१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

आशलाग्दा अभियान

संघ, प्रदेश र स्थानीय तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकमा विकासले गति लिने अपेक्षा भएको हो। तर, अपेक्षाअनुसारको काम हुन नसक्दा नागरिक तहमा निराशा देखिन थालेको छ। पछिल्ला दिनमा करका कुराले भने निराशालाई अरू चरम बनाएको छ। तैपनि सुरुङको अन्तिम किनाराबाट अलिकति उज्यालो देखिएको जस्तो अनुभूति भने केही स्थानीय नगरका कामले दिन थालेको छ। वास्तवमा सबैतिर अँध्यारो मात्र छैन, सकारात्मक पहल पनि भइरहेका छन्। जनप्रतिनिधिलाई पनि केही गरौं भन्ने भावनाले उद्वेलित तुल्याइरहेको छ। देशका केही नगरपालिकाले गरेको कामको सुवास आफ्नो नगर, जिल्ला र प्रदेश हुँदै देशैभरि फैलिन थालेको छ। यो आइतबार हामीले प्रशंसनीय काम गर्ने केही नगरपालिकाको खोजी गरेका छौं। हाम्रा सहकर्मीहरूले तत्तत् नगरको भ्रमण गरी पठाएका यी कथा निकै रोचक र प्रेरक छन्। आशा छ, यसले काममा अल्मलिइरहेका र सेवासुविधाको रन्थमोलमा हराइरहेका स्थानीय सरकारका प्रतिनिधिलाई प्रेरणा दिनेछ। मुलुकमा आएको परिवर्तन नागरिकलाई सुखको अनुभूति दिनका निम्ति हो। राजनीतिक व्यक्तिहरूलाई यसको लोभ हुनु पनि पर्छ। राजनीतिक व्यक्तिले अहिले मौका पाएका बेला राम्ररी काम गर्नसके भने निःसन्देह तिनको व्यक्तित्वमा निखार आउनेछ। त्यतिमात्र होइन, यही कामका कारण तिनको राजनीतिक छवि पनि बन्नेछ। यथार्थमा यो आफ्नो छवि बनाउने अनुपम अवसर हो। यी विभिन्न नगरका आशलाग्दा अभियानले सबैलाई प्रेरणा दिन सकोस्।

मुलुकका सबै स्थानीय सरकारमा यस्तै जाँगर देखियो भने हाम्रा नगरले कोल्टे फेर्न धेरै समय कुर्नुपर्ने छैन। काम हुन थाल्यो भने अहिले देखिएका निराशाका काला बादल हट्ने मात्र छैनन्, नागरिक आफैं पनि होस्टेमा हैंसे गर्न तयार हुने छन्।

इलामको सूर्याेदय नगरपालिकाले अहिले गरिरहेका कामको चर्चा प्रदेश एकभरि भइरहेको छ। सूर्योदयले आफ्नो नामजस्तै उज्यालो काम गरिरहेको छ। निर्वाचित भएपछि मतदाताका घरदैलो बिर्सने जनप्रतिनिधिभन्दा भिन्न यहाँ प्रत्येक महिना उनीहरू पुग्छन्। निर्वाचन जितेपछि पनि जबाफदेही हुने जनप्रतिनिधिको बानी मतदाताका निम्ति रोचक बनेको छ। धनकुटा नगरपालिका बिस्तारै ‘सेल्फी सहर’ बन्न खोज्दैछ। नगरको स्वरूप फेरिएपछि र जता हे-यो उतै राम्रो लाग्ने भएपछि घुम्न आउनेले सेल्फी नखिची सुखै छैन। धनकुटाले फोहोरमैला व्यवस्थापनमा आफूलाई नेपालकै उम्दा सहरका रूपमा विकास गरिरहेको छ। अरू नगर फोहोरले गनाइरहेका बेला धनकुटाले फोहोर राख्ने ठाउँलाई बगैंचामा अनुवाद गरेको छ । आखिर गरे के हुँदैन? सिर्फ यसका लागि इमानदार प्रयास चाहिन्छ । सहरमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने आश्वासन निर्वाचनका बेला धेरैले दिएका थिए । मटिहानी नगरपालिकाले भने यसलाई सार्थक पारिसकेको छ । नगर क्षेत्रका बजारमा इन्टरनेट निःशुल्क छ। नगरपालिकाले यसै वर्ष सडक ढलान गर्ने कामलाई समेत तीव्र पारेको छ । सोलार बत्तीले नगर उज्यालिएको छ। मटिहानी नगरपालिका बाल उद्यान, पोखरीको सुन्दरता, रंगशाला निर्माणलगायतको काममा समेत अगाडि बढ्नु आफैंमा चर्चायोग्य पक्ष हो। प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा उपमहानगरपालिका सफा र सुन्दर सहरका नामले चर्चित छ। पहिलो स्थानीय निर्वाचनलगत्तै २०५०/०५१ मा हेटौंडाको मुख्य बजारमा रोपिएका अशोक वृक्षले नगर हरियाली भएको छ। अहिले विभिन्न सडकमा फूलका बिरुवा रोपेर झन् सुन्दर बनाइएको छ। हेटौंडा फूलैफूलको सहर बन्न खोज्दैछ भने वालिङ नगरपालिकाले आफूलाई ‘गुलाबी सहर’ मा अनूदित गर्दैछ। वालिङका लागि छुट्टै गुलाबी रङ बनाएर कार्यान्वयन थालिसकेको पाइएको छ।

