुले उनको एउटा प्रवचन कार्यक्रम गरेको थियो। त्यसक्रममा प्रोफेसर प्रभात पटनायकले म लगायत केही साथीलाई उहाँसँग चिनजान गराइदिनु भएको थियो। 

छोटो भलाकुसारीमा मैले उनका केही महत्वपूर्ण किताव पढि सकेको र प्रभावित भएको बताएको थिएँ । नेपालको कम्यूनिष्ट आन्दोलन खासगरी माओवादी आन्दोलनलाई नियालिरहेको उनले बताएका थिए ।

दिल्ली हुँदै चेकोस्लोभाकियाको राजधानी प्राग जाँदै गर्दा तत्कालिन स्टुडेण्ट फेडरेशन अफ इण्डिया (एसएफआइ) का महासचिव निलोत्पल वशुले (पछि उनी सिपिएमवाट राज्यसभा र लोकसभा सदस्य पनि निर्वाचित भए) आफुले पढ्दै गरेको किताव देखाउँदै सोधेका थिए, समीर आमिनको ‘फ्युचर अफ माओइजम’  पढेको छस् ?  

मैले भनें,  ‘नेपालमा यस्ता किताव कहाँ पाउनु?’ 

‘यो एशियाली बिद्यार्थी र राजनीतिक कार्यकर्ताले पढ्नै पर्ने किताव मध्ये एक हो’, उनले भने। १ सय ५० पृष्ठको त्यो पुस्तक प्राग पुग्दानपुग्दै वशुले सिध्याए र मलाई उपहारस्वरुप दिए। तर त्यतिवेला अंग्रेजी माथि मेरो कमाण्ड कमजोर भएकाले काठमाडौं फर्केपछि साथमा डिक्सनेरी राखेर एकहप्ता लगाएर, दोहोर्‍याएर पढेको थिएँ। साँच्चै भन्नु पर्दा कोर्सका किताव बाहेक अंग्रेजी भाषामा लेखिएको राजनीतिक पुस्तकको पढाई चाख र मेहनत गरेर मैले पढेको त्यो पहिलो पुस्तक थियो। यो सन् १९८२ को कुरा थियो। 

मैले पढेको त्यो किताव तीन भागमा विभाजित थियो। पहिलो भागमा समाजवादी, यथास्थितीवादी र पूँजीवादी तीनवटा वेग्लावेग्लै अर्थ राजनीतिक व्यवस्थाका मोडलहरुमा उत्पादक शक्तिको विकास कसरी हुन्छ भन्ने व्याख्या गरिएको छ। भिन्नभिन्न व्यवस्थामा अपनाइने उत्पादक शक्ति निर्माणका रणनीतिको तुलनात्मक अध्ययन सायद त्यो पहिलो थियो। 

दोश्रो भागमा त्यतिवेलासम्म चिनियाँ मोडलको ऐतिहासिक रुपरेखा पनि तुलनात्मक रुपमै बहसमा ल्याइएको थियो। सन् १९५० देखि ८० सम्म सोभियत, चीन र तेश्रो विश्व खासगरी भारतीय विकास गतिविधिबारे व्याख्या गरिएको थियो। माओपछिको आर्थिक, सामाजिक रुपान्तरण वा नयाँ कोर्सबारे पनि चर्चा गरिएको थियो। र, तेश्रो भागमा ‘माओवाद कि संसोधनवाद’ भन्ने बिषयमा उनले खरो चर्चा गरेका थिए। म त्यतिवेला रुसपन्थी पार्टी भनेर चिनिएको नेकपाका कार्यकर्ता थिए। मैले धैर्यतापूर्वक किताव पढेँ र त्यस पुस्तकमा उठाइएका प्रश्नहरुको हल खोज्न अन्य पुस्तकको खोजीमा भौँतारिए। वास्तवमा किताव पढ्ने, प्रश्न गर्ने वा वैकल्पिक तर्क निर्माण गर्ने कामको सुरुवात मैले त्यही पुस्तक पढे पछि गर्न थालेको हो भन्ने आजको मेरो आफ्नैबारेको ठम्याई हो।

