१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्यारा सालीका छाेरा जाेगाउन पूर्व प्रहरी महानिरीक्षकले यस्ताेसम्म गरे...

काठमाडौं- नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृहका उच्च अधिकारीको संरक्षणका कारण हत्याजस्तो जघन्य अपराधका आरोपीले १३ वर्षसम्म उन्मुक्ति पाएको खुलेको छ। नेपाल प्रहरीका पूर्वएआइजी रुपसागर मोक्तान र सशस्त्रका पूर्वमहानिरीक्षक किशोरकुमार लामाको संरक्षणका कारण हत्या आरोपी १३ वर्षसम्म पक्राउ नपरेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोले एक महिना लामो अनुसन्धानपछि शुक्रबार श्रीवीर लामा, सोनु भन्ने देवराज लामा र खेप्पा भन्ने राकेश लामालाई पक्राउ गरेपछि घटनामा प्रहरी अधिकारीको मिलेमतो खुलेको हो। प्रहरी उच्च स्रोतका अनुसार मुख्य आरोपी श्रीवीर सशस्त्रका पूर्वमहानिरीक्षक लामाका सालीका छोरा र अर्का अरोपी चाँद लामा प्रहरीका पूर्वएआइजी मोक्तानका नातेदार हुन्। चाँद अझै फरार छन्।

ब्युरोका अनुसार २०६० फागुन २३ गते होलीका दिन रोशनकुमार आलेमगरको हत्यामा मुछिएका श्रीवीर पूर्वआइजिपी लामाकै कारण तीन वर्ष सशस्त्र प्रहरीमा जागिरे भएको समेत अनुसन्धानमा खुलेको छ। स्रोतका अनुसार श्रीवीर २०६५ देखि २०६८ सम्म सशस्त्रमा फलोअर्स थिए। ब्युरोले यससम्बन्धमा सशस्त्रलाई पत्र लेखेर सोधपुछ गर्ने भएको छ। घटनालगत्तै मृतकका पिता रोहित आलेमगरले ६ जनाको नाम, ठेगाना र दुईजनाको नाम नखुलेको भन्दै कर्तव्य ज्यान मुद्दामा आवश्यक कारबाहीका लागि काठमाडौं प्रहरीमा किटानी जाहेरी दिए पनि कुनै सुनवाइ भएको थिएन।

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले घटनाको अनुसन्धानमा केही कमजोरी भएका कारण आरोपी पक्राउ गर्न लामो समय लागेको बताए। उनले प्रहरी महानिरीक्षकको सचिवालयबाट ब्युरोलाई अनुसन्धानका लागि पत्र आएपछि आरोपी पक्राउ परेको बताए। 'घटनाको अनुसन्धानमा केही कमजोरी भएरै होला, आरोपी अहिले मात्र आएर पक्राउ परेका छन्, थप अनुसन्धान भइरहेको छ,' डिआइजी सिलवालले भने।

यस्तो थियो घटना

काठमाडौं, कुमारीगालमा २०६० साल दसंैको नौरथामा केही युवाबीच झडप भएको थियो। स्थानीय राकेशले झगडा छुट्याउन सहयोग गर्दा श्रीवीर लामाको टाउकोमा चोट लागेको थियो। परिवारका अनुसार सोही घटनाको रिसइबी साँध्न फागुपूर्णिमाको दिन श्रीवीर लामासहितको समूहले धारिलो हतियार प्रयोग गरी राकेशको हत्या गरेको अनुसन्धानमा खुलेको छ। बौद्ध क्षेत्रका धनाढ्यमध्ये एक रहेका श्रीवीरलाई घटनालगत्तै लामाले आफ्नै घरमा लुकाएको मृतकको परिवारले दाबी गर्दै आएको छ।

मृतकका बुवा रोहित आलेमगरले बुधबार नागरिकसँग कुरा गर्दै तत्कालीन अवस्थामा एसएसपी रहेका लामाले श्रीवीरलाई घरमा लुकाएको र त्यसपछि भारतको बैंगलोर पठाएको बताए। उनका अनुसार घटनालगत्तै न्यायाका लागि बारम्बार काठमाडौं प्रहरीदेखि गृहमन्त्रीसम्म धाउँदासमेत न्याय नपाएको उनले जानकारी दिए।

गृहमन्त्रीकै तोक काम लागेन

पीडितले न्यायका लागि २०६० सालयता तीन जना गृहमन्त्रीसहित हालकी राष्ट्रपति विद्यादेवी भण्डारीसम्म हारगुहार गरेको फेला परेको छ। रोशनका बाबु रोहितले घटनापछि गृहमन्त्री भएका दानबहादुर शाही, पूर्णबहादुर खड्का र वामदेव गौतमसम्म र तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले तोक लगाउँदा समेत आरोपीलाई पक्राउ नगरी स्थानीय प्रहरीले आलटाल गरेको बताए। उनले सबै गृहमन्त्रीले तोक/आदेश लगाएका कागजपत्र सुरक्षित रहेको बताए।

उनका अनुसार न्यायका लागि गृहमन्त्रीकहाँ जाने र मन्त्रीले तत्कालीन महानिरीक्षकलाई, प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरीलाई अनुसन्धान गर्न भने पनि आरोपी पक्राउ परेनन्। 'छोराको पीडामा म मन्त्रालय जान्थंे, मन्त्रीले आइजिपी र आइजिपीले काठमाडौं प्रहरीलाई भन्ने गर्थे, गयो हामी खोज्दै छौं भन्ने जवाफ मात्र पाउँदै आएको थिएँ।' उनका अनुसार प्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरीसम्मलाई भेटेर उनले छोराको हत्याबारे जानकारी गराएका थिए। घटनाका समय काठमाडौं प्रहरी प्रमुख रहेका एसपी दीपक रन्जितले समेत असहयोग गरेको उनले बताए। ब्युरोले पक्राउ परेका व्यक्तिलाई भाद्र २६ गते काठमाडौँ जिल्ला अदालतमा बुझाएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३० भाद्र २०७३ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App