१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अब्बल स्थानीय सरकार

हेटाैंडा उपमहानगरपालिका बजार क्षेत्र। तस्बिर : नागरिक

काठमाडौं - मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय तहले लागू गरेका कर प्रणालीको सर्वत्र आलोचना भएको छ। जनताको करबाट पालिएका जनप्रतिनिधिले आफ्नो सेवासुविधा बढाउनुका साथै महँगा गाडी खरिद गरेको भन्ने आमगुनासो छ। तर, कतिपय स्थानीय तहले एक वर्ष अवधिमा सुधारात्मक काम गरेर जनताको मन जितेका छन्।

केही गाउँ–नगरपालिकाले नमुनायोग्य काम गरेको भन्दै स्थानीय जनताले प्रशंसासमेत गरेका छन्। जनप्रतिनिधिले यही गतिमा काम गरे समृद्घ गाउँ–नगरको सपना ठाउँ नरहेको उनीहरूको टिप्पणी छ। केही नगरपािलकाले शिक्षा, सामाजिक सुरक्षा, खानेपानी, सडक, विद्युत्, कृषिलगायत क्षेत्रमा गरेको सुधारात्मक कदमबाट नागरिक आशावादी देखिन्छन्।

समृद्धितर्फ सूर्योदय
इलामको सूर्याेदय नगरपालिकाले गरिरहेका कामको प्रशंसा एक नम्बर प्रदेशमै हुन थालेको छ। भौगोलिक सौन्दर्य र आर्थिक सक्षमताले मात्र होइन, अन्य स्थानीय तहभन्दा केही फरक काम र काम गर्ने फरक शैलीले सूर्याेदय सफलताको बाटोतिर लम्किँदै गएको हो।

चुनिएको ६ महिनादेखि नै सूर्याेदय नगरका जनप्रतिनिधि मतदाताकहाँ प्रत्येक महिना नियमित पुगिरहेका छन्। चुनाव जितेपछि मतदाताप्रति जबाफदेही हुने यहाँका जनप्रतिनिधिको काइदा मतदाताले पनिरू चाएका छन्।

सरकारी काम चुस्तदुरूस्त बनाउन नगरपालिकाले चालेको अर्काे कदम हो– सबैजसो काममा डिजिटल प्रविधि प्रयोग। ‘चियाको राजधानी’ इलामका किसानलाई हित हुनेगरी हरियोपत्तीको न्यूनतम समर्थन मूल्य लागू गर्नेदेखि तीन वर्षभित्र सबै कृषि उत्पादन अर्गानिक बनाउन नगरलाई कडाखाले विषादीमुक्त नगर घोषित गर्नु सजिलो काम थिएन। नगरपालिकालाई पोलिथिनमुक्त बनाएर दैनिक आउने सयौं पर्यटक भुल्याउनु पनि नगरको चुनौतीपूर्ण काम थियो। कन्याम, अन्तुडाँडा, पशुपतिनगर, पाथीभरा, फिक्कललगायत देशकै चर्चित पर्यटकीयस्थल रहेको सूर्याेदयलाई १ नम्बर प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटनको राजधानी सूर्याेदय’ सार्थक बनाउन पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिइएको छ। देशकै लोपोन्मुख लेप्चा समुदायको सांस्कृतिक उन्नतिमा पनि नगरले ध्यान दिएको छ।

‘प्रविधिको युग’ उपभोग गर्न नगरले सेवा प्रवाहलाई डिजिटल प्रविधियुक्त बनाएको छ। पत्राचार, तथ्यांक संकलन, कर्मचारी–शिक्षकको हाजिरीलगायत काममा डिजिटल प्रविधि सुरू गरिएको छ। ‘नगरपालिकाको कार्यालयमा मात्र होइन, वडा तहको काम पनि पेपरलेस बनाउँदैछौं,’ मेयर रणबहादुर राई भन्छन्। नगरपालिकाले केही विद्यालय र सरकारी कार्यालयमा बायोमेट्रिक्स हाजिरी प्रणाली प्रयोगमा ल्याएपछि शिक्षक–कर्मचारी कार्यालयमा नियमित उपस्थित हुन थालेका छन्। यो प्रविधि लागू भएका सामुदायिक स्कुलमा विद्यार्थी संख्या दोब्बर भइसकेको छ।