०००

एमालेको पाँचौ महाधिवेशन (सन् १९९२, तदनुसार २०४९ माघ) को वरपर हुनु पर्छ, वागवजारको कुनै एक कोठामा डिपेण्डेन्सी थ्यौरी माथि सानो छलफलमा सहभागी हुने अवसर जुट्यो। प्राध्यापक चैतन्य मिश्रले यो बृहत बिषय माथि प्रकाश पार्नु भएको थियो। मैले उहाँको मुखवाट आमिन बाहेक जियोभानी अरिघि, आन्द्रे गुण्डरफ्रेन्क तथा इम्यानुयल वालरस्टेनको नाम पहिलोपटक सुनें। यिनका किताव खोजी गरेँ। त्यहिताका अमेरीकावाट भर्खरै फर्केका एमाले नेता तथा सांसद झलनाथ खनालले ल्याउनु भएको समीर आमिनको ‘डिलिङ्किङ’ पढ्न पाइयो। त्यो पुस्तक सन् १९९० मा छापिएको शक्तिशाली पुस्तक मध्य एक थियो।  

मिश्र सरको चर्चित लेख, ‘डेभलोपमेन्ट एण्ड अण्डरडेभलोपमेन्टः अप्रिलिमिनरी सोसोलोजिकल प्रस्पेक्टिभ’ मैले बहुदल आए पछि मात्र पढ्ने अवसर जुर्‍यो। सँगसँगैजसो महेश चन्द्र रेग्मी हिष्ट्री अफ पोलिटिकल इकोनोमी र ल्याण्ड टेनियर सिष्टममा प्रवेश गरियो। कनिकुथि क्लासिकल माक्र्सवादका हिन्दी र नेपालीमा केही पुस्तक पढेको मैले धेरै पछि मात्र क्रिटिक अफ वल्र्ड क्यापिटालिजम, डिपेण्डेन्सी एण्ड वल्र्ड सिष्टम थ्यौरी, ग्राम्सिजम, नियो–माक्र्सीजम र पोष्ट–माक्र्सिजम जस्ता बिषयमा लेखिएका पुस्तक तथा जर्नल आर्टिकल क्रमशः पर्गेल्ने अवसर मिल्दै गयो। जेएनयुमा पढ्ने माहोल थियो, सवैले धेरथोर पढ्थे। पढ्न प्रेरित गर्ने मात्र होइन, कसरी पढ्ने ? कसरी समीक्षा गर्ने ? कसरी आफ्नै  परिवेशमा भईरहेका परिवर्तनलाई केलाउने भन्नेमा समेत समकालिन बिद्यार्थी साथीहरु र सरहरुवाट सिक्ने मौका मिल्यो। 

काठमाडौंमा प्राध्यापक पिताम्वर शर्मा र प्राध्यापक चैतन्य मिश्रसँगको समय समयमा गरिएका वार्तालापकै प्रभावले हुन सक्छ ‘डिपेण्डेन्सी एण्ड वल्र्ड सिष्टम थ्यौरी’ नै पहिलो प्राथमिकतामा परे। त्यसैले त्यस अवधिमा माथि उल्लेखित नाम फ्रयाङ्क, वालरस्टेन, अरिघि लगायत बेरी गिल्स, वीलियम आर थोम्पसन, गिल स्टेन, पेटरवेल्स आदिका कृति पनि पढ्न भ्याइए।

