१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एक्युरेसीको प्राप्ति अनुभव मात्रै

पोखरा – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङतर्फ एक्युरेसी विधाको प्रतिस्पर्धा नेपाली टोलीले नयाँ अनुभव गरेर टुंग्याएको छ। 

एक्युरेसी विधा नयाँ इभेन्ट भएकाले पनि प्याराग्लाइडिङ टोलीले पदकको आशा र अपेक्षा गरेको थिएन । प्याराग्लाइडिङमा पदकको आशा भने नेपाली टोलीले शुक्रबारदेखि सुरु हुने क्रसकन्ट्रीमा गरेको छ। 

एकल र टिम एक्युरेसी महिला तथा पुरुषमा नेपाली खेलाडी बुधबार फाइनल राउन्डमा आइपुग्दा कमजोर देखिए । पुरानै लयलाई कायम राख्न नसक्दा पुरुष एकल एक्युरेसीमा नेपाली खेलाडी पुछारभन्दा केही माथि रहे । पुरुष टिम एक्युरेसीमा आयोजक इन्डोनेसियाले स्वर्ण, कोरियाले रजत र थाइल्यान्डले कांस्य पदक जितेका छन्। 

टिम एक्युरेसीमा नेपाली पुरुष टोलीले भने १००७ अंकसहित आठौं स्थानमा चिक्त बुझाएको छ । महिला टिम एक्युरेसीमा थाइल्यान्डले स्वर्ण, आयोजक इन्डोनेसियाले रजत र कोरियाले कांस्य पदक जिते । नेपाली टोलीले भने ११६१ अंकसहित सातौं स्थानमा रहेर एक्युरेसीको इभेन्ट टुंग्याएको छ । टिम एक्युरेसीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गरेका थिए। 

प्याराग्लाइडिङका अफिसियल सानोबाबु सुनुवारका अनुसार ‘हामीलाई यो प्रतिस्पर्धा नयाँ हो । तर सोचेभन्दा राम्रो प्रदर्शन गरेका छौं ।’ नेपालले पदकको आशा भने प्यारग्लाइडिङकै अर्को विधा क्रस कन्ट्रीमा गरेको उनले बताए । क्रस कन्ट्रीमा निश्चित दूरी, उचाइमा पुगेर फर्किएर ल्यान्डिङ गर्नुपर्छ । क्रसकन्ट्रीको बिहीबार प्राक्टिस र शुक्रबारदेखि प्रतिस्पर्धा सुरु हुनेछ। 

इन्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसै गरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्ने नेपाली टिमका अफिसियल शैलेन रावतले जानकारी दिए। 

दुई वर्षअघि इन्डोनेसियामै आयोजित प्याराग्लाइडिङको क्रस कन्ट्री च्याम्पियनसिपमा नेपाली टिम स्वर्ण पदक जितेर फर्किएको थियो । क्रस कन्ट्रीमा अनुभवी पाइलट विमल अधिकारीले नेतृत्व गर्नेछन् । उनी यस्ता एक्ला नेपाली पाइलट हुन्, जसले प्याराग्लाइडिङको विश्वकप खेलेका थिए। 

प्रकाशित: ७ भाद्र २०७५ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App