१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बर्सेनि थपिँदै हवाई यात्रु, विमानस्थलको नाफा पनि निरन्तर

पोखरा विमानस्थलमा अवतरण गरेका जहाज । यो विमानस्थलले वर्षमा साढे पाँच लाखभन्दा बढी यात्रुलाई सेवा दिएको छ ।   फाइल तस्बिर : नागरिक

पोखरा – पोखरामा हवाई जहाजबाट आउजाउ गर्ने यात्रु निकै थपिएका छन् । यात्रुमध्ये पनि आन्तरिक यात्रु अधिक रुपमा बढेको विमानस्थलले जनाएको छ । एक वर्ष अवधिमा झन्डै डेढ लाख हवाई यात्रु थपिएका छन्। 

विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाइँका अनुसार आर्थिक वर्ष ०७३–७४ मा पोखरा विमानस्थल हुँदै चार लाख ११ हजार पाँच सय ३६ यात्रु ओहोरदोहोर गरेका थिए । त्यो संख्या आव ०७४–७५ बढेर पाँच लाख ५३ हजार दुई सय सात पुगेको छ । अघिल्लो वर्ष भन्दा ०७४–७५ मा एक लाख ४१ हजार ६ सय ७१ यात्रु थपिएको उनले बताए। 

‘आन्तरिक यात्रुले नै पोखरा उडान गर्ने एयरलाइन्सलाई राहत दिलाएका छन्,’ गुरागाइँले भने, ‘विदेशी पनि थपिएका त छन् । तर, स्वदेशी यात्रुको वृद्धिदर अधिक रहेको छ ।’ उनका अनुसार स्थलमार्ग सहज नहुनु र नेपाली नागरिकको आम्दानीको दर बढेको हवाई यात्रुको संख्याले बताउँछ । ‘पछिल्लो वर्ष स्थलमार्ग साह्रै झन्झटिलो भयो । यात्रुले राजधानी पुग्न ठूलो कष्ट सहनुपर्याे । त्यसले गर्दा हवाई यात्रु थपिएका हुन्,’ उनले भने, ‘स्थलमर्ग सहज हुन्थ्यो भने यत्ति धेरै अन्तर नहुन सक्थ्यो।’

गुरागाँइका अनसार नेपाली नागरिकको आम्दानीको दर पनि बढ्दै गएको छ । आम्दानी बढेपछि यात्रुले स्थलमार्गको साटो हवाई यात्रा गर्न थालेका छन् । ‘निजी गाडी हुने यात्रु आफ्नै साधनमा हिडेका हुन सक्छन्, अरु यात्रु त हवाईजहाज नै खोज्न थालेका छन्,’ उनले भने, ‘हवाई यात्रा सबैको प्राथमिकतामा पर्न थालेको छ । अब हवाई यात्रा धनीको साधन मात्र रहेन।’

उनका अनुसार ०७४–७५ मा तीन लाख ७८ हजार एक सय ८३ जना आन्तरिक र एक लाख ७५ हजार २४ जना विदेशी यात्रुले पोखराको हवाईमार्ग प्रयोग गरेका छन् । त्यसभन्दा अघिल्लो वर्ष दुई लाख ७२ हजार ५९ जना स्वदेशी र एक लाख ३९ हजार चार सय ७७ विदेशी यात्रु थिए । दुई वर्षको अन्तरमा एक लाख ६ हजार एक सय २४ जना स्वदेशी र ३५ हजार पाँच सय ४७ जना विदेशी पर्यटक हवाई यात्रुको रुपमा थपिएका छन्। 

स्वदेशीमा हवाई यात्रुको रुपमा भित्रिएका भारतीय पर्यटकको पनि गणना हुने गरेको छ । तर, पोखरामा हवाई यात्रुको रुपमा आउने भारतीय पर्यटक न्यून हुने गरेका छन् । पोखराबाट हवाई जहाजबाट मुक्तिनाथ जाने भारतीयको संख्या केही बढी भए पनि पोखरा–काठमाडौं–पोखरा रुटमा भने कम रहेको उनले बताए। 

‘काठमाडौंबाट हवाई यात्रुको रुपमा भित्रिने भारतीय केही उच्च ओहदा र खर्च गर्न सक्ने क्षमताका हुने गरेका छन,’ उनले भने, ‘केही उच्च घरानाका भारतीय मात्र हवाई मार्ग हुँदै काठमाडौं भएर पोखरा आउने गर्छन् ।’ मध्यवर्गीय भारतीय तीर्थयात्रीको रुपमा स्थलमार्ग हुँदै पोखरा आएर जहाजबाट जोमसोमसम्म पुग्ने उनले बताए । हवाई यात्रुमध्ये करिब १० प्रतिशत मात्र भारतीय हुनसक्ने उनको आँकलन छ।