आमिनले फ्रेन्च भाषामा ६० कै दशकमा डेभलोपमेन्ट माथि किताव लेखेका थिए। तर, अंग्रेजीमा प्रकासित पहिलो किताव भने १९७१ मा छापिएको नियो–कोलोनियालिजम इन वेष्ट अफ्रिका मानिन्छ। सत्तरीकै दशकमा उनले  एकुमुलेशन अन अ वल्र्डस्केल (१९७४), अनइक्वाएल डेभलोपमेन्ट : एन एस्से अन दी शोसियल फरमेसनस अफपेरफेरल क्यापिटालिजम(१९७७), द ल अफ भ्यालु एण्ड हिष्ट्रोरिकल म्याट्रियालिम (१९७८) हुन । युरो सेन्ट्रिजम, क्यापिटालिजम इन द एज अफ ग्लोवलाइजेशन, ओब्सोलस्केन्ट क्यापिटालिम, द लिवरल भाइरस, पर्मानेनट वार एण्ड अमेरिकनाइजेशन अफ वल्र्ड, माल डेभलोपमेन्ट–एनाटोमी अफ अ ग्लोवल फेलियोर, इम्पेरलिजम एण्ड ग्लोवलाइजेशन, दी इम्पोल्जन अफ कन्टेम्पोररी क्यापिटालिजम लगायत उनका झण्डै तीन दर्जन जति किताव छापिएका छन।  

०००

इकोनोमिक्समा पिएचडी सिध्याएर स्वदेश फर्केका आमिनले ग्यामेल अब्देल नाशेरको इजिप्टमा इन्सिच्युट फर इकोनोमिक म्यानेजमेन्ट (सन् १९५७–६०), मा पहिलोपटक पेशागत काम सुरु गरेका थिए। त्यसपछि माली सरकारको मिनिष्ट्री अफ प्लानिङ्गमा सल्लाहकारका रुपमा ३ बर्ष (सन् १९६०–६३) सम्म काम गरे। यी ६ बर्षका सरकारी अनुभव पछि उनले आफ्नै इजिप्ट लगायत अफ्रिकी राज्यहरुमा आफ्नै किसिमका विकासको पहलकदमी सुरुवात कसरी गर्न आवश्यक छ? भन्ने बिषयमा गहिरोसँग काम गर्नु पर्ने खाँचो रहेको बताए। उनले शक्तिसाली साम्राज्यवादी मुलुकहरु खासगरी अमेरीकाको अगुवाईमा कसरी एकाधिकार पूँजीवाद स्थापित गर्छ र तेश्रो विश्वका मुलुकमा कसरी समृद्धि र विकास अवरुद्ध हुन्छ भन्ने खासगरी इजिप्ट, माली, गिनी र घानाको अनुभवलाई सँगालेर लेखे। 

विश्वका धनाढ्य राष्ट्रहरुको ओलिगोपोलिष्ट शासनमा ५ वटा मूलभूत बिषयमाथि एकाधिकार जमाउँछन्। पहिलो, प्रविधिमाथि नियन्त्रण, प्राकृतिक स्रोत माथिको पहुँच, वित्तिय ब्यवस्थामाथि एकाधिकार, ग्लोवल मिडिया माथिको एकाधिकार र आणविक हतियार वा विध्वंसात्मक क्षमता माथि एकाधिकार जमाएका छन। यस्ता एकाधिकारले तेश्रो विश्वका नवोदित राष्ट्रहरु हुन या पुराना लगभग सवैजसो देश असमान विनिमय प्रणालीका र अछुत तुल्याइन्छन र औद्योगीकरणवाट बञ्चित गराइन्छन भन्ने उद्घाटित गरे। यो विचार प्रवाह पछि डिपेण्डेन्सी थ्यौरीका प्रवर्तक माझ उनी अझ बढी स्थापित हुन पुगे। उनी र आन्द्रे गुण्डर फ्रेङ्क सहितको टिमले केन्द्र (सेन्टर) र परिधि (पेरीफेरीज) अर्थात धनाढ्य पूँजीवादी मुलुकहरुले आफुलाई केन्द्रका रुपमा कसरी स्थापित गरे र तेश्रो विश्वका मुलुकहरु कसरी परिधि वा कच्चा पदार्थका सप्लायर बन्न पुगे कसरी शोषणको नयाँ रुप स्थापित हुन पुग्यो? भन्ने कुराको गहिरो बिश्लेषण पर्खिए। 

