१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेबाट गर्न लागेको भारतको राजकीय भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री दाहालले भारत भ्रमणका बारेमा हालसम्म भएका तयारीको जानकारी गराएका थिए।
उपराष्ट्रपति नन्दबहादुर पुनको समेत उपस्थितिमा प्रधानमन्त्री दाहालले हालसम्मको तयारी तथा सरकारको पछिल्लो काम कारबाहीका बारेमा समेत राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटका क्रममा राष्ट्रपति भण्डारीले उच्चस्तरीय वैदेशिक भ्रमण हुन लागेकामा खुसी व्यक्त गर्दै असंलग्न राष्ट्रको सत्रौँ शिखर सम्मेलनको पूर्ण सफलताको कामना गरे र दुवै भ्रमण फलदायी हुन सकून् भन्ने शुभेच्छासहित उपराष्ट्रपति र प्रधानमन्त्री दुवैलाई शुभयात्राको कामना गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रवराज आचार्यले जानकारी दिए।

सो अवसरमा उपराष्ट्रपति पुनले आगामी असोज १ गतेदेखि भेनेजुयलामा आयोजना गरिएको असंलग्न मुलुकको शिखर सम्मेलनमा सहभागी हुन लाग्नुभएको विषयमा समेत कुराकानी भएको थियो । उपराष्ट्रपति पुनको नेतृत्वमा एक प्रतिनिधिमण्डल उक्त सम्मेलनमा भाग दिन भेनेजुयला जाँदैछन्।

सो अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले उपराष्ट्रपति पुनलाई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन लाग्नुभएकामा बधाइ दिँदै भ्रमणको सफलताको कामना गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए।

यस्तै राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिएका थिए।
सो अवसरमा आजै स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति भण्डारीसँग आफ्नो भारत भ्रमणका क्रममा भारतीय पक्षसँग भएको छलफलका बारेमा जानकारी गराएका थिए।

सो अवसरमा परराष्ट्र मन्त्री डा महत, नेपाल सरकारका मुख्यसचिव, राष्ट्रपतिको कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिवलगायत नेपाल सरकारका उच्च अधिकारीसमेतको उपस्थिति थियो ।

प्रधानमन्त्री दाहाल यही भदौ ३० गते चारदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, केही सांसद, विभिन्न मन्त्रालयका सचिव एवम् उच्चापदस्थ अधिकारी, सञ्चारकर्मी एवम् उद्योगी एवम् व्यवसायीको सहभागिता रहनेछ ।

भदौ ३१ गते प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ भने सोही दिन भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

सोही दिन केही भारतीय मन्त्रीले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। रासस

 

प्रकाशित: २८ भाद्र २०७३ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App