१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सडक फराकिला बन्दैमा सहरको विकास हुन्न’

जगदीश अधिकारी (जय), हाँस्य कलाकार

तपाईको बुझाईमा सहर केहो ? 
सहर सुविधायुक्त आर्कषक ठाउँ हो । सहरमा देखिने हरेक दृश्यहरु ‘वाव’ भन्ने किसिमका हुन्छन् । सहरको विकास र सुरक्षा सबैभन्दा चुस्त हुन्छ । पुराना मौलिक कला संस्कृतिलाई संरक्षण गरेर राखिएको हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मलाई पोखरा मनपर्छ । यो सहर नेपालकै चिनारी हो । अहिलेको स्थितिमा यत्तिको सफार र सुन्दर सहर नेपालमा छैन भन्दा पनि हुन्छ । पोखरा धुवाँधुलो रहित छ । सहर प्राकृतिक छ । त्यहाँ घुम्ने मार्गहरू पनि बढी छन्। 

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं आफैमा नराम्रो सहर होइन । प्रकृतिले यो ठाउँलाई संसारका अन्य सहरमै नभएको अनुपम सुन्दरता र सम्भावना दिएको छ । प्राचीन कला–संस्कृतिले भरिएको छ । तर, मानव निर्मित पक्ष राम्रो भएन । हामीले गरेका काम कमजोर भए । सहरलाई सुहाउने र सहरको अस्तित्व बचाउने किसीमका काम कमै मात्रै भए । सुविधाको हिसाबले यहाँ हरेक थोक पाइन्छ । मात्रै हामीले यसलाई व्यवस्थित पार्न सकिरहेका छैनौँ।

काठमाडौं कसरी व्यवस्थित बन्ला ? 
सबैले सडक चौडा पारेर सहरको विकास हुन्छ भन्ने सोचिरहेका छन् । सरकारले पनि सडक फराकिलो बनाउँदै गएको छ । तर, सडक चौडा भएर सहरको विकास हुने होइन । युरोप अमेरिकाकामा सडक फराकिला भएर सहर विकसीत व्यवस्थित भएका होइनन् । त्यहाँको ‘पोलिसी’ राम्रो भएर हो।

हाम्रो देशलाई पनि व्यवस्थित पार्न सहरको व्यवस्थापन पक्ष चुस्त हुनुपर्याे । नागरिकमा चेतना हुनुपर्याे । अर्को कुरा, सहर विकासको जिम्मा सहरवासी र सरकारी निकायले लिन सक्नुपर्छ । सहर बनाउने अभिभारा त्यहाँको सरकार र नागरिकले बोकेको हुनुपर्छ । सरकारी निकायले सही समयमा सही काम गर्ने । नागरिकहरू चेतनशील र सहरको विकारबारे चनाखो हुने । जिम्मेवार निकायलाई खबरदारी गर्न सक्ने हैसियत राखेर विकासका काममा सहभागी हुने हो भने सहर बन्छ। 

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
मैले लण्डन, फ्रान्स, पोर्चुगल, चीन, मलेशीया, थाइल्याण्डलगायत देशका सहर राम्ररी घुमेको छु । म पुगेका सहरमा फरक–फरक विशेषता पनि पाएँ । युरोपका सहर आफ्नै किसिमका छन् । त्यहाँका सहरमा प्राचीनकालीन सम्पदा जोगाएर राखिएको छ । अन्य सहर पनि आफ्नै मौलिकतामा बनेका छन्।

हाम्रो देशको तुलनामा विदेशी सहर धेरै सुन्दर छन् । त्यहाँ विकास छ तर प्रकृति दोहन गरिएको छैन । प्रकृति र मौलिकतालाई ध्यानमा राखेर सहरको विकास गरिएको छ । हाम्रोमा सहर विकासका नाममा हरियाली मासिएको छ । रूखहरू काटिएको छ । कम्तीका पुराना रूख काटेपछि नयाँ त रोप्नुपर्ने हो, त्यो पनि भएको छैन । सबैतिर विनाश पार्ने काम मात्रै भइरहेका छन्। 

सहरमा कलाकारिता गर्न कत्तिको सहज छ ?
सहज नै छ । तर, सहर अस्तव्यस्त भएकोले यहाँका मौलिक पक्षहरु लोप हुने क्रममा छन् । हामीले कलाकारिता ‘मोर्डन’ सँगै पुरानो मौलिकतालाई पनि खोज्छौं।

