१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मूल्य वृद्धिको गति १४ वर्ष यताकै सुस्त

स्राेतः नेपाल राष्ट्र बैंक

काठमाडौं– निरन्तर मूल्य वृद्धिको चाप जनताले खेपिरहेको चर्चा चलिरहेका बेला गत आर्थिक वर्षमा उपभोक्तास्तरकाे मूल्य वृद्धि विगत १२ वर्षकै न्यून रहेको पाइएकाे छ। 

आर्थिक वर्ष २०७४/७५मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित रहेको तथ्याङ्क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो जुन ७ प्रतिशतसम्म पुग्ने प्रक्षेपण उसको थियो।
प्रदेश तथा स्थानीय निर्वाचन, आयातमा भएको उच्च वृद्धि, वित्तीय क्षेत्रमा समय समयमा देखिएका तरलताका समस्याले मूल्य वृद्धि उच्च नै हुने खतरा थियो। 
विगतमा निर्वाचनपश्चात उपभोक्ता सामग्रीमा उच्च मूल्य वृद्धि हुने गरेको अनुभव जनताले गर्ने गरेका थिए। तर यसपटकको निर्वाचनबाट बहुमतीय स्थिर सरकार बन्ने नतिजा आएपछि बजारमा मूल्य वृद्धि गराउन चलखेल गर्ने व्यवसायिक तत्वहरु पनि हच्किएका विश्लेषकको मत छ।

‘विगतमा निर्वाचन पश्चातका नतिजाले स्थिर सरकार सुनिश्चित हुने अवस्था थिएन जसले गर्दा अवाञ्छित तत्वले बजार नियन्त्रण गर्ने र मूल्य बढाउने अवस्था हुन्थ्यो,’ अर्थशास्त्री डा डिल्लीराज खनाल भन्छन्, ‘स्थानीय निकाय, प्रदेश र संघीय संसदमा स्पष्ट बहुमत आएपछि स्थिर सरकार बन्ने हुँदा त्यस्ता तत्व निरुत्साहित भएको अवस्था पनि हो।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डां शशांक कोइरालाले बुधबारमात्रै नेपालगञ्जमा पत्रकारमाझ वर्तमान सरकार गठन भएपछि मूल्य वृद्धि चुलिएको भन्दै सरकार दिशाहीन भएको आरोप लगाए।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा ‘आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको,’ उल्लेख छ।

पछिल्ला २ वर्षमा नेपालको अर्थतन्त्र ट्रयाकमा आएको र सम्मानजनक आर्थिक वृद्धि हासिल भएका कारण मूल्य वृद्धि प्रक्षेपण गरिएभन्दा कम भएको राष्ट्र बैकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा बताउँछन्। 

आर्थिक वर्ष २०७२/७३मा मुद्रास्फीति साढे आठ प्रतिशतमा सीमित हुने अपेक्षा गरिएकोमा ९.९ प्रतिशत पुगेको थियो। भूकम्प र भारतीय नाकावन्दीका कारण मुद्रास्फीति सो वर्ष करिब दोहोरो अंकमा पुगेको थियो। तर आव ०७३/०७४मा ७.५ प्रतिशतसम्म मुद्रास्फीति प्रक्षेपण गरिएकामा ४.५ मै सीमित रहन पुग्योे। आव ०७४/०७५ यो दर ७ प्रतिशत हुने प्रक्षेपण गरिएकोमा ४.२ प्रतिशतमै रोकियोे। समीक्षा अवधिमा आर्थिक वर्ष २०६५/६६मा साढे सात प्रतिशतमा सीमित राख्ने भनिएको मुद्रास्फीति सबैभन्दा धेरै १२.६ प्रतिशत पुगेको थियो।  

‘मूल्य वृद्धिमा योगदान पुर्याउने निकायमाथिको निरीक्षण, अनुगमन तथा संस्थागत सुशासन बढेकाले पनि मूल्य वृद्धि १२ वर्षकै न्यून भएको हो,’ थापाले भने।गतआवको मुद्रा स्फितिदर आर्थिक वर्ष २०६०/६१ पछिको सबैभन्दा न्यून हो। सो वर्ष उपभोक्ता मूल्य वृद्धि ४ प्रतिशतमात्र थियो। 

मुद्रास्फीतिको वार्षिक तुलनामा गत आव अत्यन्तै सहज रहे पनि गत र अगिल्लो असार महिनाको  वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा भने दवाब बढी देखिन्छ। ०७४ असारमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेकामा ०७५ असारमा  ४.६ प्रतिशत छ।  वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दवावमा रहन सक्ने जोखिमको संकेत गर्दछ। 
 

मूल्य वृद्धि काठमाडौमा सबैभन्दा कम

राष्ट्र बैकको सर्वेक्षणले मुलुकभरमा मूल्य वृद्धिको चाप भने सबैभन्दा कम काठमाडौ उपत्यका रहेको देखाएको छ। सर्वेक्षण अनूसार काठमाडौमा ३.३ प्रतिशत तराईमा ४.४ प्रतिशत, पहाडमा ४.६ र सबैभन्दा बढी हिमालमा ५.९ प्रतिशत, प्रतिशत, छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ६.४ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत थियो ।

 

प्रकाशित: ६ भाद्र २०७५ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App