१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिसो भुइँमा रात कटाउँछिन् पुनम

तस्वीर ३ हजुरबुबासंगै पुजा र पुनम । तस्वीर : हरिकृष्ण गौत/नागरिक

म्याग्दी - बेनी नगरपालिका–६ फोओठेकी ९ वर्षीया पुनम खत्री घरको माथिल्लो तलामा रहेको साँघुरो कोठामा भुइँमा सुत्छिन्। चिसो भुइँमा एउटा पुरानो गुन्द्री ओच्छाएर उनी र उनका भाइ पूजनले रात कटाउँछन्। अहिलेसम्म उनलाई सिरक ओढेर सुतेको अनुभव छैन। कोठामा रहेको खाटमा ओच्छ्याउने पातलो डस्ना, पुरानो सिरक र सिरानी छ, जुन हजुरबुवाका लागि छुट्याइएको छ। १२ वर्षीया दिदी पूजा छेउमा भाँच्चिनै लागेको खाटमा सुत्छिन्। पूजा तिनै हुन् जसले खर्च जुटाउन नसकेकाले विद्यालयका प्रधानध्यापकलाई आफूलाई निष्कासन गर्न आग्रह गर्दै चिठी लेखेकी छन्।

झट्ट हेर्दा एकजना सुत्न पनि साँघुरो हुने कोठामा चारजनाले रात बिताउने गरेका छन्। ‘मलाई सिरक ओढेर सुत्दा कस्तो अनुभूति हुन्छ भन्ने अहिलेसम्म थाहा छैन। स्कुल बिदाको समयमा दिउँसो हजुरबुवाको खाटमा सुत्छुु’, पुनमले कोठाको अवस्था देखाउँदै भनिन्।

उनले पुरानो गुन्द्रीमा सुत्दा चिसो मौसममा हातगोडा, मुख सुन्निने गरेको बताइन्। ‘धेरै रात खाली पेट सुत्ने गरेका छौं । हामीलाई मध्यरातमा आएर बुवाले समेत कुटपिट गर्नुहुन्छ’, पूजाले भनिन्। रक्सीले मातेर बुवाले भाइ, बहिनी, हजुरबुवालाई समेत कुटपिट गर्ने गरेको पूजाले बताइन्। उनका बाबु लीलाबहादुर खत्री गत असार महिनादेखि भने घरमा आएका छन्।

‘हाम्रा लागि त यो दरबार नै हो, तपाईंहरुलाई भूत बस्नेजस्तो लाग्छ होला’, पूजाले कोठा देखाएर मुसुक्क हाँस्दै भनिन् । टिनले छाएको तीनकोठे घरमा एउटामा खाना पकाउने काम हुन्छ। एउटा कोठाको ढोका पूजाका बाबुले रक्सीको नसामा फुटाइदिएका छन् । बाँकी एउटा कोठा असाध्य चिसो छ । ‘चिसोबाट बच्न मोजा लगाएर सुत्ने गरेका छौं तर हामी तीनजनाकै मोजा च्यातिएको छ’, पूजाले भनिन्। उनले विद्यालयमा साथीहरुबाट च्यातिएको मोजा लुकाउने प्रयास गरे पनि बेलाबेलामा देखिने गरेको बताइन् । ‘खुट्टादेखि शिरसम्म लगाउने एकसरो लुगा पनि छैनन् । यस्तै समस्या भएर मैले भाइबहिनीलाई राम्रोसँग शिक्षादीक्षा दिन विद्यालयमा नजाने भनी पत्र पठाएकी थिएँ’, उनले भनिन्।

रक्सीले मातेर घरमा कुटपिट गर्न आउने बुवा, दुई वर्षदेखि सम्पर्कविहीन आमालाई उनले निष्ठुरीको संज्ञा दिइन् । ‘आमाबुवाको आश छैन। दुवै आफ्नो जिम्मेवारीबाट पन्छिए । मैले अभिभावकको जिम्मेवारीमा भाइबहिनी सम्हाल्दैछुु’, पूजाले भनिन्। नजिकैका छिमेकीबाट पैसो मागेर साउन महिनामा जम्मा तीनदिन भात पकाएकी पूजाको भान्सा कोठामा मामाघरबाट ल्याएको पिठो र छिमेकीले दिएको मकै छ। ‘बिहानपकाएर बेलुकी पनि त्यही खान्छौं। बिहानै सकियो भने बेलुका भोकै सुत्छौं,’ पूजाले भनिन्। पकाउने भाँडाकुडासमेत चुहिने भएका छन्।

