१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अझै गठन भएन विधान मस्यौदा समिति

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गर्न नसक्दा भदौमा गर्ने भनिएको महासमिति बैठक अन्योलमा परेको छ। चार महिनाअघि सम्पन्न केन्द्रीय समिति बैठकले नयाँ संविधानअनुसार पार्टी संरचना परिर्वतन गर्न र प्रतिनिधि र प्रदेशसभा निर्वाचन पराजयपछि संगठन सुदृढीकरणको रणनीति बनाउन कांग्रेसले भदौंमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो।

सभापति शेरबहादुर देउवा र नेता रामचडेलबीच मस्यौदा समितिमा सहभागी गराउने संख्या र सदस्यको नामलाई लिएर विवाद हुँदा प्रत्यक वर्ष हुनुपर्ने महासमिति अन्योलमा परेको छ। केन्द्रीय समिति बैठक सकिएको चार महिना बित्दा विधान संशोधन मस्यौदा समितिसमेत गठन नभएपछि कांग्रेस महासमिति बैठक भदौमा नहुने निश्चित भएको छ । विधान संशोधन र संगठन सुदृढीकरणको कार्ययोजना तयार नहुँदा कांग्रेस महासमिति बैठक अब कहिले हुने भन्नेसमेत टुंगो छैन।

कांग्रेस नेता पौडेलले विधान संशोधन मस्यौदा समिति गठन नगरेर सभापति देउवाले महासमिति बैठक टार्न लागेको आरोप लगाए। तीन हप्ता अघि नै आपूmले समितिमा सहभागी गराउने नेताहरुको नाम सभापतिलाई उपलब्ध गराएको बताउँदै पौडेलले भने, ‘महासमिति टार्नसभापति खल्तीमा लिस्ट बोकेर हिंँडिरहनु भएको छ । बैठक सार्ने कुरा हामीलाई मान्य छैन।’

तत्काल विधान संशोधनका लागि समस्यौदा समिति गठन गरेर दिनरात काम गरेर भदौंमै महासमिति गर्नुपर्ने पौडेलको तर्क छ। आन्तरिक झमेलाबाट माथि उठेर जनतामाझ जानुपर्ने बताउँदै पौडेलले भने, ‘अब पार्टीलाई वर्वादी हुनबाट जोगाउनुपर्छ। जनतासँग जोडिनुपर्छ।’

सभापति देउवासहित संस्थापन पक्षका नेताहरु भदौं १०भित्र विधान संशोधनका लागि मस्यौदा समिति गठन गर्ने र दसैं तिहारपछि मात्र महासमिति बैठकको तयारीमा छन्। यसबीचमा सातवटै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण राख्ने तयारी छ।

विधान मस्यौदा समिति गठनपछि महासमिति र अन्य तयारीका लागि ४० दिन समय लाग्ने सुनाउँदै सभापति निकट एक नेताले भने, ‘महासमिति सकेर दशैं मान्नजाने कि तिहार मानेर महासमिति गर्ने केही दिनमा टुंगो लाग्छ।’

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चाँडै नै विधान मस्यौदा समिति गठन हुने दाबी गरे । ‘मस्यौदा समितिको नामावली टुंगो लागि सकेको छ,’ शर्माले भने, ‘मस्यौदा समितिले लिने समय हेरेर महासमिति बैठक सर्ने÷नसर्ने टुंगो हुन्छ।’

बैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले नयाँ संविधानको व्यवस्था अनुसार स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुर्नसंरचनाका लागि पार्टी विधान संशोधन गरी समय अनुकूल बनाउने निर्णय गरेको थियो।

त्यस्तै, कांग्रेसले संगठन सुदृढीकरणका लागि संघीय संसद, प्रदेश र स्थानीय तहदेखि सबै तहका पार्टी नेता तथा कार्यकर्ता परिचालनका लागि एकिकृत राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, अहिलेसम्म उसले आन्तरिक छलफलसमेत सुरु गरेको छैन।

महासमिति बैठकबाट संगठन सुदृढीकरणका लागि थप रणनीति बनाउने निर्णय गरेको कांग्रेसले तात्कालिन नेपाल लोकतान्त्रिक फोरममा सक्रिय सबैलाई एक महिनाभित्र समायोजन गर्ने निर्णय लिगेको थियो। तर, आन्तरिक विवादमा रुमल्लीदा कांग्रेसले त्यसमासमेत तदारुकता देखाउन सकेको छैन।

प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेसको सदन र सडक दुबैमा उपस्थीति कमजोर बनेको भन्दै निकटहरुलेसमेत आलोचना गर्दै आएका छन्। पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन भएको भदौं १ गते दुई वर्ष पूरा भएको छ। तर, १२औं महाधिवेशनको अझै टुंगो लाग्न सकेको छैन।

प्रकाशित: ५ भाद्र २०७५ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App