१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘म राम्रो भलिबल खेलाडी’

नाटकमा अभिनय, निर्देशन गर्दै नेपाली चलचित्रमा उदाएका अभिनेता हुन्, दयाहाङ राई ।  ‘लुट’ चलचित्रमा अभिनय गरेर चर्चामा आएका दयाहाङ राई अहिलेका व्यस्त अभिनेताका रुपमा चिनिएका छन् । लुट, घामपानी, वीरविक्रम लगायत थुप्रै चलचित्रमा अभिनय गरेका राईले आफूलाई प्रिय लाग्ने केही कुरा ‘नागरिक परिवार’लाई यसरी बताएः

पुस्तक 
म प्रायः पुस्तक पढिरहेको हुन्छु । प्रायः चित्त बुझेका वा मनपर्ने किताब नै पढ्ने हुनाले यो नै भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन । तापनि पछिल्लो समय पढेका तीस दिन, काठमाडौँमा एक दिन, दमिनीभीर लगायत मनपर्ने मेरा पुस्तक हुन् ।

खेल 
सबैलाई मनपर्ने खेल फुटबल हो । मलाई पनि मन पर्छ । मैले खेल्ने चाहिँ भलिबल हो । गाउँमा भलिबल खेलिरहन्थेँ । काठमाडौँ आएपछि अलिक कम भएको हो । अर्को मनपर्ने खेल बक्सिङ पनि हो । अरु पनि मन नपर्ने भने होइन ।
मनपर्ने कलाकार
मलाई नेपाली कलाकारहरु मन पर्छन् । विपिन कार्की, सौगात मल्ल, मेनुका प्रधानको अभिनय मलाई मनपर्छ । 

गायक
नेपालका सदाबहार गायक स्वर्गीय नारायण गोपाल नै मलाई सबैभन्दा बढी मनपर्छन् । त्यस्तै, दीप श्रेष्ठ र पछिल्लो समयका व्यस्त गायक राजेश पायल राई, हेमन्त राना पनि मलाई असाध्य मनपर्छन् ।

गायिका
पुरानी गायिका अरुणा लामाका गीतहरु मलाई असाध्य मन पर्छ । उहाँको स्वर सानैदेखि मनपथ्र्यो । त्यस्तै पछिल्लो समयकी चर्चित गायिका भन्न रुचाउछु अन्जु पन्त । गायिका अन्जु पन्त अनि झुमा लिम्बु एकदमै मनपर्छ ।

भेट्न चाहेको व्यक्ति
त्यस्तो छैन । मैले चाहेको जति सबै भेटेको छु । 

भेटिरहन मन लाग्ने व्यक्ति
घर–परिवार साथी–भाइ नै भेटिरहन मन लाग्छ । 

देश 
आफू जन्मेको देश नै मलाई असाध्य मनपर्छ । मन नपर्ने भए त बसाइँ सरिहाल्थे नि ! 

सहर
पोखरा मलाई मनपर्ने सहर हो । विविधतायुक्त यो सहर प्राकृतिक रुपमा मनमोहक छ ।

चाडपर्व 
मलाई चाडपर्वमा माघे सङ्क्रान्ति मनपर्छ । यो चाडमा तरुल खाने र बनाउने हुन्छ । दसैँ–तिहारको रौनकभन्दा माघे सङ्क्रान्तिको रौनक मलाई बढी मन परेको हो ।

मनपर्ने रङ 
विशेषतः मलाई पहेँलो कलर मनपर्छ । ग्रीन, स्काई कलर पनि मलाई मनपर्ने कलरमा पर्छन् । अरुभन्दा यी कलरले मलाई म्याच पनि गर्छ । 

फिल्म निर्देशक 
अब आफ्ना समकालीन साथीहरु भएर होला निश्चल बस्नेत, रामबाबु गुरुङ, दीपक रौनियार मलाई मनपर्ने निर्देशक हुन् । उहाँहरुको निर्देशन गर्ने कुराहरु सही लाग्छ । निर्देशन गर्नमा अब्बल लाग्छ । 

सवारी साधन 
आफ्नो सवारी साधन नभएकाले होला सबै मनपर्छ । यही भन्ने नै छैन । अरुकोमा चढेर हिँडिन्छ, त्यसैले सबै मन परेका हुन् । 

पोशाक
पोशाकमा जुन लगायो, त्यही मनपर्छ तर सुहाउँदिलो देखिनु चाहिँ प¥यो । मेरालागि दौरा सुरुवाल, जिन्सपेन्ट कुनै पनि स्पेसल छैन । जुन लाए पनि सुहायो भने मनपर्छ ।    

प्रस्तुतिः भोला अधिकारी 

प्रकाशित: १ भाद्र २०७५ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App