१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सम्पादकमाथि काउन्सिलको केरकार निन्दनीय

काठमाडौं - मिडिया स्वतन्त्रताका पक्षमा वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था फ्रिडम फोरमले प्रेस काउन्सिल नेपालले नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँँटेल र अन्नपूण पोस्ट्का सम्पादक अखण्ड भण्डारीलाई शुक्रबार कार्यालयमा बोलाएर गरेको ‘केरकार’ प्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

संस्थाले शनिबार विज्ञप्तिमार्फत मिडियालाई नियमन गर्ने सरकारी निकाय काउन्सिलले आफ्नो अधिकार क्षेत्रबाहिर गएर सम्पादकद्वयमाथि केरकार गरेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। ‘मिडियामा आएका सामग्रीमा प्रश्न उठे पत्रकार आचारसंहिताविपरीत रहेको भन्दै ध्यानाकर्षण गराउन सकिन्छ। तर केरकार गर्ने, धम्की दिने तथा एक्सनमा उत्रिनु काउन्सिलको क्षेत्राधिकारभित्र पर्दैन,’ विज्ञप्तिमा लेखिएको छ।

यस्ता अभ्यासले शक्तिको दुरुपयोग गरी पत्रकारको अपमान र प्रेस स्वतन्त्रता संकुचन गर्न बल पुग्ने फ्रिडम फोरमले जनाएको छ। सरकारले नयाँ कानुन लागू गरेकै दिन काउन्सिलले आचारसंहितासम्बन्धी छलफल भन्दै नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेल र अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक हरिबहादुर थापालाई बोलाएको थियो।

छलफलमा सहभागी हुन नागरिकका प्रधानसम्पादक लुइँटेल र अन्नपूर्ण पोस्ट्का तर्फबाट सम्पादक भण्डारी शुक्रबार बिहान काउन्सिल कार्यालय पुगेका थिए। तर काउन्सिलका कर्मचारीले विषयवस्तुको पूर्वजानकारीबिनै केरकार सुरु गरेका थिए । अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक थापाले आफू अस्वस्थ भएकाले सम्पादक भण्डारीलाई पठाएका थिए।

फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले पछिल्लो समय सरकार र यसका निकायले एक पछि अर्काे गर्दै प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरिरहेको बताए। उनले सरकारी निकायले सम्पादकमाथि गरेको अपमान समग्र मिडिया क्षेत्रकै लागि दुःखदायी भएको पनि बताए। फोरमले अधिकारको दुरुपयोग प्रजातन्त्रका लागि प्रत्युत्पादक हुने जनाएको छ। नयाँ ऐनका प्रावधानले सम्पूर्ण प्रेसजग्त पीडामा परेका बेला काउन्सिलको यस किसिमको गतिविधिले प्रतातन्त्रको मूल्य र आदर्शलाई कुल्चेको फोरमको ठहर छ।

काउन्सिल सदस्यविरुद्ध सदस्यबाटै उजुरी
प्रेस काउन्सिलका सदस्य तथा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिलका अर्का सदस्य तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीविरुद्ध काउन्सिलमै उजुरी हालेका छन्। उजुरीमा बुढाथोकी सम्पादक रहेको साँघु साप्ताहिकको साउन २८ गतेको अंकमा ‘हेलिकोप्टर चढेर पत्रकार नेता बैठकमा’ शीर्षकमा भ्रामक समाचार छापिएकाले कारबाही माग गरिएको छ।

आचार्यले आफूविरुद्ध साँघु साप्ताहिकले भ्रामक समाचार प्रकाशित गरी पत्रकार आचारसंहिताको उल्लंघन गरेको दाबीसहित त्यसका सम्पादक एवं काउन्सिल सदस्य बुढाथोकीमाथि कारबाही माग राखेर सोमबार उजुरी दर्ता गराएका हुन्। उक्त समाचारमा सत्यता नरहेको भन्दै पत्रकार महासंघले मंगलबार संस्थागत उजुरीसमेत दर्ता गराएको छ।

महासंघको उजुरीमा सो समाचारमा सत्यता नरहेको दाबी गरिएको छ। महासंघका महासचिव रमेश बिष्टले हस्ताक्षर गरेको उजुरीमा भ्रामक समाचारबाट पत्रकार महासंघका पदाधिकारीको व्यक्तिगत इज्जत प्रतिष्ठामा गम्भीर आघात पुगेको भन्दै आवश्यक छानबिन गरी कारबाहीका लागि अनुरोध गरिएको छ। उजुरी कारबाही प्रक्रियामा रहेको जानकारी काउन्सिलका एक सदस्यले दिए।

प्रकाशित: ३ भाद्र २०७५ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App