१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पीडित किशोरीका बाबु भन्छन्, ‘न्याय पाउन कहाँ–कहाँ धाउनु पर्ने हो ?’

धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै महिला सञ्जाल । तस्बिरः रोहित/नागरिक

धरान – ‘कि आमा कि मामा’ भन्ने नेपाली उखानले मामालाई पनि आमाको जत्तिकै स्थान दिएको छ । तर, सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका–५, साउने टोलकी १७ वर्षीया एक किशोरीका लागि भने आफ्नै मामा अपराधी भएर निस्किए । छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले उनलाई बलात्कार गरे । बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको तीन महिना पुग्न लागिसक्यो तर, पीडक अझै पक्राउ परेका छैनन्।

गत वर्ष फागुन २५ गते उनीमाथि बलात्कार भएको थियो । कसैलाई भनेमा तिम्रो बुवा मारिदिन्छु भन्ने धम्की दिएका कारण पीडित किशोरीले गत जेठ अन्तिम साता मात्र घटनाबारे परिवारलाई जानकारी दिएकी थिइन् । त्यसपछि परिवारले गत असार ८ गते नै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको भए पनि अझै पीडक पक्राउ नपरेका हुन् । पीडक अहिले फरार छन् । पीडक पक्राउ नपर्दा पीडित किशोरी उनले दिएको धम्कीको त्रासले विक्षिप्त बनेकी छन् । भोइस अफ चिल्ड्रेनको पहलमा पीडित किशोरीको दुई सातादेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

‘मेरी छोरी अस्पतालमा राख्नुपरेको छ । मलाई मारिदिन्छु भनेर धम्की दिएको रहेछ, त्यसैले छोरी एकदमै डराइरहेकी छे,’ गत आइतबार इलाका प्रशासन कार्यालयका प्रमुखसँग पीडा पोख्दै पीडित किशोरीका पिताले भने, ‘उजुरी दिएको यतिका दिन भइसक्यो, पीडक अझै पक्राउ परेको छैन । न्याय पाउन कहाँ–कहाँ धाउनु पर्ने हो ?’

दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न माग गर्दै महिला सञ्जाल धरानले आइतबार धरान उपमहानगरकी कार्यवाहक प्रमुख एवं न्यायिक समितिकी संयोजक मञ्जु भण्डारी सुवेदी, इलाका प्रशासनका प्रमुख डोरेन्द्र निरौला र इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । त्यसै क्रममा पीडितका बुवाले आफ्नो गुनासो इलाका प्रशासन प्रमुख निरौला समक्ष पोखेका हुन् । प्रहरीले भने अनुसन्धान मात्र भइरहेको बताउँदै आएको छ । ‘निवेदन दिएको (असार ८ गते)दिनसम्म पीडक बस्नेत गाउँतिरै थियो । त्यतिबेला नै समातिन सक्थ्यो,’ पीडितका बुवाले भने, ‘तर प्रहरी ‘सिरियस्’ भइ दिएन।’

महिला अधिकारकर्मीहरूले पनि लामो समय बितिसक्दा पनि अनुसन्धान मात्र भइरहनुले प्रहरी प्रशासनले घटनालाई कमजोर बनाउन खोजेको आशंका गरेका छन् । ‘गम्भीर अपराधका घटनामा पीडक पक्राउ नगरी प्रहरीले अनुसन्धान मात्र भइरहेको छ भन्छ, यसले पीडित परिवारलाई थप पीडा र त्रास भइरहेको छ । अपराध गर्नेहरू कुनै पनि हालतमा उम्कनु हुन्न, चाँडो पक्राउ गरी कारबाही होस् भनेर ध्यानाकर्षण गराएका छौं,’ महिला सञ्जालकी अध्यक्ष सविता राईले भनिन्, ‘कसैको प्रभाव र दबाबले न्यायिक प्रक्रिया ढिलाइ हुनु हुँदैन ।’ भोइस् अफ चिल्ड्रेनकी मनोपरामर्शदाता प्रतिमा खतिवडाका अनुसार पीडित बालिकाको स्वास्थ्यमा सुधार आइरहे पनि मानसिक रूपमा अझै सामान्य हुन सकेकी छैनन् । ‘एउटै कुरा मनमा खेलाइरहेकी छन् । पुलिसले अझै किन नसमातेको, घर छाडेर जान पाए हुन्थ्यो भन्दै डराइरहेकी छन्,’ उनले भनिन्।

