१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मार्चपासमा ‘सेभ दी मिसन’ अनुपस्थित

जकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा भएको भव्य समारोहमा मार्च पास गर्दै नेपाली टोली । तस्बिरः एपी

जकार्ता – एसियाली खेलकुद सहभागिता इतिहासमा नेपालले पहिलो पटक उद्घाटन समारोहमा ‘सेभ दी मिसन’ को अनुपस्थितिमा मार्चपास गरेको छ। 

एसियाली खेलकुदको नेपाली टोलीको नेतृत्व गर्दै सेभ दी मिसनको भूमिका लिएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट शनिबार रंगशाला पुगेर पनि मार्चपासमा सहभागी भएनन्। 

विगतमा परिषद् र नेपाल ओलम्पिक कमिटीबीच विवाद हुँदा सेभ दी मिसन पदका लागि परिषद्का सदस्यसचिवले ठूलै बबन्डर मच्चाउने गरेको इतिहास थियो । यसपालि भने परिषद् र एनओसी दुवैको नेतृत्व एउटै पार्टी (नेपाल कम्युनिस्ट पार्टी)का नेतामा हुँदा नेपाली खेलकुदका दुई प्रमुख निकायबीच सहकार्य राम्रो थियो । एनओसीले पनि सरकारी प्रतिनिधि परिषद्लाई खुसी पार्न सेभ दी मिसनको जिम्मेवारी सदस्यसचिवमा समर्पण गरिसकेको थियो। तर पूरा टिमको नेतृत्व गर्नुपर्ने जिम्मेवारी भएका सदस्यसचिव विष्ट शनिबार रंगशाला पुगेर पनि मार्चपासमा हिँड्ने उपलब्धिलाई ‘कष्ट’ सम्झेर भिआइपी प्यारापिटमै बसेको एनओसीका एक उच्च अधिकारीले बताए । मार्चपासमा नेपालको तर्फबाट ८० खेलाडी तथा खेलकर्मी सहभागी थिए । मार्चपासमा नेपालको झन्डा भारोत्तोलनका दक्षिण एसियाली स्वर्ण पदकधारी खेलाडी कमलबहादुर अधिकारीले बोकेका थिए । शनिबार भएको उद्घाटन समारोहको मार्चपासमा नेपाली फुटबल टोली पनि सहभागी थिएन। 

पूरा टिमको नेतृत्व गर्नुपर्ने जिम्मेवारी भएका सदस्यसचिव विष्ट शनिबार रंगशाला पुगेर पनि मार्चपासमा हिँड्ने उपलब्धिलाई ‘कष्ट’ सम्झेर भिआइपी प्यारापिटमै बसेको एनओसीका एक उच्च अधिकारीले बताए।

आइतबार पाकिस्तानविरुद्ध समूहचरणको अन्तिम खेलका लागि तयारीमा रहेको फुटबल टोली उद्घाटन स्थलभन्दा धेरै टाढा रहेकाले मार्चपासमा सहभागी नभएको हो । समूहको पहिलो दुई खेल हारेको पाकिस्तानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । पाकिस्तानलाई राम्रो गोलअन्तरमा हराएर तेस्रो स्थानको उत्कृष्ट चार टोलीभित्र पर्न सक्यो भने नेपालले अन्तिम १६ मा स्थान बनाउन सक्छ।

लामो समय शत्रुतापूर्ण सम्बन्धमा रहेका दुई दक्षिण र उत्तर कोरियाका खेलाडीले संयुक्त झन्डा बोकेर मार्चपास गरेको दृश्यले जकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा भएको भव्य समारोहको सबै तामझामलाई छायाँमा पार्याे । १९५० देखि १९५३ सम्म द्वन्द्वमा फसेका दुई देशबीचको सम्बन्ध त्यसयता राम्रो थिएन । पछिल्लो समय सम्बन्ध सुधारेका उत्तर र दक्षिण कोरियाले तीन खेलमा संयुक्त टोली खेलाएका छन्। 

दक्षिण कोरियाका बास्केटबल खेलाडी लिम युङ–हुइ र उत्तर कोरियाका फुटबलर यु योङ चोलले संयुक्त रूपमा झन्डा बोकेका थिए । दुई कोरियाका खेलाडीले संयुक्त मार्चपास गर्दा रंगशाला गुञ्जायमान भएको थियो । साथमा दुवै कोरियाले आ–आफ्नो झन्डा पनि बोकेकाले मार्चपासमा कोरियाको तीनवटा झन्डा भएका थिए । यसअघि दुई कोरियाले विन्टर ओलम्पिकको उद्घाटन समारोहमा पनि संयुक्त मार्चपास गरेका थिए। 

दुई कोरियाका खेलाडीले संयुक्त मार्चपास गर्दा रंगशाला गुञ्जायमान भएको थियो।

रंगशालाभित्र बनाइएको १ सय २० मिटर लम्बाइ, ३० मिटर चौडाइ र २६ मिटर उचाइ भएको स्टेजले इन्डोनसियाको प्राकृतिक र भौगोलिक वातारवरणलाई प्रतिबिम्बित गरेको थियो । अफगानिस्तानका खेलाडीहरू मार्चपासमा निस्कनुअघि उक्त स्टेजमा १५ सय कलाकारले परम्परागत प्रस्तुति दिएका थिए।

हिजो बसेको एसियन ओलमिपक कमिटी (ओसिए) को बैठकले कुवेतको प्रतिबन्ध फुकुवा गरेका कारण कुवेतले पनि आफ्नै झन्डामुनि मार्चपास गरेको थियो।

प्रकाशित: ३ भाद्र २०७५ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App