१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कटहरिया नगरपालिकामा करोडौँकाे अनियमितता भएकाे जनप्रतिनिधिकाे अाराेप

रौतहट- रौतहटको कटहरिया नगरपालिकामा करोडौँको भ्रष्टाचार भएको अाराेप नगरपालिकाका जनप्रतिनिधिहरुले लगाएका छन्। नगरपालिका प्रशासकीय अधिकृत र लेखापाल मिलेर करोडौँको भ्रष्टाचार गरेको आरोप उनीहरुले लगाएका हुन्।

कटहरिया नगरपालिकाका निर्वाचित मेयर सियाराम कुशवाहा फिरोज कर्तव्य ज्यान मुद्दामा अदालतको फैसला अनुसार कारागार चलान भएपछि प्रशासकीय अधिकृत र लेखापालले बजेट तथा योजना आफूखुसी चलाएर करोडौँ अनियमितता गरेकाे  उनीहरुले अाराेप लगाएका हुन्। प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनी र लेखापाल राजेश्वर कुशवाहाको मिलोमतोमा विकास निर्माण लगायत विभिन्न योजनाहरुमा आर्थिक चलखेल गरेर गुणस्तरहिन कार्य गरेर करोडौं रुपैयाँ अनियमितिता गरेको आरोप जनप्रतिनिधिहरुले नै लगाउन थालेपछि कटहरियाका स्थानीयबासी समेत आक्रोशित बनेका छन्।

आर्थिक बर्ष २०७४/०७५ मा भएका विभिन्न विकास निर्माण कार्यमा नक्कली बिल बनाएर निमित्त प्रशासकीय अधिकृत सहनी र लेखापाल कुशवाहाले करोडौं रुपैया अनियमितता गरेकाे एक वडाध्यक्षले आरोप लगाए। नगरपालिकाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन अनुसार भएको खर्चको यथार्थ विवरण अधिकृत सहनी र लेखापाल कुशवाहासंग पटक पटक माग गर्दा  पनि आलटाल गरेको र सार्वजनिक पनि नगरेको वडा अध्यक्ष सरफलाल गुप्ताले बताए।

नगरपालिकाको कुल बजेट ३१ करोड, ४६ लाख, ६ सय ९२ रुपैयाँ खर्च भएको तथ्यांक प्रस्तुत भए पनि उक्त खर्चको पुर्ण बिवरण हालसम्म कार्यकारिणीको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सहनीले पेस नगरेको वडा अध्यक्ष साहले बताए। कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले पनि खर्चको बिवरण पटक पटक माग गरे पनि अधिकृत सहनी र लेखापाल कुशवाहाले अटेर गर्दै एक महिना बढी समय बितिसक्दा समेत सार्वनजिक नगरेको आरोप लगाइन।

कटहरिया नगरपालिकाका मेयर कुशवाहा गत वैशाख महिनामा कारागार चलान भएपछि उपमेयर स्वतः कामकाजी प्रमुख हुनुपर्ने तर अधिकृत सहनी र लेखापाल कुशवाहाले आफूखुसी बजेट संचालन गर्ने तथा उपभोक्ता समूह बनाई जथाभावी रकम वितरण गरेर करोडौँ रुपैया कमिसन लिएको आरोप स्थानीयबासीको छ। गुणस्तरहीन काम गराएर र कामै नभएको बिल भरपाई बनाएर नगरको करोडौँ रुपैया अपचलन गरेको आरोप जनप्रतिनिधिहरुले नै लगाएका हुन्।

कार्यवाहक मेयर खातुनसहित विभिन्न वडाका अध्यक्षहरुले विगतको आर्थिक बर्षमा भएको खर्चको विवरण माग गर्दा अधिकृत सहनी र लेखापाल कुशवाहाले कर्मचारीहरुलाई उक्साएर आन्दोलन नै गराएका थिए। काम र खर्चको विवरण माग गर्दा अधिकृत र लेखापालले कर्मचारीलाई उचालेर केही साताअघि नगरपालिकाको कार्यालयमा तालाबन्दी नै गराएका थिए।

तत्कालीन नेकपा एमालेबाट कटहरिया नगरपालिकाको मेयर प्रत्यासी योगेन्द्र साहले नगरपालिकाले गत आर्थिक बर्षमा प्रस्तुत गरेकाे खर्चको तथ्यांकका बिभिन्न ११ शिर्षकमा अधिकृत र लेखापालले करोडौं अनियमिता गरेकाे आरोप लगाएका छन्। तलव, भता, गाडी तथा घर भाडा, ईन्धन खरिद, सञ्चालन तथा मर्मत संभार, कार्यालय सम्बन्धी खर्च, तालिम तथा गोष्ठी जस्ता कार्यक्रमको नाममा नक्कली विल बनाएर उक्त रकम अनियमितता गरेको आरोप स्थानीयबासीको रहेको छ। 

यता लेखापाल कुशवाहले इन्धनमा केही जनप्रतिनिधीले नै रकम दुरुपयोग गरेको बताउँदै अन्य शिर्षकमा कुनै अनियमितता नभएको दावी गरे। यसैगरी निमित्त प्रशासकीय प्रमुख सहनीले आफु कटहरियाको लागि नयाँ भएकोले खासै जानकारी नभएको र नगरमा कुनै भ्रष्टाचार नगरेको बताए।

 

प्रकाशित: ८ भाद्र २०७५ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App