सन् १९७० मा छापिएको पुस्तक ‘एकुमुलेशन इन दी वल्र्ड स्केल’मा कसरी एउटै प्रणाली भित्र शक्तिशालीहरुले धन आर्जन गर्छन र कमजोर कसरी दरिद्रताको जालोमा फस्छन भन्ने बर्णन गरेका छन्। 

०००

आमिनले असीको दशकमा  ‘डिलिंकिङ’ (अलग–थलग) शब्द अगाडि सारे। यो ‘डिलिंकिङ’ उनले दक्षिणका मुलुकहरुलाई पूँजीवादी साम्राज्यवादी भूमण्डलीकरणवाट आफ्नो मुलुकलाई अलग राख भन्ने कुरा नै थियो। माथि उधृत गरिएझैँ असमान विनिमय प्रणाली स्थापित गरेर सस्तोमा मजदुर र कच्चा पदार्थ हासिल गर्ने परिपाटीले उत्पादकत्व होइन ‘कुत (रेन्ट)’ बटुल्ने प्रबृति जन्माउँछ। आम मानिसको समान विकास वा समान समृद्धि हुँदा सस्तो मजदुरी र सस्तो कच्चापदार्थ प्राप्त गरिरहन संभव हुँदैन। त्यसैले मुलुकभित्र असमानताको खाडल नीतिगत र संस्थागत रुपमा खन्नु पर्ने हुन्छ। यसको अर्थ प्रजातन्त्र तथा प्रजातान्त्रिक संस्थाहरुको भष्ट्रिकरण गर्नु पर्ने हुन्छ। निर्वाचन उच्च धनाढ्य बर्ग (कूत खाएर जम्मा गरेको सम्पत्तिमाथि उभिएको बर्ग) को खेलौना बन्न पुग्छ। संस्थाहरुलाई भष्ट्रिकरण गर्न त आइएमएफ, वल्र्डबैंक, डब्लुटिओका आफ्नै  स्वार्थहरु प्रयाप्त हुने गर्छन जसको सिधासिधा स्वार्थ धनाढ्य पूँजीवादी मुलुकहरुसँग जोडिएका छन। यस अर्थमा तेश्रो विश्वका मुलुकहरुवीच आफ्नै समृद्धि र विकासको अलग धार निर्माण गर्न आवश्यक छ, उत्पादन वितरण र बजार ब्यवस्थापनका लागि सहकार्य र ऐक्यबद्धता आवश्यक छ। आजको विश्व अर्थतन्त्रमा जुन ढंगले पूँजी सञ्चिती केन्द्रिकृत हुँदै धनाढ्य पूँजीवादी देशहरुमा त्यसमाथि पनि १ प्रतिशत धनीहरुकोमा थुप्रिने क्रम जारी छ यसले त्यही र त्यत्तिकै अनुपातमा दक्षिणका मुलकुमा चरम गरिबी, चरम असन्तुष्टि, त्यसपछि  बिद्रोहहरु निम्त्याई रहेको देखिन्छ। 

तीन दशक अघि नै आमिनले तेश्रो विश्वका मुलुकहरुका पक्षमा गरिएको संभावनाको सैद्धान्तिकरण आज व्यवहारमै पुष्टि भएका छन्।

०००

आमिनले पूँजीवादलाई ‘कोष्ठभित्रको इतिहास’ भनेर दुई दशक अघि नै उल्लेख गरेका थिए।  उदारवादी पूूँजीवादको (लिवरल क्यापिटालिजम) नाममा अगाडि सारिएको आधुनीकिकरणले अधिकांस साना र मझौला उत्पादकहरुको आम रुपमा हत्या हुन पुग्यो। उनी भन्छन ‘नवउदारवादी सुधार भए पछि संसारका दुई करोड कृषि उत्पादक (तिनीहरुमा आश्रित ५० करोड मानिसहरु) उत्पादनको मूल कर्मबाट बाहिरिए। यो क्रम जारी छ।  उनीहरु अहिले विना काम वाला श्रमिक (अनइम्ल्वाइड लेवर) मा रुपान्तरित भएका छन र नवधनाढ्यहरुले तिनलाई दासको व्यवहार गर्छन्। 