सहरलाई व्यवस्थित पार्न सरकारी निकायले कसरी काम गर्नुपला ? 
सरकारमा बस्नेले आँट गर्नुपर्छ । पारदर्शी भएर काम गर्नुपर्छ । सदन र सडकलाई व्यवस्थित पार्नुपर्छ । हाम्रा सहर बिग्रनुको मुख्य कारण सदन ठीक नहुनु हो । जबसम्म सदन ठीक हुन्न, त्यहाँको सडक पनि व्यवस्थित होला भनेर नचिताए हुन्छ।

कानुनी व्यवस्थालाई पालना गर्ने, विकास निर्माणका काममा भागबन्डा नलगाउने, अग्ला र अव्यवस्थित भवन निर्माण रोक्ने र सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामजस्ता पक्षलाई केन्द्रमा राखेर काम गर्ने हो भने सहर अलि व्यवस्थित हुन सक्ला। 

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँको मौसम सदावहार लाग्छ । ऐतिहासिक मठ–मन्दिर, दरबार, मौलिक पहिचान बोकेका सम्पदा लगायत पक्ष पनि सुन्दरे लाग्छ । नेपाल सानो र सुन्दर छ । मात्र यहाँको सरकार कमजोर भएको हो । यसलाई बनाउन जरुरी छ। 

मननपर्ने पक्ष ?
काठमाडौंमा प्रदुषण बढीरहेको छ त त्यसलाई कम गर्न सरकारी निकायले गरेको प्रयास निकै कमजोर छ । ट्राफिक जाम, अव्यवस्थित सडक र भीडभाडले काठमाडौंलाई अस्तव्यस्त बनाएको छ । यदी उपत्यकाका अन्य जिल्लामा रोजगार सिर्जना गरेर बाहिरका मानिसलाई घर फर्काउन सकियो भने काठमाडौं केही खुकुलो बन्छ।

काठमाडौंलाई कुरूप बनाउने पक्ष के देख्नुहुन्छ ? 
मलाई काठमाडौं ठुल्ठूला काम रोकिए र वा नभएर बिग्रिएको हो जस्तो लाग्दैन । काठमाडौं बिग्रिएको साना–साना कुराले हो । यहाँको सरकारको काम गराई शैली नमिलेर सहर बिग्रिएको हो। 

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
काठमाडौं स्वर्ग हो । यहाँको प्राकृतिक सुन्दरता संसारमै छैन । यतिधेरै राम्रा पक्ष हुँदाहूँदै पनि हामीले राम्ररी काम गर्न सकेका छैनौं । म बसेको सहर यस्तो होस्–सहरवासीमा एकताको भावना होस् । सबै मिलेर बसेको देख्न पाइयोस् । सहरमा सबैखाले सुविधा लिन झन्झट व्यहोर्न नपरोस् । हरियाली देख्न पाइयोस् । कहिलेकाहीँ आफन्तसँग भेटिएर भलाकुसारी गर्ने पार्क होऊन्। 

सहरवासीको बानी व्यवहार कस्तो लाग्छ नि ?
सहरवासी चेतनाशील छैनन् । सहर सफा गर्छु भन्ने भावना सहरवासीमा छैन । सहरमा बस्ने अधिकांश गैरजिम्मेवार छन् । भएका नियम मिच्ने, नटेर्ने, फोहोर जथाभावी फाल्ने, दोषजति सरकारलाई थुपार्नेेजस्ता गलत प्रवृत्ति सहरवासीमा छन्। 

उपत्यकानजिकै कतै घुम्न जानुपर्याे भने कुन ठाउँ रोज्नुहुन्छ ?
ककनी, धुलिखेल, किर्तिपुर, शाँखु, सुन्दरीजल, शिवपुरीलगायत ठाउँ मनपर्छ।

मन भएर पनि पुग्न नपाएको ठाउँ कुन हो ?
मलाई मेरै देशको रारा र तिलिचो ताल पुग्न मन छ।

काठमाडौंको मनपर्ने खानेकुरा के हो ?
यहाँको सबैखाले खानेकुरा मीठो लाग्छ । अझ बढी त नेवारी परिकार र मम मिठो लाग्छ।
                                                                                                                    प्रस्तुति : शिवहरि घिमिरे 

प्रकाशित: ८ भाद्र २०७५ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App