१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दोहोरो नागरिकलाई प्रहरीको संरक्षण !

जनकपुरधाम - नेपाल–भारत दुवै देशको नागरिकता र राहदानी लिएर नेपालमा ठगी गर्दैै हिँड्ने व्यक्तिलाई प्रहरीले संरक्षण गरिरहेको छ।

आवश्यकताअनुसार भारतको नागरिकता, रासन कार्ड र राहदानीसमेत प्रयोग गर्ने सुरेश कुमार भनिने सुरेशकुमार तुल्स्यानले २०६४ मंसिर १४ गते जिल्ला प्रशासन कार्यालय, धनुषाबाट नागरिकता लिए। जन्मको आधारमा जनकपुर–४ धनुषाको ठेगानामा नागरिकता लिएका उनले २०६८ कात्तिक ७ गते जोरपाटी–७ काठमाडौंमा बसाइँ सराइ गराए । त्यसको एक वर्ष नपुग्दै २०६९ कात्तिक २ गते छोरा आयुष तुल्स्यानलाई सोही ठेगानाबाट वंशजका आधारमा नागरिकता दिलाए।

नेपाल–भारत दुवै देशको नागरिकता र राहदानी लिएर खुलेआम नेपालमा ठगी धन्धामा सक्रिय सुरेश कुमार भनिने सुरेशकुमार तुल्स्यानलाई बचाउन धनुषा प्रहरी सक्रिय।

मधेस आन्दोलनको दबाबमा सरकारले २०६४ सालमा गाउँगाउँमा मोबाइल टोली परिचालन गरी नागरिकता वितरण गरेको थियो। टोलीले सहज रूपमा नागरिकता वितरण गरिरहेको मौका छोपेर तुल्स्यानले जनकपुर–४ को नक्कली ठेगाना खडा गरी नागरिकता लिएको उनी निकट स्रोतको दाबी छ। तुल्स्यानले नागरिकता प्रमाणपत्रमा बाबुको नाम रामअवतार प्रसाद र आमाको नाम तारादेवी उल्लेख गरेका छन्। उनले जनकपुरबाट नेपाली नागरिकता पाएलगत्तै नेपाली राहदानी पनि लिइहाले। नेपाली राहदानी पाउनासाथ नेपाली नागरिकको हैसियतले देशविदेश दौडधुप गर्न थालेका उनले अनेकौं ठगी धन्धा सञ्चालन गरेको पीडितको आरोप छ।

दुई साताअघि पीडितमध्येकै एक जनाले तुल्स्यानविरुद्ध प्रमाणसहित जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी गरे। सोही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ पनि ग¥यो । पक्राउ परेलगत्तै कानुनअनुसार उनीविरुद्ध आवश्यक अनुसन्धान गरी प्रहरीले जिल्ला अदालतमा कारबाहीका लागि पेस गर्नुपर्नेमा दुई दिनपछि त्यसै छोडियो।

सूचना प्राप्त हुनासाथ प्रहरीले कारबाही प्रक्रिया सुरु गर्नुपर्नेमा लिखितै उजुरी गर्दा पनि उल्टै बचाउ गरेको देखेपछि उजुरीकर्ता तर्सिएका छन्। उनी कानुनको धज्जी उडाउने व्यक्तिलाई कारबाहीको दायरामा राख्नुपर्ने प्रहरीले उन्मुक्ति दिनुको कारण खोज्दै भौंतारिन थालेका छन्। प्रहरी कार्यालयमा पुनः ताकेदा गर्न जाँदा जिल्ला प्रशासन कार्यालयले अपराध अनुसन्धानका लागि म्याद थप नगरिदिएका कारण छोड्न बाध्य भएको प्रतिक्रिया पाएको उनले नागरिकलाई सुनाए।

प्रहरीको जबाफले चित्त नबुझेपछि उनी जिल्ला प्रशासन कार्यालय पुगे। कायममुकायम (कामु) प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उक्त मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्नै नमिल्ने जबाफ फर्काए। प्रमुख जिल्ला अधिकारीबाटै त्यस्तो जबाफ आएपछि उजुरीकर्ताले नियमनकारी निकायबाटै असुरक्षित महसुस गर्न थालेका छन्। तर, कसैगरी अपराधीलाई कारबाही हुनुपर्ने अडान लिँदै उनले स्थानीय सञ्चारकर्मीसँग पैरवी गर्न थालेका छन्।

कानुनविपरित दोहोरो नागरिकता धारण गर्ने तुल्स्यानविरुद्ध लागेको आरोप पुष्टि गर्ने आवश्यक सम्पूर्ण प्रमाणसहित आएको उजुरीलाई प्रहरीले बेवास्ता गरेको छ।

धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले तुल्स्यानको नागरिकतासम्बन्धी विषयमा खुलेर बोल्न मानेनन्। एसपी थपलियाले भने, ‘दोहोरो नागरिकतासम्बन्धी विषयमा सूक्ष्म अनुसन्धान जारी छ।’ उनले तुल्स्यानलाई तत्काल तारेखमा राखेर एकजनाको जमानतमा छोडिएको बताए।

तुल्स्यान बिरामी रहेको र उपचारका लागि काठमाडौं जानुपर्ने बताएपछि तत्काल छोडिएको थपलियाको भनाइ थियो। जिल्ला प्रहरी कार्यालयकै एक प्रहरी अधिकृतले भने थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने व्यक्तिलाई प्रहरीले तारेखमा छाडेकोमा आश्चर्य व्यक्त गरे। ‘उजुरीसँगै आएको तुल्स्यानविरुद्धको कागजातका आधारमा सामान्य अनुसन्धानपछि मुद्दा चलाउनुपर्ने व्यक्तिलाई ठूलै व्यक्तिको दबाब अथवा आर्थिक प्रभावमा छोडिएको हुनुपर्छ’, ती अधिकृतले आशंका व्यक्त गरे। जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले पनि नागरिकता मुद्दामा आर्थिक चलखेल गरी दोषी उम्काउने प्रयास भइरहेको दाबी गरेका छन्।

प्रकाशित: ४ भाद्र २०७५ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App