१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महेन्द्रनगरमा कर्फ्यू हट्यो, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा

महेन्द्रनगर बजारकाे मदन चाेकस्थित भेटघाट चाैतारामा सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीहरू। तस्बिर : राजेन्द्र/नागरिक

महेन्द्रनगर – किशोरी निर्मला पन्तको ‘वास्तविक’ हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार साँझ पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि जारी गरेको कर्फ्यू हटाइएको छ।

झडपमा मानवीय क्षति हुनसक्ने अवस्था आएपछि जिल्ला सुरक्षा समिति बैठकले महेन्द्रनगर बजार वरपरका क्षेत्रमा कफ्र्यु जारी गरेको थियो।

विहानैदेखि कफ्र्यु हटाइएसँगै जनजिव सहज भएको छ। बिहीबारको आन्दोलनले उग्ररुप लिएसँगै आज विहानैदेखि महेन्द्रनगर बजार क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

बिहीबार जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शनकारी र प्रहरीबीच करिब दुई घन्टा झडप भएको थियो। झडपका क्रममा प्रहरीले करिब एक सयभन्दा बढी अश्रुग्यासको सेल प्रहार गरेको थियो। आन्दोलनकारीले पनि प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। प्रदर्शनमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ६ जना आन्दोलनकारी र दुई जना प्रहरी घाइते भएका थिए।

जिल्ला प्रशासन कार्यालय उत्तरतर्फ ट्राफिक चोकमा प्रहरीले चलाएको गोली लागेर कञ्चनपुर भीमदत्त नगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारी घाइते भएका थिए। उनको बायाँ खुट्टामा गोली लागेको छ। महाकाली अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि सेती अञ्चल अस्पताल पठाइएको छ।

घटनामा अन्य पाँच जना आन्दोलनकारी घाइते भएका छन्। घाइते हुनेमा तेज भट्ट, कृत पनेरू, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया छन्।

आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरी हबल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएका छन्। घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

भीमदत्त नगरपालिका–२ खोल्टीनिवासी १३ वर्षीया निर्मला साउन १० गतेदेखि बेपत्ता थिइन्। साउन ११ गते उनको शव भीनपा– १९ को एक उखुबारीमा फेला परेको थियो।

घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षका दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो। मानसिक अवस्था कमजोर भएका बिष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको थियो।

यसैबीच आन्दोलनमाथी प्रहरी दमन भएको भन्दै त्यसको विरोधमा प्याबसन र एनप्याबसनले कञ्चनपुर जिल्लाका निजी तथा आवासिय विद्यालयहरु एक दिनका लागि बन्द गर्न आह्वान गरेको छ।

प्रकाशित: ८ भाद्र २०७५ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App