१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बागमती नदीको कटान रोक्न अस्थायी स्पर निर्माण

रौतहट  - केहि दिन अघि रौतहटको बागमती नदीमा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान हुन थालेपछि नगरपालिकाको पहलमा तटबन्धनको काम सुरु भएको छ। नदीले जमिन कटान गर्दै वस्ती नजिक पुग्न थालेपछि जोखिम समेत बढ्दै गएको छ।

रौतहटको राजदेवी नगरपालिकाले बोरामा माटो हाल्दै अस्थायी स्पर निमार्ण गरिरहेको हो। कटान कार्य नियन्त्रण गर्न जिल्ला विपद व्यवस्थापन समितिबाट १५ हजार र राजदेवी नगरपालिकाको विपद व्यवस्थापन समितिबाट ३० हजार गरी ४५ हजार बोरामा बालुवा, माटो भरेर नाइनलको जालीमा हालेर करिब १० बटा अस्थायी स्पर निर्माण गरिरहेको राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र प्रसाद सिंहले बताए। 

बागमती नदिमा बनाइएको दुइबटा स्परको विच भागमा रहेको करिब २५ विगाहा जग्गा कटान गरी तटबन्ध नै बगाउन २० मिटर मात्रै बाँकी रहेको अवस्थामा कटान रोक्न प्रत्येक २० मिटरको दुरीमा १० वटा स्पर निर्माण भइरहेको मेयर सिंहले बताए। नदी नियन्त्रणको लागि नगरपालिकाबाट ३० लाख रुपैयाँ विनियोजन गरी विहिवार सम्म ३ वटा स्पर निर्माण भईसकेको सिंहले बताए। 

जिल्लाका कटरवन, गडहिया, बसतपुर, व्रम्हपुरी, मुडवलवा लगायतका गाउँ नजिक वागमती नदीले खेती योग्य जग्गामा लगाएको उखु, धान, बाँस, केरा लगायतका खेतीयोग्य जमिन कटान गरी तटबन्ध नजिक पुगेपछि नगरपालिकाले तत्काल तटबन्धनको कार्य सुरु गरेको हो। 

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोेविन्द प्रसाद रिजालले नदीले कटान गरिरहेको हुँदा नगरपालिकासंग समन्वय गरेर अस्थायी रुपमा स्पर बनाउने कार्य युद्धस्तरमा भईरहको बताए।

प्रकाशित: ३१ श्रावण २०७५ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App