संगीतले पनि हामीलाई विश्वमा चिनाउन सक्छ

बुधबार, ०६ भदौ २०७५, ०८ : १३ सन्तोष शर्मा

नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । हाम्रो संगीत परापूर्वकालदेखि नै संस्कृतिसँग जोडिँदै आएको छ । हामीकहाँ जन्मदेखि मृत्युसम्मका संगीत–संस्कृति छन् । चाडपर्व, बिहा–बटुलोदेखि हरेक ऋतुअनुसारका संगीत छन् । ती संगीत विभिन्न जातजातिको परम्परासँग जीवनकै एउटा अंग भएर समिश्रण भएका छन्। 

जातजातिको यो संगीत–संस्कृतिलाई संरक्षणसँगसँगै समयसापेक्षित ढङ्गमा प्रयोग गर्दै जाने हो भने यसको वैभव–परम्पराले हामी नेपाली संगीतलाई विश्वव्यापीरूपमा परिचित र स्थापित गराउन सक्छौँ । यसका लागि हामीले जातीय संगीतको प्रयोग गरेर कर्णप्रिय र उम्दा संगीतको सिर्जना गर्न सक्नुपर्छ । आजको विश्वसंगीतसँग प्रतिस्पर्धा गर्नसक्ने ‘मेलोडी’ प्रस्तुत गर्न सक्नुपर्छ। 

यसो गर्ने हो भने यसबाट हाम्रो संगीत विश्वबजारमा पृथक् लयका साथ लोकप्रिय हुनसक्छ । जसरी भारतीयहरूले सुफी र कब्बालीलाई परिमार्जित गरी आजको श्रोता पुस्ताको कानमा सुमधुर बनाएका छन् । यो त एउटा उदाहरण मात्र हो । हामीले आफ्नो साधना र अनुभवलाई खन्याउँदै अहिलेको विश्वसंगीतको धारसँग मेल खाने मेलोडी पस्किने हो भने नेपाली संगीतले त्यो धारलाई छुन धेरै पर्खिनै पर्दैन । यसले विश्वभर लोकप्रियता र व्यवसायको खाता खोल्न सफल हुनेछ। 

हो, यसका लागि पूर्वीय, पश्चिमी र हाम्रो जातीय संगीतको गहन अध्ययनको आवश्यकता पर्छ । विद्यालय स्तरदेखि नै संगीतको औपचारिक शिक्षाको सुरुवात नभई यो कार्य सम्भव छैन । नेपालको शिक्षा नीतिले संगीतको औपचारिक शिक्षालाई पटक्कै महत्व दिएको देखिँदैन । विद्यालयको शिक्षामा सामाजिक शिक्षा विषयको १०० पूर्णांकमा २५ अंक बराबरको सिर्जनात्मक कला अभिव्यक्ति विषय अन्तर्गत संगीत विषय २०३८ सालमा नै समावेश गरेको पाइन्छ तर संगीत शिक्षकको अभावमा होला विद्यालयले संगीत विषयको पढाइलाई सुचारु गर्न सकेका छैनन्। 

अधिकांश विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत संगीत तथा नृत्यलाई सिकाइने र प्रस्तुत गरिने परम्परा आजसम्म यथावत छँदै छ । अतिरिक्त क्रियाकलापहरू भनेको गरे पनि हुने, नगरे पनि हुने विषय हो । जब कि संसारका विभिन्न देशहरूमा भएका अध्ययनहरूले बालबालिकाको मानसिक विकास तथा सिर्जनशीलताको वृद्धि गर्नमा विद्यालय स्तरमा संगीत शिक्षाले महत्वपूर्ण योगदान पुर्याउने कुरा प्रमाणित भइसकेको छ र उनीहरूले विद्यालयको शिक्षामा संगीत विषयलाई अनिवार्य बनाएका छन् । हुन सक्छ, यही कुरालाई हृदयङ्गम गरी शिक्षा मन्त्रालयले पाठ्यक्रमको विकास गर्ने अभिभारासहित झण्डै डेढ दशक अगाडि पाइलट विद्यालयका रूपमा ‘नेपाल संगीत विद्यालय’को स्थापना तथा सञ्चालन गर्न स्वीकृति प्रदान ग¥यो । म्युजिक नेपालको अनुरोधमा शिक्षा मन्त्रालयले यस्तो अनुमति प्रदान गरेको हो । तर यो स्वीकृति झारा टार्ने हिसाबले प्रदान गरेको भन्दा कुनै गतिलो अभियान चलाउन सकेन मन्त्रालयले।