तिलोत्तमा र रोल्पा नगरपालिकाले शिक्षामा जोड दिँदैछन् । तिलोत्तमाले सुरु गरेको खाजा कार्यक्रमले विपन्न परिवारलाई राहत पु¥याउन थालेको छ । माओवादी ‘जनयुद्ध’ को केन्द्रका रुपमा रहेको रोल्पा प्राविधिक शिक्षा उन्मुख भएको छ । त्यस्तै कर्णाली प्रदेशकै दोस्रो ठूलो गुर्भाकोट नगरपालिका बेरोजगारीमुक्त अभियानमा सक्रिय छ। पाँच वर्षभित्र ‘एक घर, एक रोजगार’ अभियानलाई यो नगरले तीव्रता दिएको छ। कतिपय नगरपालिकाका मेयर र उपमेयरबीच राम्रो सम्बन्ध छैन। त्यसले नगरको कामलाई असर पारिरहेको छ। तर, जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर र उपमेयर क्रमशः कान्तिका सेजुवाल र अप्सरादेवी न्यौपानेको टिम भावना र मेलजोलले विकास निर्माणलाई गति दिन थालेका छ। महिलाको यो अब्बल नेतृत्वले अरूलाई पनि टिम भावना वृद्धिमा सघाउने देखिएको छ। त्यस्तै कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका र सिलगढी नगरपालिकाले पूर्वाधारमा जोड दिइरहेका छन्। वेदकोटले नगरपालिकाको २० वर्षे गुरुयोजना बनाएर काम थालिसकेको छ भने सिलगढीले ५५ वटा पुराना साँघुरा सडक फराकिलो पारेर ग्राभेल र ३७ वटा नयाँ सडकको ट्र्याक खोलेको समाचार आफैंमा उत्साहले भरिएका छन्। मुलुकमा सात सयभन्दा बढी स्थानीय सरकार छन्। सबै स्थानीय सरकारमा यस्तै जाँगर देखियो भने हाम्रा नगरले कोल्टे फेर्न धेरै समय कुर्नुपर्ने छैन । काम हुन थाल्यो भने अहिले देखिएका निराशाका काला बादल हट्ने मात्र छैनन् नागरिक आफैं पनि होस्टेमा हंैसे गर्न तयार हुनेछन्। राजनीतिक संक्रमण सकिएपछि मुलुक समृद्धिको बाटोमा लाग्ला भन्ने जुन आशा देखिएको थियो, त्यसमा क्षणिक अँध्यारो देखिएको छ। त्यसलाई चिर्न सबै निर्वाचित पदाधिकारीले पहल गर्न सकून। यी आशलाग्दा अभियानले त्यतिखेर मात्र बढ्ता सार्थकता पाउँछन् जतिबेला निर्वाचित सरकारमा स्वतन्त्रताप्रतिको उत्कट अभिलाषा र नागरिकको आत्मसम्मानप्रति विश्वास हुनेछ।

प्रकाशित: ३ भाद्र २०७५ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App