१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एघारौं सूचना दिवसः सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन्।

एघारौं राष्ट्रिय सूचना दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुशरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान पनि गरेका छन्। 

राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले जानकारी दिएका छन्। ‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरातर्फ समेत सजग गराउँछु’, ओलीले भनेका छन्।

सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने तर्फ सचेत गराएका छन्। 

वर्तमान सरकार पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहीताको संस्कृतिमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सुशासनलाई मजबुद बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ।’

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आम जनतालाई आफ्नो सरोकार र सार्वजनिक चासोको सूचना माग्ने र पाउने अभियानमा लाग्न आह्वान गरेका छन्।

विस २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। सूचनाकाे हक स्थापित गर्न राष्ट्रिय सूचना आयोगले काम गरिरहेकाे छ।

एघारौं सूचना दिवस मनाइरहँदा विगत ११ वर्षको अवधिमा सूचना प्राप्तिमा हासिल भएका महत्वपूर्ण उपलब्धि, सूचनाको हकसम्बन्धी व्यवस्था र यसका चुनौतीका विषयमा बहस र छलफल भइरहेको छ। 

नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था भएपछि सार्वजनिक चासोको सूचना माग्ने र पाउने हकको कार्यान्वयन क्रमिकरूपमा वृद्धि भइरहेको छ भने सूचनामा जनस्तरको पहुँच वृद्धि भएको छ। 

प्रकाशित: ३ भाद्र २०७५ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App