२०६२ को सरस्वती पूजाको दिनदेखि प्रसिद्ध संगीतकार अम्बर गुरुङ प्रधान अध्यापक भई नेपाल संगीत विद्यालयले आफ्नो यात्रा सुरु गर्याे । त्यसपछि संगीतको विभिन्न विधाको अनौपचारिक प्रशिक्षण प्रदान गर्दै विद्यालयमा संगीतको औपचारिक अध्यापनका लागि पाठ्यक्रम विकासमा जुट्यो । विसं २०६९ को अन्त्यतिर यसले शिक्षा–मन्त्रालयमा कक्षा १ देखि १० सम्मको पाठ्यक्रमको रूपरेखाको सुझाव पेस गर्याे । शिक्षा मन्त्रालयले विसं २०७० मा कक्षा ६ को पाठ्यक्रम र क्रमशः २०७१ मा कक्षा ७ र २०७२ मा कक्षा ८ मा १०० पूर्णांकको इच्छाधीन विषयका रुपमा ‘संगीत’ विषयको पनि औपचारिक पठनपाठन हुन सक्ने व्यवस्था गर्याे । तर कक्षा १–५ सम्मको र कक्षा ९–१० को पाठ्यक्रमहरू लागू भइसकेका छैनन् । पाठ्यक्रम विकास केन्द्रमा फ्याँकिएर बसेका छन्। 

सबै पाठ्यक्रममा नेपाली जातीय संगीतका साथै पूर्वेली शास्त्रीय संगीत तथा पश्चिमी संगीतको अध्यापनको पाठ्यक्रम पनि समावेश गरिएको छ । दुर्भाग्यवश शिक्षकको अभावमा विद्यालयहरूमा यस विषयको अध्यापन नगण्य रूपमा गराइएको पाइन्छ । एक हिसाबले भन्दा पाठ्यक्रमा मात्र सीमित छ, पढे पनि हुने, नपढे पनि । मानौँ संगीतको शिक्षा आवश्यक नै छैन । यसले विद्यार्थीलाई अरू विषयको शिक्षामा जस्तो भविष्यको प्रत्याभूति गराउँदैन । तर यो कुरा नितान्त कपोकल्पित र आज विश्वस्तरीय संगीतको ज्ञान र अनुभव नभएका कथित विद्वान्हरूले मनोगत हिसाबमा गरेको प्रक्षेपण मात्र हो । आज संगीत–शिक्षामा विश्वभर जुन क्रान्ति आएको छ, त्यसको अध्ययन गर्नसम्म पनि हाम्रा नीतिनिर्माता चाहँदैनन्।

जुन बेलादेखि यस विषयको व्यापकरूपमा विद्यालयस्तरमा अध्यापन गराउन थालिन्छ, तब नेपाली संगीतको विकासमा यसले कसैले नसोचेको योगदान पुर्याउनेछ । हाम्रो परम्परागत संगीतको संरक्षण हुनुका साथै यसको पुस्तान्तरणसमेत हुनेछ । पुर्खाले आर्जेका हाम्रा सांगीतिक वैभवको प्रयोगबाट हाम्रो संगीत समृद्ध हुनेछ र केही समयपश्चात् नेपाली संगीतले विश्वबजारमा आफ्नो स्थान बनाउनेछ । यो भनेको कलाका लागि मात्र होइन,  राष्ट्रको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ । अझ महत्वपूर्ण कुरा त तराई, पहाड, हिमालका सबै जातजातिलाई यही संगीतका माध्यमले एकीकरण गर्नेछ । किनभने संगीतको शिक्षा आरम्भ भएपछि कुनै पनि जाति–सम्प्रदायको संगीत त्यही भूगोल र सम्प्रदायमा मात्र सीमित रहनेछैन । मधेसका थारु, दनुवार, यादवहरूले आफ्नो जातीय संगीतसँगसँगै पश्चिमको देउडा र हिमालको सेलो गाउनेछन् । हिमाल र पहाडकाले भोजपुरी र मैथिली संगीतका राग अलाप्नेछन् । र नेपालभरिका सम्पूर्ण जातीय संगीत सारा नेपालीको हुनेछ। 

संगीतको शिक्षा, गाउँगाउँका विद्यालयहरूमा हुन थालेपछि एउटै पाठ्यक्रम अन्तर्गत उनीहरूले सबै क्षेत्र र जातिका लोक गीत–संगीतहरूको अध्ययन गर्नेछन् र सबै जातिले सबै जातिका गीत–संगीतको ज्ञान हासिल गर्नेछन् । बाल–किशोर अवस्थादेखि नै देशभरिको जातीय संगीतको अध्ययन गर्दै जाने विद्यार्थीले उच्च शिक्षासम्म पुग्दा संगीतमा समग्र नेपाललाई जान्छ, बुझ्छ र गाउँछ । त्यसपछि इलाममा देउडा गाइनेछ । वीरगञ्ज र भैरहवामा सँगिनी गाइनेछ । बैतडीमा मारुनी गाइनेछ । समग्र देशमा सबै जातिको संगीत साझा हुनेछ । सबैका लागि सबैको संगीत आफ्ना हुनेछ । सहिष्णुतापूर्ण आबद्धता त्यसपछि व्यापक हुनेछ । यसरी संगीत शिक्षाका माध्यमले बाल्यावस्थादेखि नै थाहै नपाई ‘इमोसनल अट्याचमेन्ट’ हुन पुग्नेछ । एउटै सांगीतिक डोरीमा सारा नेपालीमन र हृदय बाँधिनेछन् ।

