१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हुम्लामा गरिबको सूचीबाट हटाउन २ वटा निवेदन

गरिब परीचयपत्र त्याग्ने निबेदन सिमकोट गाउँपालिका अध्यक्षलाई बुझाउँदै बिजय लामा। तस्बिरः जनक/हुम्ला

हुम्ला – हुम्लामा नेपाल सरकारले गरिब घरपरिवारलार्ई लक्षित गरी वितरण गरिएको गरिब परिचय पत्र हुनेखाने वर्गले पाएका छन्।

गरिबीको रेखामुनी रहेका स्थानीय भन्दा हुनेखानेहरुले नै हुम्लामा रातो परिचय पत्र लिएको पाइएको छ। जिल्लाको सिमकोट गाउँपालिका– १ का बिजय लामा र सर्केगार्ड गाउँपालिका–५ रुद्र बहादुर शाहीले गरिबको सूचिबाट हटाउन निवेदन दिएका छन्। पत्रकार सम्मेलन गर्दै आफ्नो परीवारको नाममा आएको मध्यम गरिबी परीचय पत्र आफु भन्दा निम्न आय भएका अति गरीब ब्यक्तीले नपाएकोले त्यागेको लामाले बताए।

जिल्लामा ४ हजार,  ५ सय, ६० परिवार मध्ये हाल जिल्लाका २ जनाले गरिबको सूचिबाट हटाउन निवेदन दिएको जिल्ला समन्वय गरिब घरपरिवार पहिचान व्यवस्थापन तथा वितरण अधिकृत जीवनी शाहीले बताइन्।  हुम्ला जिल्लामा अति गरिब घरधुरी २ हजार, १ सय, ९ मध्यम गरिब घरधुरी १ हजार, ४ सय, १९ र सामान्य गरिब घरधुरी १ हजार, ३२ गरी जम्मा ४ हजार, ५ सय ६० घरधुरीलाई गरिब घरधुरी परिचयपत्र वितरण गरिएको जिल्ला समन्वय समिति अर्न्तगत गरीब घरपरीवार सहयोग समन्वय इकाई हुम्लाले जनाएको छ।

जिल्लामा भएका स्थायी कर्मचारी, ठेक्केदार व्यापरी, राजनीतिक दलका नेतासम्मले परिचयपत्र पाएका छन्। गरिबको रेखामुनि रहेका नेपाली नागरिकहरुका घरपरिवारलाई राज्यले सामाजिक संरक्षण प्रदान गर्ने लक्ष्यका साथ सुरु गरेको गरिब घरपरिवार परिचय पत्र वितरणमा गरिबभन्दा धनीको नाम परेको तथ्य फेला परेको छ। ८ हजार, ५ सय, ३५ घरघुरी रहेको हुम्लामा ३ हजार, ९ सय, ७५ जना गैर गरिबी घरपरिवार रहेको जिल्ला समन्वय समिति श्रोतले बताएको छ।

गरीब घरधुरी परिचय पत्रको लागि सरकारले २०६९ सालमा कार्यविधि तयार गरी २०७० सालमा लगत संकलन गरेको थियो। जुन लगतको आधारमा साविकका २७ वटै गाविसमा लगत संकलन गरिएको थियो। जिल्लाको जनसंख्या, भौगोलिक आधार, घरको सम्पत्ति र जातिगत गरिबीको अवस्था लगायत १८ सूचकलाई आधार मानेर लगत संकलन गरिएको थियो। लागत संकलन पश्चात अति गरीब, मध्यम र सामान्य गरी ३ समूहमा वर्गीकरण गरिएको थियो।

अतिगरीबले निःशुल्क स्वास्थ्य सुविधा सहित कर छुट, सामाजिक सुरक्षाभत्ता लगायतमा पनि प्राथमिकता पाउने भएका छन्। त्यस्तै, अन्य परिचय पत्र धारिले पनि क्रमशः सुहुलियतमा सेवासुविधा पाउने जनाइएको छ।

प्रकाशित: १ भाद्र २०७५ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App