१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जहाज किन्न २५ अर्ब दिने सञ्चय कोषको प्रस्ताव

काठमाडौं- कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई दुईथान ठूलो आकार (वाइड बडी) जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्ताव गरेको छ। सञ्चय कोषले २५ अर्ब रुपैयाँ उपलब्ध गराउन तयार रहेको भन्दै बुधबार निगमलाई पत्र पठाएको हो। कोषको प्रस्तावपछि निगमलाई ठूलो परिमाणको रकम व्यवस्था गर्ने झन्झटबाट मुक्ति मिलेको छ।

'सञ्यच कोषले एक्लैले २५ अर्ब रुपैयाँ उपलब्ध गराउन तयार रहेको प्रस्तावसहित पठाएको पत्र प्राप्त भएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'अब कोषले उपलब्ध गराउने रकमको ब्याजदर कति हुन्छ भन्नेबारे द्विपक्षीय छलफलपछि टुंगो लगाउँछौं।'

सञ्चय कोषमात्र नभई निगमलाई उक्त परिमाणबराबरको रकम उपलब्ध गराउन नागरिक लगानी कोषसमेत तयार रहेको छ। यो संस्थासँग पनि निगम व्यवस्थापनले अनौपचारिक छलफल गरिरहेको छ। सरकारी संस्थाबाहेक निजी क्षेत्रका 'क' वर्गका केही वाणिज्य बैंकहरूले पनि जहाज खरिदका लागि आवश्यक रकम सहवित्तीयकरणमा उपलब्ध गराउन तयार रहेको बताउँदै आएका छन्।

सम्बद्ध स्रोतका अनुसार अर्थ मन्त्रालयले पनि निगमलाई दुइटा वाइड बडी जहाज खरिदका लागि लिन लागेको २५ अर्ब रुपैयाँबराबरको ऋणमा सरकार जमानी बस्न तयार रहेको सैद्धान्तिक सहमति दिएको छ। तर, निगमले अर्थबाट बुधबारसम्म यसखालको पत्र आइनसकेको जनाएको छ।

निगमलाई दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँका लागि सरकार जमानी बस्न तयार रहेको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गत आइतबार बताएका थिए। महराले आइतबार दिउँसो पर्यटन मन्त्री, सचिव, निगमका महाप्रबन्धकदेखि उच्च अधिकारीलाई जहाज किन्न सरकार जमानी बस्ने प्रतिबद्धता जनाएका थिए। महराले चाँडै यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजाने बताएका थिए।

निगमले आगामी २०७४ असोजमा पहिलो वाइड बडी र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी जहाज काठमाडौं अवतरण गराउने गरी काम गरिरहेको छ। एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना उसको छ।

वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाज ए३३०–२०० ले एकतर्फी सिधा ९ देखि १० घन्टा 'नन्स्टप' उडान गर्न सक्छ।

आगामी मंसिर दोस्रो साताभित्र वाइड बडी जहाज खरिदका लागि ग्लोबल टेन्डर आह्वान गर्ने र फागुन दोस्रो साताभित्र खरिद सम्झौता गर्ने तयारी भइरहेको प्रवक्ता शर्माले जानकारी दिए। टेन्डरमा जहाज निर्माता कम्पनी एयरबस, जहाज भाडामा दिने लिजिङ कम्पनी, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलगायतले सहभागिता जनाउन पाउने उनले बताए।

एयरबसकै ए३३०–२०० सिरिजको जहाज भएका कारण एयरबस कम्पनी आफैं पनि टेन्डरमा सहभागी हुन पाउने छ भने लिजिङ कम्पनी वा अन्य वायुसेवा कम्पनी पनि प्रतिस्पर्धामा उत्रिन सक्नेछन्। निगमले सकेसम्म सन् २०१४ भन्दा यता उत्पादन भएका ए३३०–२०० जहाज खरिद गर्ने सर्त राख्ने जनाएको छ।

निगमले विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत 'लङ हल' गन्तव्यमा उडान गरिसकेको छ। दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने निगमको योजना छ। यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन् भने मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने लक्ष्य निगमको छ।

निगमले यसअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईथान जहाज खरिद गर्न १७ महिनाअघि सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो। निगमले गएको १५ महिनामा सावाँ र ब्याज गरी कोषलाई १ अर्ब ५८ करोड रुपैयाँ चुक्ता गरिसकेको छ।

निगम र कोषबीच २०७० असार ४ गते १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो। त्यसबेला कोषले वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको थियो भने चुक्ता अवधि १५ वर्ष राखेको थियो। कोषले सुरुमा १२ प्रतिशत ब्याज दर तोके पनि पहिलो किस्ता चुक्ता गर्दा ११ प्रतिशतमात्र ब्याज लिएको थियो। त्यसपछि अझ सहुलियत दिँदै दोस्रो किस्तादेखि वार्षिक १० प्रतिशतका दरले मात्र ब्याज लिइरहेको छ। अब त्यसमा पनि घटाउँदै ९ प्रतिशतमा दिन कोष तयार रहेको छ। निगम र कोषबीचको सम्झौताअनुसार प्रत्येक तीन महिनामा एक पटक गरी वार्षिक चार किस्तामा सावाँ–ब्याज चुक्ता गर्नुपर्छ। १५ वर्षमा ६० किस्ता तिर्नुपर्ने सम्झौताअनुसार हालसम्म पाँच किस्ता चुक्ता भएको छ। अब निगमले ५५ किस्ता तिर्न बाँकी छ।

 

प्रकाशित: ३० भाद्र २०७३ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App