सरसफाइमा नमुना धनकुटा
फोहोरमैला व्यवस्थापन, सरसफाइ र सहरी सुन्दरता बनाउने अभियानले धनकुटाको मुहार फेरिँदै गएको छ। ‘हामी कृषि र सरसफाइका क्षेत्रमा नमुना सहर बनाउँछौं र पर्यटकीय गन्तव्यको क्षेत्र बनाउँछौं’, मेयर चिन्तान तामाङले भने।
२०६६ सालमा निर्माण भएको फोहोरमैला व्यवस्थापन केन्द्र नेपालकै नमुना हो। धेरै ठाउँको फोहोर फल्ने ठाउँमा मान्छे जाँदैनन्। तर धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र पर्यटकीय क्षेत्र बनेको छ। फोहोरलाई पुरेको ठाउँमा फूल रोपेर बगैंचा बनाएपछि घुमफिर गर्ने ठाउँका रूपमा विकास भएको हो।

फोहोरमैला व्यवस्थापनमा नमुनाका रूपमा चर्चा भएपछि विभिन्न गाउँपालिका र नगरपालिकाबाट धनकुटामा अध्ययन गर्न आउने क्रम बढेको छ। वर्षमा ३० देखि ४० वटा टोली फोहोरमैला व्यवस्थापन केन्द्रको अध्ययन–अवलोकन गर्न आउँछन्। सरसफाइ र वातावरणका क्षेत्रमा गरेको कामलाई नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, फोहोरमैला व्यवस्थापन केन्द्रले २०७४ सालमा उत्कृष्ट सफा सहर घोषणा गरेको थियो । २०७३ मा समेत यो नगर दोस्रो भएको थियो।

बजारको खाली जमिनमा पार्क र बगैंचा निर्माण गर्ने कार्यमा नगरपालिकाले विशेष लगानी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले बताए। धनकुटालाई सुन्दर नगर बनाउन चुलिबन, चुवाकोबोट, बसपार्क, महेन्द्र पार्क, कागते, घुमाउने चौतारा, क्याम्पस गेटलगायतको ठाउँमा पूर्वाधार निर्माण भएको छ। स्थानीयको सहभागितामा यी काम भएको अधिकृत राईले बताए। नगरपालिकाले गत आर्थिक वर्षमा बजारको सौन्दर्यका लागि ५० लाख रूपैयाँभन्दा बढी खर्च गरेको छ। धनकुटा नगरपालिकाले मेयर कृषि कार्यक्रमअन्तर्गत सबै घरमा एभोकार्डो रोप्न लगाउने अभियान सु? गरेको छ।

प्रविधिमैत्री मटिहानी
मटिहानी नगर क्षेत्रभित्र रहेको बजार क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ। हटिया लाग्ने क्षेत्र र बसपार्कलाई ‘फ्री वाइफाई’ क्षेत्र बनाइएको छ। नगरपालिकाका ९ वटै वडामा गरी ६ किलोमिटर सडकमा पिसिसी ढलान गरिएको छ। यस्तै एक करोड रूपैयाँ लागतमा सबै वडामा सोलार बत्ती राखेर सडक उज्यालो बनाइएको छ। विगतमा उक्त सडक हिँड्नलायकको थिएन तर अब भने सो चारपांग्रे सवारीसाधनसमेत कुद्न थालेका छन्। सडक सञ्चालन भएपछि गाउँले खुसी भएका छन्। मटिहानी नगरपालिकामा अहिले बालउद्यान, पोखरी संरक्षण र रंगशाला निर्माण भइरहेको मेयर हरिप्रसाद मण्डलले बताए।

हरित सहर हेटौंडा
३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा उपमहानगरपालिका देशमै सफा र सुन्दर सहरका नामले चर्चित छ। एकपटक पहिलो र एकपटक तेस्रो सफा सहर घोषित हुँदै हेटौंडाले अव्बल नगरपालिकामा सूचीकृत गरेको छ।

आर्थिक वर्ष २०५०/५१ मा मुख्य बजारको सडकमा दायाँबायाँ रोपिएको अशोकको रूखले आकर्षणसँगै हरियाली थपेको छ। स्कुल रोड, भैरवरोड, पारिजातपथ, नगरपालिकारोड, कान्तिराजपथलगायतका सडकको दायाँबायाँ फूलको बि?वा रोपिएको छ भने कान्तिराजपथको बुद्धचोकनजिकै दुई लेनको सडकको बीचमा समेत फूलको बिरूवा रोपेर हरियाली प्रवद्र्धन गरिएको छ।

