१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

दुई वर्षभित्र साक्षर नेपाल बनाइने : शिक्षामन्त्री पोखरेल

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र साक्षर नेपाल बनाइने बताएका छन्।प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८ औं वार्षिकोत्सव समारोहलाई साेमवार सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन आग्रह समेत गरे। यस वर्ष सञ्चालन गरेको विद्यालय भर्ना अभियान नमूना भएको र भदौभित्र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए।

मन्त्री पाेखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताए। “उच्च शिक्षा लिएर पनि कतिपय विद्यार्थी बेरोजगार भएका छन्”, पोखरेलले  भने , “अब बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ, त्यसतर्फ ध्यान दिनु जरुरी छ।” उनले परम्परागत रुपमा विश्वविद्यालय चलेकाले अब नयाँ ढङ्गले शिक्षा दिनुपर्ने धारणा राखे।

शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउनुपर्नेमा जोड दिए। शिक्षा व्यापार नभई सेवा भएकाले त्यही अनुसार काम गर्नुपर्ने उनकाे भनाइ थियो। दुई वर्षभित्र साक्षर नेपाल बनाइने मन्त्री पोखरेलले घोषणा गरे।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा. तीर्थ खनियाँले आरआर क्याम्पसले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै त्रिविको शिक्षाको गुणस्तर सुधार्न आफू लागिपरेको बताए। क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले आर्थिक वर्ष २०७५/७६ को कार्ययोजना पेश गर्दै आरआरलाई नमूना बनाइने बताइन। रासस

प्रकाशित: ४ भाद्र २०७५ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App