१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आयल निगमलार्इ दैनिक १ करोड ६६ लाख रुपैयाँ घाटा

काठमाडौ– पेट्रोलियम पदार्थको बढ्दो खपत र डलर मूल्य बढ्दा आफ्नो घाटा बढेको नेपाल आयल निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार अगष्ट १ देखि १६सम्ममा निगमले २५ करोड रुपैयाँ घाटा बेहोरेको जनाएको छ। यस अनुसार दैनिक घाटा १ करोड ६६ लाख हुन आउँछ। 

निगमका अनुसार अहिले डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३६ पैसा घाटा छ भने एलपी ग्यासमा प्रति सिलिन्डर २८० रुपैयाँ ६४ पैसा घाटा छ। हवाई इन्धनमा रहेको प्रतिलिटर ४२ रुपैयाँले थेग्ने अवस्था चुनौतीपूर्ण रहेको निगमको भनाइ छ।  
डलर विनिमयदरमा १ रुपैयाँमात्र वृद्धि हुँदा निगमलाई मासिक १५ करोडको अतिरिक्त व्ययभार थपिन्छ। गएको २ महिनामा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम मूल्यमा खासै उतार चढाव नभए पनि नेपाली मुद्रा अवमूल्यन कै कारण निगमलाई गएको २ महिनामा १ अर्ब २० करोड रुपैयाँ लागत थप भएको निगमको भनाइ छ।
एलपी ग्यासको घाटा व्यवस्थापन गर्न निगमले रातो र निलो रंगको सिलिण्डर प्रयोगको कार्यविधि कार्यान्वयन गर्ने तयारी थालेको छ।

पेट्रोलियम खपत बढ्दो

नेपालमा पेट्रोलियम पदार्थको खपत वार्षिक २० प्रतिशतले बढ्दो रहेको देखिएको छ। आर्थिक वर्ष २०७३÷७४मा ४लाख २ हजार २७८ किलो लिटर पेट्रोलियम खपत भएकोमा आव २०७४÷७५मा ४ लाख ८४ हजार ४ किलो लिटर खपत भएको देखिन्छ। 
सबैभन्दा धेरै खपत हुने डिजेलको खपत अघिल्लो आवमा भन्दा २३ प्रतिशतले बढेर गत आवमा १५ लाख ९७ हजार ५५१ किलो लिटर पुगेको निगमको भनाइ छ। एलपी ग्यास र हवाई ईन्धन खपत १८ प्रतिशतले बढेको छ। मट्टितेल खपत पनि १५ प्रतिशतले बढेको छ। 
बढदो खपतका कारण निगमको भण्डारण क्षमता पनि कमजोर बन्दै गएको छ। अहिले निगमले पेट्रोल ५ दिन, डिजल ८ दिन र हवाइ ईन्धन १० दिनका लागि मात्र पुग्ने गरी भण्डारण गर्न सक्छ। निगमले एलपी ग्यास भण्डार नै गर्न सक्दैन । यो अवस्थाले एक दुई दिनमात्र आयात अवरुद्ध भए मुलुक भर नै पेट्रोलियम आपूर्तिमा समस्या आउने खतरा छ।

तस्करी नियन्त्रण चुनौतीपूर्ण

निगमले नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ चोरी निकासीको नियन्त्रण र अनुगमनमा ध्यान दिन पनि सरकारलार्इ आग्रह गरेको छ। निगमको पछिल्लो मुल्य सूचीअनुसार सिमा क्षेत्र रक्सौलभन्दा नेपाल तर्फ पेट्रोल प्रतिलिटर २४ रुपैयाँ ९७ पैसा र डिजेल २७ रुपैयाँ ३३ पैसा सस्तो छ। यस्तो मूल्य अन्तरले तस्करीको खतरा रहेको दाबी निगमको छ।

 

प्रकाशित: २ भाद्र २०७५ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App