फूलैफूलको सहर बनाउने अभियानमा लागेको बताउँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पाँच वर्षपछि हेटौंडालाई देशमै हेर्न लायकको राम्रो सहर बनाउने दृढताका साथ काम सुरू गरेको बताए। उनका अनुसार स्मार्ट सिटी सहरको मापदण्डअनुसार २१ औं शताब्दीको सहरीकरण, सडक, खानेपानी, खुला क्षेत्र, चिल्ड्रेनपार्कलगायतको नयाँ सहरको अवधारणा ल्याउने तयारीमा उपमहानगरपालिका छ।

उपमहानगरपालिकाले सिसौघारीमा फोहोरको दोस्रो चरणको वर्गीकरण (कन्वेयर बेल्ट) निर्माण गरी सञ्चालन गर्दै आएको छ। जहाँ पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याई कुहिनेलाई कम्पोस्ट मल बनाइन्छ भने बाँकी पदार्थ आठ बिघा क्षेत्रफलमा रहेको सेनेटरी पार्कमा पुर्ने गरिएको छ।

‘स्मार्ट सिटी’ तर्फ वालिङ
दुईपटक देशकै उत्कृष्ट नगर बन्न सफल वालिङ नगरपालिका ‘स्मार्ट सिटी र स्मार्ट भिलेज’ को अवधारणाका साथ अगाडि बढेको छ। नगर कार्यपालिकाले ‘स्मार्ट सिटी’ का लागि १९ र ‘स्मार्ट भिलेज’ का लागि ७० वटा सूचक निर्धारण गरेको छ। ‘पाँच वर्षभित्र स्मार्ट वालिङ र स्मार्ट भिलेज बन्नेमा कुनै शंका छैन,’ नगर प्रमुख दिलीपप्रताप खाँणले भने, ‘नगरबासीले अगामी दुई वर्षभित्र स्मार्ट वालिङको अनुभूति गर्न पाउनेछन्।’

‘स्मार्ट वालिङ’ लाई आवश्यक पर्ने प्रविधि निर्माणका लागि नगरपालिकाले ‘इनोभेसन’ कक्षा सञ्चालन गरेको छ। स्मार्ट वालिङका लागि विभिन्न १९ वटा सूचकमध्ये इनोभेसन एक हो। स्मार्ट सिटी अभियान सफल बनाउन ‘वन्डरफुल वालिङ’ कार्यक्रम उच्च प्राथमिकतामा राखिएको छ। ‘वन्डरफुल वालिङ’ मा क्यान अर्थात् ‘कल्चर, एडभेन्चर र नेचर’ को तीनखम्बे नीति तथा कार्यक्रम अघि सारिएको छ।

बजार क्षेत्रका घरमा गुलाबी रङ अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ। वालिङका लागि ‘वालिङ पिंक’ नामको छुट्टै ब्रान्डको रङ बनेको छ । यो प्रस्ताव गत असार ३० गते सम्पन्न नगर कार्यपालिकाको पहिलो सभाले पारित गरेको हो। ग्रामीण भेकमा भने आफूले चाहेको रङ लगाउन पाइनेछ। नगरपालिकाले पिपिपी मोडेलमा लगानी भिœयाउने तयारी गरेको छ। वालिङमा छिट्टै अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख खाँणले बताए । ‘अहिलेसम्म २३ अर्ब रूपैयाँ व्यवस्था भइसकेको छ,’ उनले भने, ‘लागनी सम्मेलनबाट अझै बढ्नेछ।’ नगरपालिकाभित्र विभिन्न प्रकृतिका पाँच ठूला उद्योग स्थापना गर्ने लक्ष्य रहेको उनले बताए।

शिक्षामा लगानी गर्दै तिलोत्तमा
तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको खाजा कार्यक्रमले आर्थिक रूपमा विपन्न अभिभावकलाई राहत पु-याएको छ। नगरपालिकाले सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढाउन बाल विकासका सबै विद्यार्थीलाई दिवा खाजा कार्यक्रम उपलब्ध गराउन थालिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए। ‘कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनु हो’ उनले भने, ‘अर्को बर्षसम्म २० देखि १५ प्रतिशत विद्यार्थी संख्या बढ्ने हाम्रो अपेक्षा छ।’

