१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘नेपालकै पहिलो जलविद्युत आयोजनालाई संरक्षण गर्दैछौं’

रामचन्द्र क्षेत्री, वडाध्यक्ष, दक्षिणकाली नगरपालिका–२

जनप्रतिनिधि भएपछि जनताले महसुस गराउने के–के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आउँदा वडामा पाइलापिच्छे नै समस्या थियो । निर्वाचित भएसँगै जनताको समस्याको प्राथामिकताको आधारमा कुन पहिला गर्ने भनेर टुंगो लगायौं । जनप्रतिनिधि भएर आउँदा पाखाचोकमा खानेपानीको समस्या थियो । वडा कार्यालयको आफ्नै भवनसमेत थिएन । एक महिनाभित्रै पाखाचोकमा खानेपानीको वितरण गर्न सफल भयौं, जसबाट करिव एक सय जना स्थानीय लाभान्वित भए।

महिला कार्यालयको  दुई कोठे भवनलाई व्यवस्थित गरेर वडा कार्यालय बनायौं । त्यसमा थप एक तला थपेर अहिले वडा कार्यालयबाट सहज ढंगले जनतालाई सेवा प्रवाह गरिरहेका छौं । सतल चप्पलमा सात फिटे सडक साँघुरो सडक थियो । उक्त सडकलाई विस्तार गरेर ११ फिटे सडक बनायौं । लाकुरीबोटदेखि एघारघरेसम्मको सडकमा पर्खाल लगाएर व्यवस्थित गरेका छौं । सोही सडकमा एक सय ११ फिट सडक ढलान गरेर व्यवस्थित गरेका छौं । त्यस्तै गरी पाखाचोकमा रहेको १ सय १० मिटर पुरानो राजकुलो मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएका छौं।

तपाईँको वडामा खानेपानीको समस्या कस्तो छ ?
२०७२ सालको भूकम्पले वडामा रहेका अधिकांश खानेपानीका मुहान सुके । जसको कारणले अहिले वडामा खानेपानीको समस्या देखिएको छ । वडा कार्यालयले पुराना खानेपानीका स्रोतलाई संरक्षण गर्दै जनताको घरदैलोमा खानेपानीको खानेपानी लैजाने योजना अघि सारेका छौं।

वडा कार्यालयले २४ औं घण्टा खानेपानी वितरण गर्न नसके पनि वडाबासीको घरमा दैनिक ६ घण्टा नियमित पानी पठाउने योजना तय गरेका छौं । आगामी एक वर्षभित्र प्रत्येक वडावासीको घरमा खानेपानी वितरण गर्नेछौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर खानेपानीका पुराना धारो मर्मतसम्भार गरेर आलोपालो प्रणालीमा खानेपानी वितरण गर्ने तयारी गरेका छौं।

चाल्नाखेलदेखि पाखाचोकसम्मको सडक अस्तव्यस्त रहेको छ, कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
चाल्नाखेलदेखि पाखाचोकसम्मको ९ किलोमिटर आधा सडक मात्रै कालोपत्रे भएको छ । आधाभन्दा धेरै सडक कच्ची छ । कच्ची सडक भएकाले बर्खायाममा सवारी आउजाउ गर्नसमेत समस्या भइरहेको छ । सडक विभागले उक्त खण्डको सडक क्रमागत योजनामा निर्माण गरिरहेको छ।

सडक निर्माण गर्दा पनि छेउछाउमा हिलाम्मे तथा खाल्डाखुल्डी पर्ने समस्या देखिएको छ । वडा कार्यालयले हिउँदमा सडकमा ग्राभेलिङ गर्दै आइरहेको छ । वडा कार्यालय मातहत करिव छ किलोमिटर सडक छ । त्योमध्ये एक किलोमिटर जति ढलान तथा कालोपत्रे भएको छ । जनताको सहयोग र साथ पाएमा आगामी चार वर्षभित्रै वडाका सम्पूर्ण भित्री सडक कालोपत्रे वा ढलान गर्ने योजना बनाएको छु।

नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ तपाईँको वडामा पर्छ । किन नियमितरूपमा सञ्चालन गर्न नसक्नुभएको ?
नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ मेरै वडामा पर्छ । तर, फर्पिङको जलविद्युत आयोजनामा प्रयोग हुने पानी ललितपुर जिल्लाका जनताले खानेपानीको रुपमा प्रयोग गर्ने भएकाले नियमितरूपमा विद्युत निकाल्न सकेका छैनौं । फर्पिङमा जलविद्युत बनाएको एक सय ७ वर्ष भइसक्यो।

