१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

तेक्वान्दोको पुरानै साख फर्काउने लक्ष्य

जकार्ता – अन्तर्राष्ट्रिय खेलकुदमा तेक्वान्दो नेपालको सबभन्दा सफल खेल हो । नेपाललाई आवश्यकता पर्दा यही खेलले नेपालको इज्जत जोगाएका धेरै गौरवमय स्मरण छन्। 

पछिल्लो समय तेक्वान्दो पनि नेपाली खेलकुदको फोहोरी राजनीतिको हिस्सा बन्दा अन्तर्राष्ट्रिय स्पर्धामा नेपालले गौरव गर्दै आएको खेलका समर्थकलाई खुसी दिन असफल भइरहेको छ । एसियाली खेलकुदमा सबभन्दा बढी एक रजतसहित १६ पदक जितेको तेक्वान्दो एसियाको सबभन्दा ठूलो खेलमेलाका पछिल्ला दुई संस्करणमा पदकविहीन रह्यो। 

तेक्वान्दो असफल हुँदा नेपाली खेलकुद असफल  हुने गर्छ । नेपाल नै असफल हुने गर्छ । त्यही भयो, चीनको ग्वान्झाउमा २०१० मा सम्पन्न १६औं तथा दक्षिण कोरियाको इन्चोनमा चार वर्षअघि सम्पन्न पछिल्लो संस्करणमा । तेक्वान्दो पदकविहीन भयो । चीनमा बक्सिङका दीपक महर्जनले नेपालको इज्जत जोगाए भने दक्षिण कोरियामा राज्यबाट औपचारिकतासमेत नपाएकी विमला तामाङले करातेबाट देशलाई पदकविहीन हुनबाट जोगाइन्। 

देशको सानका रूपमा रहँदै आएको तेक्वान्दो असफल हुँदा समग्र खेलकुद र खेलप्रेमी जति निराश थिए, त्योभन्दा बढी दुखी तेक्वान्दोकर्मी थिए । त्यसैले यसपालि पछिल्ला दुई संस्करणको निराशालाई मेटाउन तेक्वान्दो टिम प्रतिबद्ध छ। 

‘हामी यसपालि उच्च मनोबलका साथ इन्डोनेसिया आइपुगेका छौं । यसपालि पदकविहीन नहुनका लागि हामी शतप्रतिशतभन्दा बढी मिहिनेत गरिरहेका छौं,’ एसियाली खेलकुदमा दुई कांस्यका साथै दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी लगातार चार स्वर्ण पदक जितेका ओलम्पियन दीपक विष्टले भने, ‘एसियाली खेलकुदलाई हामीले यहाँ पदक जित्नुका साथै आउँदो फागुनमा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारीका रूपमा पनि लिएका छौं।’

लामो समय नेपाली खेलकुदको श्रीवृद्धिमा ठूलो योगदान गरे पनि पछिल्लो समय निराश तेक्वान्दोमा यसपालि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई मात्र नेपालीको कीर्तिमान बनाएका संगीना वैद्य र दीपक स्वयम् प्रशिक्षकको भूमिकामा छन् । ओलम्पियन एवं दुई पटककी साग स्वर्णधारी संगीना र दीपकको प्रत्यक्ष निगरानीमा प्रतिभा निखारेको नेपाली तेक्वान्दो टोलीको वास्तविक परीक्षा आइतबार जकार्तामा सुरु हुनेछ। 

तेक्वान्दोमा नेपालले आइतबार तीन विधामा चुनौती प्रस्तुत गर्दै छ । पुरुष पुम्सेअन्तर्गत अन्तिम १६ मा कमल श्रेष्ठले चाइनिज ताइपेइका चेन चिङसँग प्रतिस्पर्धा गर्नेछन् भने महिला एकल पुम्सेको अन्तिम १६ मा पार्वती गुरुङले चाइनिज ताइपेइकै लियाउ वेन सुवानसँग खेल्नेछिन् । तेक्वान्दोकै महिला टिम पुम्से अन्तिम १६ मा नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । महिला टिममा पार्वतीसँग नीता गुरुङ र सिना मादेनले प्रतिस्पर्धा गर्नेछन्।

