१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ज्ञानेन्द्र सिटिजन्स बैंकको सद्भावना दूत

काठमाडौं - सिटिजन्स बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई शुक्रबार सद्भावना दूत (ब्रान्ड एम्बेसडर) नियुक्त गरेको छ।

सिटिजन्स बैंकले राजधानीमा एक कार्यक्रम गरी राष्ट्रिय टोलीका उपकप्तान मल्ललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले ज्ञानेन्द्रलाई क्रिकेट ब्याट हस्तान्तरण गर्दै सद्भावना दूत नियुक्त गरेका हुन्। कार्यक्रममा मल्ललाई सद्भावना दूत बनाएबापतको रकम भने खुलाइएको छैन।सद्भावना दूत भएबापत ज्ञानेन्द्रले बैंकका विभिन्न योजनाअन्तर्गत प्रचारप्रसारका कार्यमा सहभागी हुनुपर्नेछ। बैंकको सद्भावना दूत घोषित भएपछि मल्लले बैंकहरूले खेलाडीलाई लगानी गर्नु खुसीको कुरा रहेको बताए।

‘बैंकले मलाई सद्भावना दूत बनाएकोमा बैंकप्रति आभारी छु,’ ज्ञानेन्द्रले भने, ‘कर्पाेरेट क्षेत्रले खेलाडीलाई हौसला प्रदान गर्नका लागि गरेको हातेमालोले खेलाडीमा राहत महसुस भएको छ। क्रिकेट र खेलविकासका लागि यसरी लगानी गर्न जरुरी छ। यो किसिमको सहयोगले खेलाडीलाई बाँच्ने आधार हुन्छ।’ उनले अगाडि थपे, ‘कर्पाेरेट क्षेत्रको सहयोग आउँदै गरेका नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा हुनेछ।’

यस्तै बैंकका उपप्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले खेलजगत्मा लगानी गर्दै आइरहेको बताउँदै ज्ञानेन्द्रलाई सद्भावना दूत बनाउन पाएको खुसी व्यक्त गरे। उनले अगाडि भने, ‘यसअघि ब्याडमिन्टन, टेनिस खेलका लागि लगानी गर्दै आएको छ। जुन उदाहरण बैंक खेलकुदप्रति झुकाव राख्छ भन्ने प्रस्ट पार्छ ।’ बैंकले ‘मेरो सिटिजन्स बचत खाता’ नामक योजना सार्वजनिक गर्दै उपकप्तान ज्ञानेन्द्रलाई सद्भावना दूत चयन गरेको हो।

यसअघि बैंकले गल्फ, टेनिस, फुटसल, क्रिकेटलगायतका ठूला प्रतियोगितामा प्रायोजन गर्दै आइरहेको छ भने ब्याटमिन्टनका राष्ट्रिय खेलाडी नङ्सलदेवी तामाङलाई स्टाफका रूपमा बैंकमा अनुबन्धित गरिसकेको छ। 

 

प्रकाशित: २ भाद्र २०७५ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App