ऐतिहासिक जलविद्युत भए पनि खानेपानी समस्याकै कारणले नियमितरूपमा सञ्चालन गर्न सकेका छैनौं । अहिले फर्पिङको विद्युत नियमित निकालेर सोही पानी उपयोग गर्ने गरी नयाँ सर्भे भइरहेको छ । त्यसैले अबको केही समयभित्रै फर्पिङमा नियमितरूपमा विद्युत सञ्चालनमा ल्याउनेछौं।

तपाईँको वडामा सार्वजनिक यातायातमा निकै समस्या रहेको छ नि ?
बर्खायाम सुरु हुनेबित्तिकै वडामा चल्ने सार्वजनिक बस चल्न सक्दैनन् । हिलाम्मे सडक र भीरपाखा भएकाले सवारी सञ्चालनमा समस्या आएको छ । अरु बेला पनि सार्वजनिक बस कार्यालय जाने समयमा मात्रै चल्छ । त्यसैले पर्याप्त मात्रामा सवारी नचल्दा समस्या भएको हो । वडा कार्यालयले सार्वजनिक बस सञ्चालन गर्न विभिन्न यातायात संघ÷समितिसँग पहलकदमी गरिरहेको छ । यसअघि ग्वालदह क्षेत्रमा मात्रै बस चल्थे । दुई साताअघि वडा कार्यालयको पहलमा कुष्ठरोगबाट प्रभावित बस्ने सतल क्षेत्रमा समेत ल्याउन सफल भएका छौं।

तपाईँको वडामा कुष्ठरोगी बसोबास गर्दै आएका छन् । उनीहरूको घर भूकम्पले भत्काएर समस्या भएको छ नि ?
वडाको सतल भन्ने ठाउँमा एक सय ५० भन्दा धेरै कुष्ठरोगी बसोबास गर्दै आइरहेका छन् । एक सय ५० घरमध्ये २५ जनाको घर भूकम्पले भत्किएको छ । घर भत्किँदा कुष्ठरोगीलाई बसोबासमा समस्या भइरहेको छ । यसअघि एक निजी संस्थाले बनाएको घर भत्किएसँगै उनीहरू समस्यामा परेका छन् । वडा कार्यालयले उनीहरूको घर बनाउनको लागि पहलकदमी गरिरहेको छ । दातृ निकाय खोजिरहेका छौं । अहिलेसम्म भेट्टाएका छैनौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि ५५ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमध्ये अधिकांश बजेट पूर्वाधार निर्माणमा खर्चियौं । त्यस्तै गरी महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि विशेष प्राथमिकतामा राखेर खर्च गर्याैं । चालू आर्थिक वर्षको लागि पनि ५५ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ । नगरपालिकाको आयस्रोत नै कम भएकाले वडाको बजेट न्यून भएको हो । जनप्रतिनिधि आएपछि धेरै विकास होस् भन्ने जनताको चाहना छ । तर, वडा कार्यालयसँग अत्यन्तै सीमित बजेट भएकाले जनताले अपेक्षाकृत काम गर्न सकेका छैनौं।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ ?
वडाको अधिकांश भूभाग बाग्मती नदीको किनारामा अवस्थित छ । बेलाबखत नदीमा आउने बाढीले धार परिर्वतन गरिरहने समस्या रहेको छ । नदीको धार परिवर्तनकै कारणले काठमाडौं जिल्लाको जग्गा ललितपुरमा पुग्ने गर्छ । कहिले ललितपुरको क्षेत्रको जग्गा काठमाडौंमा आउने समस्या देखिएको छ। 

करिव ५ सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा बालुवामा परिणत भएको छ, जहाँ स्थानीयले खेतीकिसानी गर्दै आइरहेका छन् । उक्त स्थानमा वडा कार्यालयले कुनै योजना अघि नसारेकाले कृषकलाई खेती गर्न दिइरहेका छौं । वडा कार्यालयले केही योजना अघि सारेमा उनीहरूलाई हटाउन सकिनेछ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
वडामा ग्वालदह रहेको छ, जुन पर्यटकीय गन्तव्य हो । किंवदन्ती अनुसार द्वापर युगमा कृष्ण र गोपीनीले ग्वालदहमा स्नान गरेका थिए । उक्त ऐतिहासिक पोखरीलाई व्यवस्थित र मर्मतसम्भार गर्न नगरपालिका र वडा कार्यालयले १० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । नेपालकै पहिलो जलविद्युत आयोजनालाई व्यवस्थित गरेर आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने लक्ष्य राखेको छु । त्यसको साथसाथै चार वर्षभित्र वडाको भित्री सडकलाई कालोपत्रे अर्थात् ढलान गर्ने योजनासाथ काम गरिरहेको छु। 
                                                           प्रस्तुति : हिमाल लम्साल  

प्रकाशित: १ भाद्र २०७५ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App