१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महानगरको सुरक्षा व्यवस्था प्रविधिमैत्री बनाइने

काठमाडौ- महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले काठमाडौको शान्ति सुरक्षामा शारिरीक उपस्थितिलाई भन्दा प्रविधिलाई बढी जोड दिने बताएका छन्।

प्रहरी सेवालाई प्रभावकारी बनाउन महानगरपालिका भित्रको शान्ति सुरक्षा र अपराध नियन्त्रण र त्यसको अनुसन्धानका लागि शारिरीक उपस्थिति भन्दा प्रविधिलाई प्रयोग गर्दा प्रभावकारी हुने भएकाले सकेसम्म प्रविधिको प्रयोगलाई जोड दिने बताए। उनले राजधानीबासीलाई शान्ति सुरक्षाको महसुस दिलाउन काठमाडौकै दुर्गम क्षेत्रमा पनि प्रहरीको उपस्थिति पुर्याउने दावी गरे। ‘महानगरभित्र प्रविधिमैत्री शान्ति सुरक्षा कायम गरिने छ भने काठमाडौकै कतिपय क्षेत्रमा प्रहरी नपुगेको गुनासो आएको छ त्यसलाई पनि समाधान गरी काठमाडौंका हरेक नागिरकले शान्ति सुरक्षाको महुशस गर्नेछन्’, चार दिन अघि काठमाडौं प्रहरी परिसरको कामान्ड सम्हाल्न आएका एसएसपी लामाले भने।

काठमाडौ परिसरको जिम्मेवारी लिएपछि एसएसपी लामाले सोमबार दिउँसो पहिलो पत्रकार सम्मेलन गर्दै काठमाडौंको शान्ति सुरक्षालाई चुस्त दुरूस्त पार्न आफूले जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताए। ‘मलाई गृहमन्त्रालय र आइजीपीले विश्वास गरेर काम गर्न सक्छ भन्ने अपेक्षा गरेर काठमाडौं परिसरको जिम्मा दिएको हो त्यसलाई पूरा गर्नेछु’, उनले भने। उनले राजधानीको शान्ति सुरक्षासँग मुलुककै सुरक्षाको भविष्य जोडिएको भन्दै काठमाडौंको शान्ति सुरक्षा र नागरिक सेवालाई प्रभावकारी बनाउन आफूले पहिलो प्राथमिकतामा राखेको पनि बताए। उनले कोही कसैले अवैद्य गतिविधि गर्न नपाउने यदि त्यस्तो पाइएमा कारवाही गरिने बताए।

 एसएसपी लामाले भूमिगत शैलीमा काठमाडौंमा हुने गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विषेश कदम चालिने पनि प्रष्टपारे। उनले गुण्डागर्दीको शैली फेरिएको बताउँदै पहिलाको जस्तो टोलटोलमा गुण्डागर्दी नहुने तर पैसा भएका व्यक्तिहरुलाई तर्साउने गरेको बताए। ‘लुकेर हुने गरेको गुण्डागर्दी नियन्त्रण गर्ने केही योजनाहरू छन् त्यसलाई मेरो कार्यकालमा लागु गर्नेछु जसका लागि व्यापारीहरुले पनि सहयोग गर्नुपर्नेछ’, एसएसपी लामाले भने।

पत्रकार सम्मेलनमा आफू मातहतका सबै कर्मचारीलाई आर्थिक प्रलोभनमा नपर्न समेत आग्रह गरे। भ्रष्टचारमुक्त प्रहरी बनाउन शुन्य सहनशीलताका नीतिलाई सदैव पालना गरिएको बताउँदै उनले आफू रहँदासम्म आर्थिक प्रलोभनमा परि काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई नजोगाउने चेतावनी दिए। ‘ठूलो संगठन भएकाले केही कर्मचारीबाट गलत काम भएको पनि हुनसक्छ तर सबै प्रहरी कर्मचारी त्यसमा लागेका हुँदैनन असल पनि छन’, उनले भने।

 त्रिपालमुक्त प्रहरी कार्यालय

२०७२ सालको महाभुकम्पपछि महानगरीय प्रहरी परिसर काठमाडौ टेकुस्थित नेशनल ट्रेडिङको भवन सरेको थियो। केही प्रशासनिक कार्यालयहरु सोही भवन भएपनि अधिकांश कार्यालय त्रिपालमुनि रहेका छन्। त्यतिमात्र होइन प्रहरीको आवास पनि त्रिपाल मुनि रहेको छ। लामो समयसम्म कार्यालय र आवास दुवै त्रिपाल मुनि रहेकाले त्यसलाई हटाएर भवनमा राख्ने योजना रहेको एसएसपी लामाले बताए। ‘दैनिक १४ देखि १८ घण्टा ड्यूटी गर्ने प्रहरीहरू अझै पालमुनी सुत्नुपरेको छ, पालमा बसेका प्रहरीलाई सुत्ने ब्यवस्था राम्रो भए प्रहरी काम कारबाहीमा समेत उत्साही हुनेछन्’, एसएसपी लामाले भने ‘२०७२ सालको भूकम्पपछि पालमा बस्दै आएका प्रहरी अझै पालमै छन्, पालमा रहेकालाई भवनमा सार्ने राज्यको नीति होला तर, तत्काल त्यो समस्या समाधान गर्न जरूरी छ म त्यसको लागि पहल गर्नेछु।’

प्रकाशित: ४ भाद्र २०७५ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App