१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तराईको समृद्धिमा हुलाकीको भाँजो

सुरेश यादव/जनकपुर

जितेन्द्रकुमार झा/राजविराज

तत्कालीन राजा महेन्द्रको पालादेखि कैयौंपटक शिलान्यास र औपचारिक घोषणा भएको हुलाकी राजमार्ग निर्माणले अझै गति लिन सकेको छैन। हुलाकी शिलान्यासपछि अवधारणा तयार भएको पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग सञ्चालनमा आएको चार दशक बितिसक्दा पनि हुलाकी भने राजनीतिक भाषणमै सीमित छ।

मेचीदेखि महाकालीसम्मको १७९५.४२ किलोमिटर हुलाकी राजमार्गमध्ये ५ प्रतिशत पनि निर्माण नभएको हुलाकी राजमार्ग आयोजनाका एक इन्जिनियरले बताए। ‘यो राजमार्ग निर्माण हुनेबित्तिकै तराई–मधेसमा कृषि र व्यापारको क्रान्ति सुरु हुन्छ,’ उनले भने, ‘त्यो बुझेरै यो देशका नेताहरु जसरी पनि यसलाई ओझेलमा पारेर राजनीतिको रोटी सेकिरहने दाउमा लागेका छन्।’ राजमार्ग बन्न नदिन केन्द्रीयमात्रै नभएर मधेसी नेतापनि दोषी रहेको ती इन्जिनियरको आरोप छ।

इमानदारीपूर्वक हुलाकी राजमार्ग निर्माण सुरु गरे दुई–चार वर्षभित्रै सम्पन्न गर्न सकिने भएपनि आयोजनालाई ओझेलमा पार्न सहायक मार्गलाई जिगज्याग गरिएको छ। जस्तो पाँच वर्षअघि पहिलो चरणमा दुईवटा हुलाकी र १७ वटा सहायक मार्गगरी ६ सय ७ किलोमिटर सडक निर्माण गर्न भारत सरकारसँग सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार ६ प्याकेजमा ठेक्का भएपनि प्याकेज १ बाहेक सबै रद्द गरिएको छ।

०७२ असार १ गते जनकपुर–जलेश्वर–भिठ्ठामोड र जनकपुर–कप्टौल–कमला समेत १२ वटा तराई–मधेस मार्गको स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया सुरु गरिएको थियो। तीमध्ये दुईवटा सडकको ठेक्का लागेर एक हप्ताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेपनि अन्य १० वटा सडक अझै ठेक्का प्रक्रियामै अल्भि्करहेको हुलाकी राजमार्गमा आयोजना विभागले जनाएको छ।

पहिलो चरणको बाँकी १७ वटा सडक (५१८.०५ किलोमिटर) निर्माण गर्न नेपाल र भारत सरकारबीच गत फेब्रुअरी २० मा हस्ताक्षर भएको थियो। उक्त सम्झौता अनुसार भारत सरकारले नेपाली ८ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख भएपनि प्राविधिक त्रुटि देखाउँदै काम अहिलेसम्म अघि बढाउन सकेको छैन।

सम्झौतामा उल्लेख भएका सडक निर्माण पूरा गर्न कुल १३ अर्ब ४४ करोड रुपैयाँ आवश्यक पर्नेमा भारतले दिएपछि बाँकी अपुग पाँच अर्ब ४४ करोड रुपैयाँ नेपाल सरकारकै कोषबाट व्यवस्थापन हुनेगरी तत्काल जनकपुर–भिठ्ठामोड सडकको काम अघि बढाइएको विभागले जनायो।