पोखरा विमानस्थलको हवाई सञ्जाल बढ्दा पनि आन्तरिक यात्रु थपिन पुगेको गुरागाइँको भनाइ छ । पोखराबाट अहिले नियमित रुपमा भरतपुर र भैरहवासम्म उडान हुन्छ । ती रुट बाहेक पोखराबाट जोमसोम र काठमाडौं नियमित उडान भइरहेका छन् । पोखरामा हुने साहसिक गतिविधिले पनि यात्रु बढाएको उनले बताए । पोखराबाट हुने हेलिकप्टर, अल्ट्रालाइट जहाजको उडान पनि यसमै थपिन्छ। 

यात्रु बढेसँगै हवाई जहाजको उडान संख्या पनि निकै थपिएको विमानस्थलले जनाएको छ । ०७३÷७४ मा पोखरा विमानस्थलबाट ३० हजार सात सय ८४ उडान भएका थिए । त्यो संख्या पोहोर बढेर ४२ हजार पाँच सय ५५ पुगेको छ । ‘एक वर्ष अवधिमा झन्डै १२ हजार उडान थपिएका छन् । यो पनि सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने, ‘हवाई यात्रु थपिँदा उडान संख्या बढ्छन् ।’ पोखराबाट अहिले बुद्ध, यती, तारा, सिम्रिक र नेपाल एयरलाइन्सले नियमित रुपमा उडान गरिरहेका छन् ।

बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बराल पनि यात्रुको चाँप बढ्दै गएको बताउँछन् । उनले पनि आन्तरिक यात्रुका कारण हवाई उडान पनि थपिएको बताए । ‘सिजनका बेला त यात्रुले हत्तपत्ति टिकट पनि पाउँदैनन्,’ बरालले भने, ‘आन्तरिक यात्रुको हिस्सा बढ्दा हवाइ उडान थपिएका छन् ।’

विमानस्थल हरेक वर्ष नाफामा

मुलुकभरका अधिक विमानस्थल घाटामा चलिरहँदा पर्यटकीय नगरी पोखराको यो विमानस्थल बर्सेनि नाफा बढाउन सफल भएको छ । आव ०७४–७५ मा पोखरा विमानस्थलले नौ करोड १७ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आव (०७३–७४) ६ करोड ९४ लाख ३० हजार रुपैयाँ कमाइ गरेको थियो। 

आव ०७२–७३ मा यो विमानस्थलले पाँच करोड ६४ लाख ८५ हजार रुपैयाँ कमाएको थियो । आव ०७२–७३ को तुलनामा ०७३–७४ मा २५ प्रतिशत आम्दानी बढाएको विमानस्थलले अर्काे आव (०७३–७४ को तुलनामा ०७४–७५) मा ३२ प्रतिशत बढाएको विमानस्थलले जनाएको छ । ‘हवाई यात्रु बढ्नु भनेको हाम्रो आम्दानी पनि थपिनु हो । झन्डै डेढ लाख यात्रु बढ्दा आम्दानी पनि त्यही अनुरुप थपिएको छ,’ विमानस्थल प्रमुख गुरागाइँले भने, ‘यात्रु थपिँदा विमानस्थलको आम्दानी पनि थपिन्छ।’ 

यात्रु कर बाहेक विमानस्थलले जहाज अवतरण गराएबापत शुल्क पाउँछ । त्यस्तै निजी कम्पनीको ह्यांगर, एयरलाइन्सको भाडा पनि विमानस्थलको आम्दानी नै हो । ‘पोखरामा हरेक वर्ष यात्रु बढ्छन्, उडान थपिन्छन्, त्यसकै आधारमा आम्दानी पनि थपिन्छ,’ उनले भने। 

वर्ष                 स्वदेशी           विदेशी यात्रु       जम्मा यात्रु

०७४/७५           ३,७८,१८३       १,७५,०२४          ५,५३,२०७

०७३/७४           २,७२,०५९       १,३९,४७७          ४,११,५३६

बढेका यात्रु      १,०६,१२४        ३५,५४७             १,४१, ६७१

प्रकाशित: ६ भाद्र २०७५ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App