अर्को शब्दमा सार्वभौम, स्वतन्त्र, विवेकशील मानिस÷मजदुर विक्रिको वस्तु (क्रय–बिक्रयको साधन) बनाइएको छ (हेर्नुहोस, लिवरल भाइरसः पर्मानेन्ट वार एण्ड दी अमेरिकनाइजेशन अफ दी वल्र्ड)। आज उदारवादी पूँजीवादीहरु अर्थराजनीतिक शास्त्रीहरुले नै पूँजीवाद लोभ र लाभका कारण ‘उदारवादी प्रजातन्त्रको हत्या’, ‘उदारवादी पूँजीवादको मृत्यू’, लेखिरहेका छन् उनी यसका असफलताका लक्षणवारे उनले तीन दशक अघि नै बताएका थिए।

आमिनले ऐतिहासिक भौतिकवाद (हिष्टोरिकल म्याटेरियालिम) माथि थप सैद्धान्तिक योगदान गरेका छन्। उनका विचारमा ऐतिहासिक भौतिकवाद विचार निर्माण तथा भौतिक आर्थिक विकासका लागि संस्थागत विकासको जग बसाल्ने साधन हो। अर्को शब्दमा पूँजीवाद भित्र हुने पूँजीको हैकम (डोमिनेशन अफ क्यापिटालिजम) र शोषणको गतिशीलता (डाइनामिक्स अफ एक्सप्ल्वाटेशन) बुझ्न पनि यो महत्वपूर्ण साधन बन्नु पर्छ। 

युरोपमा लादिएको सर्वसाधरणलाई उपलब्ध गराउँदै आएको सुविधा कटौती (अष्टेरिटी मिजर्स) होस वा अमेरिकामा भएको क्वान्टिटेटिभ एजिङ मार्फत बैंकहरुलाई रेस्क्यु गरिएको घटनाहोस आम सर्वसाधरण नागरिकलाई पछि पार्नकै लागि गरिएका अभियान नै हुन। त्यसैले विकास र समृद्धिका कस्ता एजेण्डा ? आर्थिक बृद्धिका लागि कतिवटा स्टेज बनाउने भन्ने विश्व आर्थिक मञ्चमा रहेका विकासका ठेक्केदारसँग होइन, आफ्नै जनतासँग छलफल र बहस गरेर तय गर्नु पर्छ। उनले यो निश्कर्ष हचुवामा सुनाएका थिएनन्। ७० बर्ष देखि आएएमएफ, वल्र्ड बैंक, अनेकन विकास कमिसनका रिपोर्ट तिनले गरेका सुझाव र सल्लाहका असफलतालाई आँकलन गरेर नै उनले लेखे। 

०००

कार्ल मार्क्स जन्मिएको दुई सय वर्ष पुगेको अवसरमा मे महिनाको मन्थली  रिभ्यूमा प्रकशित उनको ‘रेभ्यूलेशन अर डेकाडेन्स?’ कम्यूनिष्ट घोषणापत्रको एउटा वाक्य जसलाई उनले उधृत गरेका छन् सारै घतलाग्दो छ, ‘वर्ग संघर्षको परिणाम या त सारा जनताको पक्षमा समाज परिवर्तन हुने गरी क्रान्ति भएर देखा पर्छ या त श्रमजिवी जनताको चिहान भएर देखा पर्नेछ।’ 