पूजा जमुनाखर्क माविकी विद्यार्थी हुन्। आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सामग्री, लत्ताकपडा जुटाउन नसकेको तथा घरमा पढ्ने वातावरण नभएपछि खत्रीले विद्यालयका प्रधानअध्यापक सोमनाथ ढुंगानालाई पत्र लेखिन्। पत्रमा उनले आफ्नो रोल नम्बर हटाउँदै विद्यालयबाट निष्कासन गर्न अनुरोध गरेकी थिइन्। विद्यालयको अनुरोधमा प्रथम त्रैमासिक परीक्षामा सहभागी पूजाले घरायसी अवस्थाकै कारण पढाइ छोड्नुपरेको बताएपछि उनलाई सहयोगका लागि स्वदेश तथा विदेशमा पनि अभियान सञ्चालन भइरहेको छ। ‘उनको घरको अवस्था निकै दयनीय छ । अपांग हजुरबुवालाई पनि उनले नै हेर्नपर्छ’, प्रधानअध्यापक ढुंगानाले भने। उनले नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशमा सहयोग अभियान सुरु भएको जानकारी दिए । ‘जन्मिएदेखि नै उनीहरुले सास्ती खेप्नुपरेको छ’, ढुंगानाले भने, ‘पूजा साहसी बालिका हुन्।’ उनले १२ वर्षीया बालिकाले विद्यालयमा पत्र पठाएर घर सम्हाल्न खोज्नु चानचुने कुरा नभएको बताए।

चिसोबाट बच्न आगो बालेर त्यसकै छेउमा रात कटाउने गरेको पूजाका हजुरबुवा मानबहादुरले बताए। ‘एउटी नातिनीलाई सुटुक्कै काठमाडौं पु-याएका छन्। उसलाई पनि धेरै यातना दिन्छन् भन्ने सुनेको छुु’, मानबहादुरले भने। उनले सबैलाई एउटै ठाउँमा राखेर शिक्षादीक्षा दिने वातावरण बनाइदिन अनुरोध गरे। ‘मेरा छोराबुहारी आमाबाबुको जिम्मेवारीबाट पन्छिए, छोराले मलाई पटकपटक कुटपिट गरेको छ’, उनले भने। गाउँलेको सहयोगमा ज्यान जोगाउने गरेको उनले बताए। ‘छोराको नाममा घर पास दिएको छ। हामीलाई घरबाट निकाल्न धेरै प्रयास गरेको छ’, उनले भने। गरिबीसँगै आफ्नै छोराको समेत आतंकले खत्रीलाई त्रसित बनाएको छ।

पूजालाई पत्रकार पौडेलेको सहयोग
प्रधानअध्यापकलाई विद्यालयबाट निष्कासन गर्न पत्राचार गरेकी पूजालाई नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक त्रिभुवन पौडेलले आफ्नो जन्मदिनमा २१ हजार रुपैयाँ आर्थिक सहयोग गरे। गरिबी र पारिवारिक समस्याका कारण विद्यालयबाट निष्कासन गर्न पत्र लेखेकी पूजालाई सहयोगका लागि सार्वजनिक अपिलसमेत गरेका पौडेलले जन्मदिनको खर्च कटाएर सहयोग गरेका हुन्। ‘उनको पत्र पढेर मेरो आँसु आयो,’ उनले भने। पूजालाई अनेरास्ववियु म्याग्दीले १२ हजार रुपैयाँबराबरको खाद्य सामग्री, बेनी कालिपुलका खेम केसीले २५ सय रुपैयाँ सहयोग गरेका छन्।

यस्तै लायन्स क्लब बेनी पिस सिटी, मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष राम खड्कालगायत धेरैले सहयोगको प्रतिबद्धता जनाएका छन्। वडा कार्यालयले समेत आर्थिक सहयोग अभियानका लागि अपिल गरेको छ। स्वदेश तथा विदेशमा रहेका नेपालीले पूजाको परिवारलाई सहयोगको प्रतिबद्धता जनाएसँगै गरिमा विकास बैंक बेनी शाखामा पूजा खत्रीको नाममा खाता खोलिएको छ।

प्रकाशित: ८ भाद्र २०७५ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App