पुम्सेमा यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएकाले नेपाली टोली  त्यतिधेरै उत्साहित छैन । तर पदकको आशा भने गरेको प्रशिक्षक दीपक बताउँछन् । भन्छन्, ‘पुम्सेमा पहिलो अन्तर्राष्ट्रिय सहभागिता भएकाले हामी कमजोर नै हौं । तर पदक आशा नगरेको भने होइन । भोलि सकेसम्म पदक जित्ने, नसके पनि सागलाई काम लाग्ने गरी अनुभव बटुल्छौं।’ 

उसुमा पुरुष छान छ्वाङमा विजय सिंजालीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुष सान्डा ६० केजीको अन्तिम १६ मा नेपालका मंगलप्रसाद थारूले इन्डोनेसियाका सोफियान अब्दुल ह्यारिससँग खेल्नेछन् । पुरुषकै सान्डा ७० केजी अन्तिम १६ मा नेपालका चित्रसिंह ठकुरीले दक्षिण कोरियाका ह्याम ग्वान्सिकसँग प्रतिस्पर्धा गर्नेछन् । महिला सान्डा ५२ केजी अन्तिम १६ मा जुनी राईले भियतनामकी एनजुएन थी थु थोएसँग खेल्नेछिन् । उसुकै महिला नान छ्वान र नान्दाओमा नेपालकी निमा घर्तीमगरले प्रतिस्पर्धा गर्नेछिन्। 

ब्याडमिन्टनतर्फ नेपालले पुरुष र महिला दुवैको टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । सोझै अन्तिम १६ खेल्ने मौका पाउँदा नेपाली पुरुष टोलीले पाकिस्तान तथा महिला टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछन्। 

फेन्सिङको महिला एकल साब्रेमा नेपालकी कमला श्रेष्ठले समूह ‘सी’ अन्तर्गत आइतबार हङकङकी आउ सिन यिङ, मंगोलियाकी युनदेनदोर्ज अरुनजाया तथा जापानकी तामुरा नोरिकासँग प्रतिस्पर्धा गर्नेछिन् । यसै गरी महिला एकल साब्रोमै रविना थापाले दक्षिण कोरियाकी युआन जिसु, क्याम्बोडियाकी छाए लिन्ली तथा इरानकी राफिई देखे फैजेहसँग खेल्नेछिन्। 

फुटबलतर्फ समूह ‘डी’ को अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ । पहिलो दुई खेल हारिसकेका कारण नेपाल र पाकिस्तान दुवैलाई एसियाली खेलकुद यात्रामा यो खेलको कुनै महत्व छैन । तर यसै महिना बंगलादेशमा हुने दक्षिण एसियाली फुटबल च्याम्पियनसिपको तयारीमा रहेकाले दुवै देशलाई प्रतिष्ठाका लागि यो खेलको विशेष महत्व छ । साफ च्याम्पियनसिपमा पनि नेपाल र पाकिस्तान एउटै समूहमा परेकाले यो खेल मनोवैज्ञानिक रूपमा भने दुवैका लागि निकै महत्वपूर्ण छ । दुवै टिमले एसियाली खेलकुदलाई साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएका छन्। 

त्यस्तै कबड्डीतर्फ नेपालको पुरुष टोलीले आयोजक इन्डोनेसियाको सामना गर्नेछ भने सुटिङको १० मिटर एयर राइफल मिक्स टिममा नेपालले प्रतिस्पर्धा गर्नेछ । यसै गरी एसियाली खेलकुद औपचारिक रूपमा सुरु भएको दोस्रो दिन पौडी, टेनिस, भलिबल र कुस्तीका खेलहरू पनि हुनेछन्। 

‘पुम्सेमा पहिलो अन्तर्राष्ट्रिय सहभागिता भएकाले हामी कमजोर नै हौं । तर पदक आशा नगरेको भने होइन । भोलि सकेसम्म पदक जित्ने, नसके पनि सागलाई काम लाग्ने गरी अनुभव बटुल्छौं।’ 

प्रकाशित: ३ भाद्र २०७५ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App