कार्ल मार्क्स जन्मिएको दुई सय वर्ष पुगेको अवसरमा मे महिनाको मन्थली  रिभ्यूमा प्रकशित उनको ‘रेभ्यूलेशन अर डेकाडेन्स?’ कम्यूनिष्ट घोषणापत्रको एउटा वाक्य जसलाई उनले उधृत गरेका छन् सारै घतलाग्दो छ, ‘वर्ग संघर्षको परिणाम या त सारा जनताको पक्षमा समाज परिवर्तन हुने गरी क्रान्ति भएर देखा पर्छ या त श्रमजिवी जनताको चिहान भएर देखा पर्नेछ।’  उनी निराशावादी कहिले देखिएनन् र संघर्षवाट पछि हटेनन्। 

सन् १९३१ मा इजिप्टको राजधानी कायरोमा इजिप्सीयन बाउ र फ्रेन्च आमाको कोखवाट जन्मिएका समिर आमिनले हाइस्कूल पछिको उच्च शिक्षा फ्रान्समै हाँसिल गरे। बिद्यार्थीकालमा फ्रान्स कम्यूनिष्ट पार्टीको सदस्य भएर काम गरे। पढाई सिद्धिनासाथ उनी मुलुकको मुहार फेर्न इजिप्ट आए। गमल अब्देल नाशेरको राजनीतिले कम्यूनिष्ट पार्टी सहेन उनी त्यसपछि प्रवासिए र माली पुगे। तीन वर्ष पछि सन् १९७० मा सेनेगलको डकारमा युएनको अफ्रिकी डेभलोपमेन्ट प्लानिङको डाईरेक्टर भएर झण्डै एक दशक काम गरे। युएनसँग विकास एजेण्डामा मत नमिले पछि, काउन्सिल फर दी डेभलोपमेनट अफ सोसल साइन्स रिसर्च इन अफ्रिका नाम गरेको एउटा शसक्त एकेडेमिक इन्स्टिच्युट निर्माण गरे जो छँदैछ। आफु भने थर्डवल्र्ड फोरमको डाइरेक्टर भएर जीवन पर्यन्त काम गरिरहे। 

उनले संसारका युवाहरुलाई बहुसंख्यक समाजप्रति जिम्मेवार हुन, ऐतिहासिक भौतिकवादी आँखाबाट हेर्न र मुल्यांकन गर्न, मानवीयता र समानता स्थापित गर्न संगठित भएर संघर्ष गर्न आग्रह गरीरहे

मूलधारका अन्य अर्थशास्त्रीहरु जो कोर (धनाढ्य पूँजीवादी मुलुकमा) मा बसेर दोश्रो र तेश्रो विश्वलाई निर्देशन वा आफ्नो ढंगको निर्देशन प्रवाहित गरिरहन्छन र गरिव देशका योजनाकार ग्रहण गरि रहन्छन त्यो प्रवृतिवाट आमिन अलग रहे। नसकेर, नपाएर होइन। समाजप्रति, बहुसंख्यक मानिसप्रति जिम्मेवार हुन उनी तेश्रो विश्वमा रहे। उनको बौद्धिकताले पूँजीवादी साम्राज्यवादीलाई बेस्सरी पोल्यो, पोलिरहनेछ। 

उनलाई होच्याउन, बंग्याउन, बिथोल्न र अपमान गर्न नखोजिएको होइन तर उनी सत्तिशालझै माक्र्सवादी समाजवादका पक्षमा अटल उभिईरहे। अमिन ८६ वर्षको उमेरमा अस्ताए। उनले संसारका युवाहरुलाई बहुसंख्यक समाजप्रति जिम्मेवार हुन, ऐतिहासिक भौतिकवादी आँखाबाट हेर्न र मुल्यांकन गर्न, मानवीयता र समानता स्थापित गर्न संगठित भएर संघर्ष गर्न आग्रह गरीरहे। ति अग्रज मानवतावादी सच्चा माक्र्सवादी श्रष्टामा भावपूर्ण श्रद्धान्जली! 

प्रकाशित: ९ भाद्र २०७५ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App