नगरपालिकाले जेठ ८ गतेदेखि दिवा खाजा कार्यक्रम सुरू गरेको छ। जंकफुडमाथि प्रतिबन्ध लगाएर खाजाका रूपमा दूध, फलफूल, चना, अन्डा, रोटीजस्ता परिकार मात्रै प्रयोग गर्ने नियम बनाएकोे शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले बताए। नगरपालिकाले कक्षा १ देखि ५ सम्मका सात सय विद्यार्थीलाई पनि दिवा खाजाको कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ।

शिक्षा क्षेत्रमा तिलोत्तमाले २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरेको छ। नगरपालिकामा ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियान पनि सञ्चालन भइरहेको छ। बुटवल–बेलहिया सिक्स लेन सडकको दायाँबायाँ हरियाली बनाउन थालिएको छ। स्थानीय सरकारले बनाएको कानुन राजपत्रमा पहिलोपल्ट प्रकाशन गर्न यो नगरपालिका सफल भएको छ।

प्राविधिक शिक्षातर्फ रोल्पा
रोल्पा नगरपालिकाले गत वर्षदेखि एक सय जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने योजना ल्याएको थियो। यो योजनालाई नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ। ती विद्यार्थीले ओभरसियर, अहेव, अनमी, कृषि, भेटेनरी प्राविधिकलगायतका विषय पढिरहेका छन्। ‘द्वन्द्वपीडित, दलित, जनजाति, महिला, अति गरिबलाई लक्षित गरी यो कार्यक्रम ल्याइएका हौं’, रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले भने, ‘मेरो कार्यकालमा यसलाई निरन्तरता दिनेछु। पाँच वर्षमा नगरपालिकाभित्रबाट पाँच सय दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य छ।’

कृषि र पशुपालनका क्षेत्रमा नगरपालिकाले दुई करोड बजेट विनियोजन गरेको छ। प्रमुख केसीले भने, ‘दक्ष प्राविधिक उत्पादन गर्ने र उनीहरूलाई कृषि, पशुपालनमा जोड दिएर नगरपालिकालाई आत्मनिर्भर बनाउने सोच बनाएको छु।’

बेरोजगारमुक्त अभियानमा गुर्भाकोट
कर्णाली प्रदेशकै दोस्रो ठूलो गुर्भाकोट नगरपालिकामा नेतृत्व सम्हालेलगत्तै जनप्रतिनिधिले पाँचवर्षे कार्ययोजना सार्वजनिक गरे। कार्ययोजनाको पहिलो बुँदामा लेखिएको थियो, ‘पाँच वर्षभित्र एक घर, एक रोजगार।’ ५० हजार हाराहारीमा रहेको गुर्भाकोटको जनसंख्यामध्ये कति घरधुरी बेरोजगार छन् भन्ने तथ्यांक भने जनप्रतिनिधिसँग थिएन ।
‘पहिलो वर्ष बेरोजगार घरधुरी र युवा जनशक्तिको तथ्यांक संकलन ग-यौं, सँगसँगै रोजगारमूलक तालिम पनि दियौं’, उपमेयर मैना विकले भनिन्, ‘पहिलो वर्षको प्रगति र तथ्यांक हेर्दा एक घर, एक रोजगार मात्रै होइन, यहाँका सबै बेरोजगार युवाशक्तिलाई स्वरोजगार बनाउन सक्छौं भन्ने विश्वास पैदा भएको छ।’

नगरपालिकाको तथ्यांकअनुसार नौ हजार ५७२ धरधुरीमध्ये चार हजार २ सय २ घरधुरीका कोही सदस्य पनि रोजगारीमा आबद्ध छैनन्। गत आर्थिक वर्षको तथ्यांकअनुसार दुई हजार ४ सय २ युवा जनशक्ति बेरोजगार छ । ‘बेरोजगार सबै युवाशक्तिलाई रोजगारी दिलाउने योजनाका साथ हामी अगाडि बढेका छौं,’ उनले भनिन्, ‘पाँच वर्षभित्र नगरपालिका बेरोजागरमुक्त हुनेछ।’

नगरपालिकाले चालु आर्थिक वर्षमा प्रत्येक वडामा कृषिका लागि छुट्टाछुट्टै पकेट क्षेत्र घोषणा गरेको छ । नगरपालिकालले १४ वटा वडामा ६५ वटा कृषिका लागि पकेट क्षेत्र घोषणा गरेको छ।

