१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गुणस्तरको विषय प्रस्तावमा परेन

काठमाडौं- नेपाल स्ट्यान्डर्ड (एनएस) लाई भारतमा मान्यता दिने विषय प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको एजेन्डामा नपर्ने भएको छ। दुई देशबीच स्ट्यान्डर्ड हार्मोनाइजेसन सम्बन्धमा 'स्ट्यान्डराइजेसन एन्ड कन्फर्मिटी एसेसमेन्ट' विषयमा सहमति गर्ने भनिए पनि भ्रमणको एजेन्डामा भने पर्न सकेन।

दुई देशबीच स्ट्यान्डर्ड हार्मोनाइजेसन सम्बन्धी विषयमा सहमति गर्ने चर्चा उठे पनि यसपालिको भ्रमणमा नपरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। यस विषयलाई यसपालिको भारत भ्रमण एजेन्डामा पार्न भन्दै उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत आग्रह गरेको थियो। 

यस विषयमा नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतको द ब्युरो अफ इन्डिया स्ट्यान्डर्डबीच औपचारिक रुपमा छलफल भई मस्यौदा समेत आदनप्रदान भइसकेको थियो। लामो समयदेखि यससम्बन्धी सम्झौता गर्न दुवै देश सहमत छन्।

हाल भारतको स्ट्यान्डर्डलाई मान्यता दिँदै नेपालमा उसका सामान निर्वाध रुपमा बिक्री वितरण भइरहेका छन्। भारतको सामान यता स्वतन्त्र रुपमा आए पनि नेपाली गुणस्तर प्रमाणित सामानलाई भारतले मान्यता दिएको छैन। त्यो मान्यता नदिँदा यहाँको एनएस, टेस्टिङ तथा नापतौलका अन्य विषयलाई भारतले मान्यता दिँदैन। नेपाली सामान भारतमा जाँदा उसको स्ट्यान्डर्ड पालना गर्नुपर्ने नेपाली सामानको बाध्यता छ।

नेपाली सामानलाई भारत जान अप्ठरो परेको भन्दै बिहीबारबाट सुरु भएको प्रधानमन्त्री दाहालको भारत भ्रमणमा यसलाई पनि नेपालका तर्फबाट एजेन्डाका रुपमा प्रस्तुत गर्ने भनिए पनि अन्तिम समयमा हुन सकेन। उद्योग मन्त्रालयले मस्यौदा तयार गरेर कानुन र अर्थ मन्त्रालयमा पठाइसकेको थियो। 

यसैबीच, भारतले वीरगन्जमा व्यावसायिक तालिम सञ्चालन गर्न नेपाल सरकारलाई प्रस्ताव गरेको छ। हिन्दुस्तान मेसिन टुल (एचएमटी) नामको निजी कम्पनीमार्फत वीरगन्जमा भोकेसनल ट्रेनिङ सञ्चालन गर्न चाहेको भारतीय दूतावासले नेपाल सरकारलाई प्रस्ताव राखेको थियो।   

 

प्रकाशित: ३० भाद्र २०७३ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App