मध्यपूर्वी तराईका सर्लाहीदेखि सिरहासम्म हुलाकी र तराई–मधेस मार्ग गरी हुलाकी राजमार्ग आयोजना विभाग अन्तर्गत कुल ३ सय ३२ किलोमिटर सडक निर्धारण गरिएको छ। तीमध्ये अहिलेसम्म जनकपुर–कमला (२५ किलोमिटर), जनकपुर–भिठ्ठामोड (१८.५ किलोमिटर), सर्लाहीको नयाँरोड–बरहथवा र नवलपुर–मलंगवा बाहेक सडकको निर्माण सुरु गर्न अहिलेसम्म प्रस्ट आधारसमेत तय भई नसकेको हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय जनकपुरका प्रमुख अर्जुन यादवले बताए।

‘हुलाकी राजमार्ग भनिएपनि धेरैजसो तराई मधेश मार्ग अन्तर्गत टुक्रे सडकहरु छन्,’ यादवले नागरिकसँग भने, ‘विभिन्न टुक्रे सडक खुद्रा ठेकेदारलाई दिएरै बर्बाद भइरहेको छ। हुलाकी राजमार्गमै काम केन्द्रीत भएको भए केही वर्षभित्र परिणाम देखाउनेगरी काम गर्न सम्भव छ।’ तर, राजनीतिक अस्थिरता तथा अदूरदर्शी केन्द्रीय निर्णयले काम प्रभावकारी हुन नसकिरहेको उनको भनाइ छ।

हुलाकी सडक चुनावी एजेन्डा मात्रै

कालोपत्रे परै जाओस अब त माटो र ग्राभेलको अवशेष समेत देखिँदैन। खाल्डै खाल्डो अनि हिलाम्य सडकमा पैदल यात्रा पनि जोखिमपूर्ण बन्न पुगेको छ। मुलुककै पुराना सडकमध्ये एक यो दशकौंदेखि जीर्ण छ। नाममात्रै बाँकी रहेको यस सडकसँग जोडिएको जिल्लाका दर्जनौं गाविसको भविष्य नै अन्योलग्रस्त बनेको छ।

तराई–मधेसकै विकासको मेरुदण्डमानिएको हुलाकी सडकको अवस्था र आवश्यकताबारे बेला बखत राजनतेताहरुले नबोलेका होइनन्। सरकारको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा पनि निकै चर्चा हुने गर्छ यस सडकको। तर सडकको अवस्था हेर्दा ती भाषण र प्रतिबद्धताहरु चुनावी नारामै सीमित भएको यस सडकसँग जोडिएका गाउँलेहरुको गुनासो छ। 

पछिल्लो संविधान सभा निर्वाचनका बेला हुलाकी सडक सप्तरी मात्रै नभई तराई–मधेसका अन्य जिल्लामा समेत ठूलो चुनावी मुद्दा बनेको थियो। 'चुनावपछि पक्कै पनि केही हुन्छ भन्ने सोचेका थियौं,' सडकछेउमै रहेको सप्तरीको जमुनी मधेपुरा गाविसका श्यामप्रकाश यादवले भने, 'अहिले पनि भाषणमै सीमित भएको छ, हुलाकी सडकको मुद्दा।' अति जीर्ण सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य जनताको आवाज सुन्ने कोही नरहेको युवा श्यामप्रकाश बताउँछन्। 'आपतविपतका बेला त आपतकालीन सवारी साधन समेत आउन सक्दैन,' उनले भने।

पछिल्लो साता राजविराज पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पनि हुलाकी सडक वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको प्रतिक्रिया दिए। तत्कालका लागि पहिलो चरणमा काम भने पश्चिमबाटै सुरु गर्ने मन्त्री लेखकको भनाइ थियो। हुलाकी सडकको केही काम नेपाल सरकारले आफ्नै लगानीबाट रकेही भारत सरकारको सहयोगमा गर्ने उनको भनाइ थियो।