महिला नेतृत्व अब्बल चन्दननाथ
शिक्षकबाट मेयर बनेकी कान्तिका सेजुवाल र सशस्त्र द्वन्द्वबाट खारिएकी अप्सरादेवी न्यौपानेको नेतृत्वमा चन्दननाथले विकासको रथ डो-याइरहेको छ। फरक आस्था, विचार र परिवेशबाट नेतृत्वमा पुगेका सेजुवाल र न्यौपानेको ‘टिम स्प्रिट’ ले चन्दननाथ समृद्धिको मार्गमा हिँडिरहेको छ।

नगरपालिकाले पाँचवर्षे, दसवर्षे र बीसवर्षे विकास गुरूयोजना बनाएको छ। गुरूयोजनामा आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पक्ष समेटिएको छ । चन्दननाथभित्र बन्ने सडकको डिपिआर तयार गरिएको छ।

नेपाल नगरपालिका महासंघले कर्णालीको पहिलो चन्दननाथ नगरपालिकालाई गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मानसहित पुरस्कृत ग-यो।

उपमेयर न्यौपानेले नगरको समृद्धिका लागि सडक र विद्युत्लाई प्राथमिकता दिएको बताइन्। ‘अहिले देशभर स्थानीय तहको विरोध भइरहेको छ, गाउँमा ‘सिंह’ मात्रै आयो ‘दरबार’ आएन भन्दै व्यंग्य गर्ने गरिन्छ,’ उनले भनिन्, ‘हामीले गाउँमा सिंह मात्रै होइन, दरबार पनि ल्याएका छौं।’

पूर्वाधार लगानी गर्दै वेदकोट र सिलगढी
कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाले २० वर्षीय गुरूयोजना बनाएको नगर प्रमुख अशोककुमार चन्दले बताए। गुरूयोजनाअनुसार पहिलो वर्षमा ५५ वटा पुराना साँघुरा सडक फराकिला बनाएर ग्राभेल गरिएको छ भने ३७ वटा सडकको नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएको छ। प्रत्येक वडामा एउटा सडक कालोपत्रे हुने गरी दसवटा वडामा ११ किलोमिटर सडक कालोपत्रे गरिएको छ। वडैपिच्छे खेलमैदान निर्माण गरिएको छ। वडा नम्बर ३ को भम्कामा कर्भडहल बनाइएको छ। वेदकोट र शिव लिंग अवलोकनका लागि आउने पर्यटकका लागि सूचना केन्द्र निर्माण गरिएको छ। यस्तै वेदकोटमा भ्युटावर निर्माण गरिएको छ। पूर्वपश्चिम राजमार्गछेउमै दुई बिघा जमिनमा सप्तरंगी पार्क बनाइएको छ। पार्कभित्र स्विमिङ पुल बनाइसकिएको छ। फन पार्क बनाउने काम भइरहेको नगर प्रमुख चन्दले बताए। दैजीबजारमा ५० शड्ढयाको नगर अस्पताल बनाउन डिपिआर तयार पारिएको छ।

डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वसुलभ र सस्तो यातायात सुविधाका लागि नगरपालिकाले दुईवटा बस खरिद गरेर सञ्चालनमा ल्याएको छ। दिपायल सिलगढी, सिलगढी लडागडा, शान्तिनगरलगायतका नगरभित्र यी बस सञ्चालन भएका छन्।‘ निजी सवारीसाधनभन्दा सस्तो भाडामा नगरवासीलाई सेवा उपलब्ध गराएका छौं’, नगर प्रमुख मञ्जु मलासीले भनिन्। सिलगढीमा सामुदायिक वनभित्र पिकनिक स्पोट निर्माण सुरू भएको छ। दिपायलमा रहेको ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल दुदेश्वरी र कोटभैरवमा झोलुंगेपुल निर्माण भइरहेको उनले बताइन्। डोटेली राजाको दरबारमा संग्राहलय बनाउने तयारी भइरहेको छ।

(सिद्धराज राई/काठमाडाैं, भीम चापागार्इं/इलाम, महेशकुमार दास/महोत्तरी, अशोकसुजन श्रेष्ठ/हेटौंडा, विनोद परियार/बुटवल, माेहन गुरूङ/स्याङ्जा, दिनेश सुवेदी/रोल्पा, नगेन्द्र उपाध्याय/सुर्खेत, डिबी बुढा/जुम्ला, दिलबहादुर छत्याल/धनगढी)

प्रकाशित: ३ भाद्र २०७५ ००:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App