१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रथम इच्छाकामना महोत्सव हुँदै

चितवन – इच्छाकामना गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम इच्छाकामना महोत्सव–२०७५’ आयोजना गरिने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा भदौ २६ देखि असोज ६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। 

कृषिको व्यावसायीकरण र आधुनिकीकरणसँगै पर्यटन तथा उद्योगको प्रवद्र्धन गरेर गाउँपालिकाको विकास गर्न महोत्सव आयोजना गर्न लागिएको महोत्सव मुल समारोह समितिका संयोजक कृतिकुमार श्रेष्ठले जानकारी दिए । इच्छाकामना गाउँपालिकामा रहेको इच्छाकामना मन्दिर, लामो झरना, सिराइचुली, उपरदाङगढी लगायत पर्यटकिय स्थलको प्रवद्र्धन गरेर गाउँपालिकामा पर्यटक भित्र्याउन महोत्सव सहयोगी बन्ने संयोजक श्रेष्ठले बताए। 

इच्छाकामना उद्योग वाणिज्य संघ र रेडियो मनकामना एफएमको आयोजनामा महोत्सव गर्न लागिएको हो । इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ, चितवन महोत्सवको प्रवद्र्धक रहेका छन् । चेपाङ, मगर, गुरुङ जातिले सञ्चालन गरेको होमस्टेको अवलोकन र बासको व्यवस्था, त्रिशुली नदीमा र्याफ्टिङ, लामो झरनामा क्यानोनिङ, इच्छाकामना मन्दिर हुँदै सिराइचुली तथा उपरदाङगढीको पदयात्रा लगायत कार्यक्रम पनि महोत्सवमा समेटिएको महोत्सवका सहसंयोजक प्रताप गुरुङले जानकारी दिए। 

एक सय ५० भन्दा बढी स्टल रहने महोत्सवमा प्रथम इच्छाकामना डान्स आइडल २०७५, वृहत तीज गीत प्रतियोगिता पनि समावेश गरिएको छ । महोत्सवमा फोहोरबाट मोहोर बनाउने इकोसान प्रविधिबारे जानकारी गराइनेछ । महोत्सवमा हुने आम्दानीको २० प्रतिशत रकम इच्छाकामना छात्रवृत्ति कोष स्थापना गरेर राखिने संयोजक श्रेष्ठले जानकारी दिए। 

तरकारी खेती धेरै गरिने गाउँपालिकालाई समृद्ध बनाउन महोत्सवले प्रवद्र्धनको भूमिका खेल्ने इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले बताइन् । भौगोलिक बनावटले विकट रहेको गाउँपालिकामा तरकारी संकलन केन्द्र बनाउने र किसानले मिहेनत अनुसार मूल्य पाउन भनेर मूल्य निर्धारण गर्ने तयारी समेत गरिएको उनले बताइन्।

 

प्रकाशित: ६ भाद्र २०७५ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App