राज्यको उदासीनताकै कारण सडक निर्माण कार्य हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ।‘२०४६ सालमै हुलाकी सडक अन्तर्गत सप्तरीको अर्नाहामा आयोजित आम सभामा सहभागी काँग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले यो रोड काँग्रेसी भएको भनेर ठोकुवा गर्दै सरकारमा जानेबित्तिकै निर्माण थाल्ने आश्वासन दिनुभएको थियो,’ हुलाकी सडक अन्तर्गत पर्ने सप्तरी पत्थरगाडाका कर्णदेव चौधरीले भने, ‘तर, गिरिजाबाबु स्वयं कतिपटक प्रधानमन्त्री हुनुभयो, अहिले उहाँ दुनियाँ छाडेर पनि गई सक्नुभयो, तर हुलाकी सडकको हालतमा कुनै परिवर्तन आउन सकेको छैन।’

स्थानीय दलित अगुवा राजिन्द्र राम पनि पटक–पटक मधेसका जिल्लाबाट विजयी भएर गएका सांसदले हुलाकी सडक निर्माणमा बढी जोड दिन नसकेर निर्माण अधुरै रहेको आरोप लगाउँछन्। 'मधेसवादी नेताले मधेसको विकासका लागि हुलाकी सडक अपरिहार्य रहेको भन्दै आए पनि सत्तामा जानेबित्तिकै बिर्सिने गरेका छन्,' उनले भने, 'सबै जसो राजनीतिक दलका लागि हुलाकी सडक चुनावी एजेन्डा मात्रै बनेको छ।'

पूर्वदेखि पश्चिमसम्म फैलिएको ९ सय ४५ किलोमिटर हुलाकी सडकमध्ये सप्तरीस्थित ५५ किलोमिटर सडक खण्ड पूर्ण रुपमै जीर्ण छ। मेचीदेखि महाकालीसम्मका विभिन्न गाउँ तथा मुख्य नगरलाई जोडने हुलाकी मार्ग भत्किएर ठूला–ठूला खाल्डा भएको छ। सडक खण्डमा रहेका पुल समेत भत्किएकाले झन् जोखिम बढेको छ। तराईको वीरगन्ज, सिम्रौनगढ, गौर, मलंगवा, जलेश्वर, सिरहा, राजविराज हुँदै भद्रपुर लगायत सदरमुकाम तथा बजार जोड्ने यो सडक निर्माणमा तदारुकता नदेखाइएका कारण अवस्था झन् जर्जर बन्न पुगेको छ।

तराई क्षेत्रका ग्रामीण भेगका जनताको लागि अति महŒवपूर्ण मानिने यो सडक भारत सरकारको सहयोगमा निर्माण जारी रहे पनि गति सुस्त छ। सडक निर्माण भइरहेको छ भन्ने बहानामा मर्मत सम्भारनहुँदा सर्वसाधारणसास्ती सहन बाध्य भएको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए।

असार महिनाको सामान्य वर्षामा पनि पानी जमेर बाटो बिग्रँदा यातायातका साधन चल्न कठिनाइ हुने गरेको मलेकपुर–५ खुरहुरियाका व्यवसायी हरिनारायण साहले बताए। 'सामान्य वर्षामा पनि यातायातका साधन चल्न गाह्रो हुन्छ, रातिको समयमा हिँडडुल गर्दा जोखिम मोल्नुपर्ने बाध्यता छ,' उनले भने, 'ठाउँ–ठाउँमा भत्किएका जीर्ण पुलले गर्दा साइकल तथा पैदलयात्री दुर्घटनाको सिकार हुने गर्छन्।' बयलगाडा, ट्रयाक्टर, टेम्पु, जिपलगायतयातायातसाधन अनियन्त्रित भई पल्टिने गरेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उनले बताए।

दैनिक हज्जारौं जनता हिँडने सडकको दुरावस्थाका कारण पटक–पटक दुर्घटना हुने गरेको स्थानीयबताउँछन्।

हुलाकी सडकको दुर्दशाका कारण सदरमुकाम राजविराजबाट गाउँमा एम्बुलेन्ससम्म आउन सक्ने अवस्था नरहेको जनता माध्यमिक विद्यालय खुरहुरियाका शिक्षक महिनारायण यादवले बताए।

प्रकाशित: ३० भाद्र २०७३ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App