१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भियतनामविरुद्ध जितको लक्ष्य

नेपाली टोली ।    फाइल तस्बिरः नागरिक

काठमाडौं – एसियाली खेलकुदको पुरुष फुटबलअन्तर्गत नेपालले समूह ‘डी’को दोस्रो खेलमा बिहीबार भियतनामको सामना गर्दा जितका साथ अन्तिम १६ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।

मंगलबार पहिलो खेलमा नेपाली युवा टोलीले जब्बर रक्षात्मक प्रदर्शन गर्दै जापानलाई साँघुरो जितमा रोकेको थियो । पालेम्बाङको विभावा मुक्ति रंगशालामा सम्पन्न खेलमा नेपाली यु–२३ टोली जापानसँग १–० को नतिजामा निराश भएको थियो।

मंगलबार जापानले २१ वर्षभन्दा मुनीका खेलाडीलाई मैदान उतारेको थियो ।  नेपालले भने यु–२३ टोलीमा तीन उमेर नाँघेका खेलाडी राख्न पाउने सुविधा प्रयोग गरेको थियो । राष्ट्रिय टोलीका गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा खेलेको नेपाली टोलीमा विशाल राई र रोहित चन्द सिनियर खेलाडी थिए। 

पहिलो खेलमा नेपालका खेलाडी अधिकांश समय जापानको आक्रमणलाई रोक्नमै व्यस्त हुनु परेको थियो । नेपालले गोलका लागि एक मात्र प्रयास गर्न सक्यो भने जापानले नेपाली पोष्टमा गोलका लागि १३ आक्रमण गरेको थियो।

नेपाल र भियतानम एसियाली खेलकुदमा आमने–सामने हुन लागेको यो पहिलो पटक हो । नेपालले भियतनामविरुद्धको खेलमा पनि जापानसँग खेलेकै टोलीलाई निरन्तरता दिने सम्भावना बलियो छ । नेपालले भदौमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप तथा फागुनमा काठमाडौंमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि एसियाली खेलकुदमा सहभागिता जनाएको हो।

समूहमा ३ अंक जोडेको भियतनाम शीर्ष स्थानमा छ । समान ३ अंक जोडेको जापान गोलअन्तरमा दोस्रो स्थानमा छ । अंकविहिन नेपाल र पाकिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगितामा सबै ६ समूहका शीर्ष दुई टोली सोझै नकआउट चरण पुग्छन भने तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ पुग्ने व्यवस्था छ।

मंगलबारै सम्पन्न पहिलो  खेलमा पाकिस्तनमाथि ३–० को सहज जित हात पारेको भियतनाम नेपालमाथि पनि विजयी नतिजा निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्न चाहन्छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध बेकासीको प्याट्रियट रंगशालामा खेल्नेछ भने भियतनामले जापानको समाना गर्नेछ ।

थाइल्यान्डमा १० दिनको विशेष प्रशिक्षण गरेर नेपाली टोली उतैबाट इन्डोनेसिया पुगेको थियो । इन्डोनेसिया जानुअघि नेपाली टोलीले थाइल्यान्डको ‘ए’ डिभिजन क्लब तेरो पुलिस र थाई यु–२३ टोलीसँग दुई अभ्यास खेल खेलेको थियो । नेपाल दुवै अभ्यास खेलमा पराजित भएको थियो। 

प्रकाशित: ३१ श्रावण २०७५ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App