घटना यस्तो थियो
पीडित बालिका र पीडक बस्नेतको घर सय मिटरको फरकमा छ । पीडित बालिका धरानको एक कलेजमा पढ्दै थिइन् । साउनेबाट धरान बजार डेढ, दुई घण्टा हिँडेर आइपुग्नुपर्छ । त्यसैले उनी कोही नउठ्दै बिहानै साढे ४ बजे उठेर धारामा हातमुख धोएर तयार हुन्थिन् । त्यही मौकामा आफ्नै मामा बस्नेतले यौन दुव्र्यवहार गर्न थालेका थिए । यसबारे कसैलाई भने बुबालाई जंगलमा लगेर मारिदिन्छु भन्ने धम्की दिएका कारण किशोरीले दुव्र्यवहार सहँदै आइन्।

यसै क्रममा बस्नेतले गत फागुन २५ गते बिहान उनलाई बलात्कार गरेका हुन् । घटनापछि पीडित किशोरी क्याम्पस जान छाडेकी थिइन् । परीक्षा समेत दिन नगएपछि परिवारले क्याम्पस किन नगएको भन्दै केरकार गरेपछि उनले बाध्य भएर रुँदै घटना बताएकी थिइन् । बुवालाई मारेपछि विदेशमा रहेकी आमा पनि पीरले मर्छिन् भनेर पीडित किशोरीले घटना सार्वजनिक गर्न नसकेको बताएकी थिइन् । घटनापछि उनकी आमा पनि घर फर्किएकी छन्।

तीनै दिदी बहिनी पीडित
फरार पीडक बस्नेतको गाउँमा मदर इङ्लिस बोर्डिङ स्कुल छ । उनी त्यसका प्रिन्सिपल हुन् । बस्नेतले यौन दुव्र्यवहार गरेको यो नै पहिलो घटना भने होइन । दुई वर्षअघि पनि बस्नेतले पीडित परिवारकै कान्छी छोरीमाथि यौन दुव्र्यवहार गरेका थिए । जतिबेला पीडित बालिका १० वर्षकी थिइन् । परिवारले थाह पाए पनि आफ्नै मामा भएकाले घटना गुपचुप राखे । ‘आफ्नै मामा हो, एक पटकलाई छाडिदिउँ भनेर चुप लाग्यौं,’ पीडितका पिताले भने।

अहिले माइली बहिनीको न्यायका लागि दौडधूप गरिरहेकी जेठी छोरी पनि बस्नेतको स्कुलमा दुव्र्यवहारको शिकार भइन् । बस्नेतकै स्कुलमा पढाउने उनीमाथि बस्नेतका साला श्रीजन न्यौपानेले दुव्र्यवहार गरेका हुन् । उक्त घटना सार्वजनिक भएपछि न्यौपानेले स्कुलका अन्य विद्यार्थीलाई पनि दुव्र्यवहार गरेको पोल खुल्यो । अहिले बस्नेतसँगै उनका साला न्यौपाने पनि फरार छन्।

पीडकबाट मिल्न दबाब

प्रहरीमा जोहरी दिइसकेर पनि मिल्नुपर्छ, उजुरी फिर्ता गर भन्दै दबाब दिइरहेको पीडित परिवारले बताएको छ । ‘ निवेदन दिनुअघि दिनहुँ घरमा आएर मिल्नुपर्छ भन्थे, राति १२, १ बजेसम्म समूह लिएर आउँथे,’ पीडित किशोरीका बुवाले भने, ‘निवेदन लेख्दै गर्दा पनि फोन गरेर मिलौं भने । दिइसकेर पनि असाध्यै दबाब दिइरहेका छन् ।’ पीडक पक्षले ३० लाख रुपैयाँ र दुई कठ्ठा जग्गा दिने प्रलोभन देखाएको पीडित परिवारको दाबी छ । तर आफूहरू कानुनी कारबाही गराउने अडानमा रहेको पीडित परिवारले बताएको छ।

प्रादेशिक अनुसन्धान ब्युरो परिचालन

बलात्कारमा संलग्न दोषी समात्न नसकेको आरोप खेपिरहेको प्रहरीले भने घटनालाई गम्भीर रूपमा लिएर आरोपितको खोजी भइरहेको दाबी गरेको छ । फरारको खोजी गर्न प्रादेशिक अनुसन्धान ब्युरो(रिड)को टोली नै परिचालन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सिनाले बताए । उनले भने, ‘टेक्निकल सर्च अभियान चलाएका छौं । म सहितको क्षेत्रीय अनुसन्धान ब्युरोको टिमले घटना हेरिरहेको छ।’

प्रकाशित: ३० श्रावण २०७५ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App