१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडाैं महानगर : घर बहाल कर घट्याे, डेरा भाडा बढेकाे बढ्यै

काठमाडौं– काठमाडौं महानगरपालिकाले यस वर्ष घर बहाल कर २ प्रतिशतले घटाएको छ। तर काठमाडौंका घरधनीले कर बढेको भनेर अन्धाधुन्ध डेरा भाडा बढाइरहेका छन्। देशव्यापी करवृद्धि भइरहेका बेला काठमाडौं महानगरले भने घर बहालसहित केही सेवामा कर घटाएको छ। महानगरले कर घटाएपनि घरधनी भने कर बढेको बहाना बनाएर पढ्न राजधानी आएका विद्यार्थीको ढाड सेक्नेगरी भाडा बढाउन प्रतिस्पर्धा गरिरहेका छन्। 

महानगरकाे राजश्व विभागले सार्वजनिक सूचना जारी गरी चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने जानकारी दिएको छ। उसले गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर संकलन गर्दै आएको र यस आवमा भने २ प्रतिशत घटाएर १० प्रतिशत बहाल कर उठाउने स्पष्ट पारेको हो।

कामपाले चालु आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर पनि निःशुल्क गरेको छ। निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपाङ्गत भएका व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिसलगायत छन्। 

त्यस्तै घटना दर्ता–जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद जस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराए मात्र निःशुल्क हुने व्यवस्था गरेको छ। गएको वर्ष रु १० हजार लिइँदै आएको वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस दस्तुर घटाएर यो वर्ष रु दुई हजार ५०० कायम गरिएको छ। व्यवसाय बन्द वा सञ्चालन सिफारिसमा गएको वर्ष रु २००० लिइँदै आएकोमा यसवर्ष १ हजार लिइने भएको छ। 

गएको वर्ष जग्गा दर्ता सिफारिसमा रु पाँच हजार लिने गरिएको थियो। त्यसलाई घटाएर यस वर्ष रु तीन हजार कायम गरिएको कामपाले जनाएको छ। 

प्रकाशित: ५ भाद्र २०७५ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App