यस्तो महत्वपूर्ण घडीमा सरकारले शिक्षकको अभावमा संगीतको कक्षा सञ्चालनमा ढिलाइ गर्दा देशले ठूलो नोक्सानी व्यहोरिरहेको छ । तर यसको पनि समाधान छ । यसका लागि जबसम्म औपचारिक शिक्षा आर्जन गरेका संगीत शिक्षक उत्पादन हुँदैनन, त्यस बेलासम्मका लागि हाम्रा गाउँघरका स्थानीय लोकगीतका गायक÷गायिकाहरूलाई प्रयोग गर्न सकिन्छ । उनीहरू संगीतसँग त पहिलेदेखि नै परिचित भइसकेका हुन्छन् । उनीहरूमा खालि यसको सैद्धान्तिक ज्ञानको मात्र कमी हुन्छ । यदि यस्ता प्रतिभालाई छोटो अवधिको प्रशिक्षण दियो भने उनीहरूले सजिलै सैद्धान्तिक कुरा पनि सिक्न सक्छन् र पाठ्यक्रमअनुसारको कक्षा लिन समर्थ हुनेछन् । 

यसैबीच संगीतको औपचारिक शिक्षामा अर्को महत्वपूर्ण उपलब्धि हासिल भएको छ । शिक्षा मन्त्रालयले २०१२ मा व्यावसायिक तथा प्राविधिक धारअन्तर्गत इन्जिनियरिङ र कृषिका पाँच विषयहरूमा ९–१२ को कक्षा सञ्चालन गराउने नीति लागू गर्याे । विसं २०७२ मा उक्त धारअन्तर्गत संगीतलाई छैटौँ विषयका रूपमा प्रवेश गरायो र नेपाल संगीत विद्यालयलाई ९–१२ को कक्षा सञ्चालन गर्न स्वीकृति प्रदान गर्याे । यस धारमा जम्मा १००० पूर्णाङ्कको पढाइ हुन्छ जसमध्ये ६०० पूर्णांक संगीत र सोसँग सम्बन्धित विषय पढाइन्छ भने बाँकी ४०० पूर्णांकको साधारण धारकै पाठ्यक्रमअनुसार अंग्रेजी, नेपाली, गणित र विज्ञान पढाइन्छ । भनिन्छ, एसिया प्यासिफिक क्षेत्रमा संगीतलाई यस धारअन्तर्गत अध्ययन गराउने नेपाल पहिलो देश भएको छ । यसअन्तर्गत पहिलो ब्याचका पाँच विद्यार्थीले यस वर्षको एसइई परीक्षामा उच्च अङ्क लिएर शतप्रतिशत उत्तीर्ण भएका छन्। 

यस सम्भावनालाई स्वीकार्दै अब नेपाल संगीत विद्यालय कक्षा ११ सञ्चालनको तयारीमा छ । कक्षा ११ सञ्चालनका लागि आवश्यक पाठ्यक्रम स्वीकृति भइसकेको छ । यस धारको पाठ्यक्रममा पनि हाम्रो जातीय, पूर्वीय, शास्त्रीय र पश्चिमेली संगीतको पढाइ समावेश गरिएको छ । नेपाल संगीत विद्यालय, नेपाल म्युजिक सेन्टर शैक्षिक गुठीअन्तर्गत सञ्चालित छ । यस गुठीको कार्यकारी समितिको अध्यक्ष संस्कृतिविद् सत्यमोहन जोशी स्वयं हुनुहुन्छ भने नेपाल संगीत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष वरिष्ठ गीतकार रत्नशम्सेर थापा हुनुहुन्छ । यी दुई अग्रज व्यक्तित्वहरूको नेतृत्वमा संगीतको औपचारिक शिक्षाको प्रवद्र्धन गर्ने कार्य भइरहेको छ। 

यस अर्थमा संगीतको शिक्षामा श्वेतक्रान्तिको सुरुवात भएको छ भन्दा अतिशयोक्ति नहोला । यसको फल प्राप्त गर्न अवश्य नै केही वर्ष कुर्नुपर्ने हुन्छ तर यसको फल स्वादिलो हुनेमा शङ्का छैन। 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad